जाजरकोटवासीले दशैमा पनि चामल नपाउने!

जाजरकोट । खाद्य संकट परेको जाजरकोटको बारेकोट क्षेत्रमा दशै अघि पनि चामल नपुग्ने देखिएको छ । चामल ढुवानीको प्रक्रियागत झन्झटका कारण नेपाल खाद्य संस्थानको बारेकोटको नायकवाडा स्थित घाट डिपोमा दशै अघि चामल नपुग्ने देखिएको हो ।

बारेकोट गाँउपालिका तोलखाना , धौलाकोट , रोकायगाँउ , मूल्साम , जीरी , समाकोट , गोठगाँउ लगायतका गाँउमा खाद्य संकट परेको छ । गाँउमा किनेर खाने अन्न पनि पाईदैन । गाँउमै उत्पादित अन्नले बर्ष दिनमा ६ महिना पनि खान पुग्दैन । बाँकी महिना खाद्य संस्थानकै चामलमा भर पर्नु पर्ने बाध्यता छ । यातायात असुविधा र बाटोघाटो निकै अफ्ठयारो भएकोले निजी क्षेत्रका ब्यापारीले विक्रीको लागी चामल नलिदा थप समस्या भएको हो । यतिवेला चामलको माग अत्याधिक छ तर डिपो रित्तै छ ।
खाद्य संस्थानले चालु आर्थिक बर्षको चामल ढुवानीको लागी बोलपत्र आब्हान गरि सपना एण्ड सरोज कन्ट्रक्सन सेवा खलंगा २ का नाममा ठेक्का स्वीकृत गरिसकेको जनाएको छ । तर १५ दिने सुचना जारी गरेर सल्लायर्सलाई ठेक्का सम्झौताको लागी संस्थानले बोलाएको छ । सप्लायर्सलाई १५ दिन भित्र ठेक्का सम्झौता गर्ने म्याद दिईएको छ । यो म्यादको अन्तिम मिति असोज ७ मा पुग्छ । जबकी असोज ५ गते देखी दशै शुरु भैहाल्छ । ठेक्का सम्झौता गर्ने वित्तिकै ठेकेदार कम्पनीले ढुवानी गर्नेमा आशंका छ । हामीले दशै अघि बारेकोटमा चामल पुरयाउने अधिकतम कोशिस गरिरहेका छौ खाद्य संस्थानको वितरण महाशाखाका विभागिय प्रमुख सुरेन्द्रराज विष्टले भन्नुभयो हामीले प्रक्रिया पुरयाईदिने हो । बाँकी ठेकेदारलाई ताकेता गर्ने जिम्मा जिल्लाको हो ।

जिल्ला सदरमुकाम खलंगामा गत बर्षको मौज्दात पाँच सय क्वीन्टल चामल डिपोमा पठाउन जिल्लालाई निर्देशन दिएको विष्टले बताए । तर अहिले सम्म ढुवानीको कुनै प्रक्रिया थालनी भएको छैन । खाद्य संस्थान जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेत जिल्ला बाहिर छन् । निमित्त रहेका रामप्रसाद पौडेलले आफुलाई यस सम्बन्धमा कुनै जानकारी नभएको बताउनुभयो । बाटो घाटो विग्रिएकोले ठेकेदारले दशै अघि चामल ढुवानी गर्ने संभावना देखिएको छैन ।
सप्लायर्सले चालु आर्थिक बर्ष अर्थात आगामी असार भित्र एक हजार क्वीन्टल चामल सदरमुकामबाट डिपो सम्म ढुवानी गर्ने जिम्मा लिएका छन् । प्रति क्वीन्टल एक हजार चार सय ७५ रुपैयामा ढुवानी गर्ने गरी विहिवार ठेक्का स्वीकृत भएको छ । बाटो विग्रेकोले यतिवेला सदरमुकाम बाटै घोडा खच्चडमा ढुवानी गर्नु पर्ने बाध्यता छ । तिहार पछि बाटो मर्मत भई आधा बाटो सम्म ट्याक्टर चल्ने भएकोले त्यतिखेर ठेकदारलाई ढवानीमा सस्तो पर्ने गरेको छ । त्यही भएर पनि ठेकदारले तत्काल चामल ढुवानी गर्नेमा स्थानियले आशंका गरेका छन् । सदरमुकामबाट बारेकोट सम्म खच्चडले प्रतिक्वीन्टल दुई हजार रुपैया लिने गरेका छन् ।

बारेकोट गाँउपालिका ४ वडा अध्यक्ष का सिर्जना वस्नेत ले दशै अघि चामलको ब्यवस्था गर्न सरकार सँग माग गनुभयो । ‘दशैमा मिठो मसिनो खाने त सपना भैसक्यो दुई छाक भात खान पाए हाम्रो लागी त्यही ठुलो दशै हुने थियो’,उहाँले भन्नुभयो‘ डिपोमा चामल आएन भने दशैमा अक्षता गर्ने चामल समेत पाउन मुस्किल पर्छ । कसरी दशै टार्ने हो ? ।’

बारेकोट गाँउपालिकाको वीरेन्द्र एश्वर्य उच्च मावि लिम्साका प्रचार्य गोरखवहादुर सिंहले यस क्षेत्रको खाद्य संकटलाई मध्य नजर गरी तत्काल खाद्यन्न पठाउन सरकार सँग माग गरेका छन् । उहाँले दशै अघि नै खाद्य डिपोमा चामल ढुवानीको ब्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

 





error: Content is protected !!