अंग्रेजी सिकाउँदै बेलायती स्वयंसेवी

जाजरकोट । स्कटल्यान्डका १७ वर्षीय लुइस फोरसाइफ र वेल्सका १९ वर्षीय ग्रेफ मार्टिन खलंगास्थित त्रिभुवन माविका विद्यार्थीलाई अंग्रेजी सिकाउन लागिपरेका छन् । यी दुई स्वयंसेवकलाई सोमबार प्रधानाध्यापक हेरम्बबहादुर शाहले स्वागत गरे । ‘प्रोजेक्ट ट्र्रस्ट युके’ बाट स्वयंसेविकाका रूपमा उनीहरू एक वर्षका लागि आएका हुन् ।

उक्त संस्थाले ए लेभल उत्तीर्ण विद्यार्थीबाट आवेदन लिएर नेपाल, भारत, म्यानमार, दक्षिण अमेरिका, अफ्रिका, मलेसियालगायत ३६ देशमा ३ सय स्वयंसेवक खटाउने गरेको छ । ट्र्रस्ट युकेले बेलायत र फ्रान्सका स्वयंसेवकलाई शिक्षण, खेलकुद र समाज सेवामा खटाउने गरेको हो ।
ट्र्रस्टले नेपालमा अंग्रेजीमा कमजोर भएका दुर्गमका विद्यालयमा यस्ता स्वयंसेवीलाई खटाएको छ । चार वर्षदेखि बागलुङ, रुकुम, म्याग्दी, प्यूठान र मुस्ताङका विद्यायलमा स्वयंसेवी शिक्षक पठाउँदै आएको उक्त संस्थाले यस वर्षदेखि जाजरकोटमा पनि सेवा सुरु गरेको हो । संस्थाको सहयोगमा नेपालका ६ जिल्लाका १२ विद्यालयमा २४ स्वयंसेवी शिक्षक पुगेका छन् । स्वयंसेवकले विद्यार्थीलाई अंग्रेजी विषयको गुणस्तर वृद्धिमा विशेष जोड दिने प्रोजेक्ट ट्र्र्रस्ट यूकेका नेपाल प्रतिनिधि डा। शान्तराज शर्मा न्यौपानेले बताए । स्वयंसेवी शिक्षकका रूपमा गएका अन्य जिल्लाका विद्यालयको शैक्षिक गुणस्तरमा निकै सुधार भएकाले अभियान प्रभावकारी भएको डा। न्यौपानेको ठम्याइ छ । ‘संस्थाको लक्ष्य नै शैक्षिक गुणस्तर वृद्धि गर्ने हो,’ उनले भने ।

शिक्षा मन्त्रालयको सहकार्यमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । स्वयंसेवकले त्रिभुवन माविमा ६ देखि ८ कक्षासम्म अंग्रेजीका साथै गणित, विज्ञान र कम्प्युटर विषय अध्यापनमा सहयोग पुर्‍याउने प्रअ शाहले बताए । उनीहरूले दैनिक ५ पिरिएड पढाउँछन् । ट्र्रस्ट यूकेले ५ वर्षका लागि स्वयंसेवक उपलब्ध गराउने सहमति गरेको छ । बेलायती स्वयंसेवकबाट विद्यार्थीमा अंग्रेजी भाषाको शुद्धीकरण हुनुका साथै विज्ञान तथा गणितजस्ता कठिन विषयमा गुणस्तर वृद्धि हुने अपेक्षा गरिएको शाहले बताए ।

स्वयंसेवी शिक्षक लुइसले भूगोलमा पीएचडी गरेर वातावरण संरक्षणको अभियानमा लाग्ने लक्ष्य लिएको बताए । अर्का ग्रेफले भने स्नातकमा जीव विज्ञानको अध्ययन गरेर डाक्टर बन्ने लक्ष्य सुनाए । शिक्षण सिकाइका क्रममा प्रोजेक्ट कामका लागि ट्र्रस्ट यूकेमा ८ लाख आवेदन खर्च व्यहोरेर स्वयंसेवकका रूपमा जाजरकोट आइपुगेको ग्रेफको भनाइ छ ।

 





error: Content is protected !!