कांग्रेस–माओवादी केही तहमा तालमेल गर्दै, एमाले एक्लै भिड्दै

योगेश ढकाल, काठमाडौं , प्रदेश नम्बर २ का आठ जिल्लामा बुधबार उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले उम्मेदवारी दर्तामा उत्साहपूर्वक सहभागी हुन दल, मतदाता र उम्मेदवारलाई आग्रह गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गरेर बुधबारको मनोनयन कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको हो । तेस्रो चरणको निर्वाचनमार्फत १३६ स्थानीय तहका विभिन्न पदमा ६ हजार ६२७ प्रतिनिधि निर्वाचित हुनेछन् । आठ जिल्लामा हुन लागेको निर्वाचनको उम्मेदवारी दर्ता बिहान १० देखि अपराह्न ५ बजेसम्म तोकिएको छ ।
आयोगका प्रमुख आयुक्त डा।अयोधीप्रसाद यादवले उम्मेदवारी दर्ता गराउन अवरोध सिर्जना गर्ने, भड्काउने, बाधा–व्यवधान खडा गर्ने क्रियाकलाप नगर्न आग्रह गरेका छन् । आयोगले मधेसमा हालैको बाढी र डुबानका कारण सडक, कल्भर्ट र पुलमा भएको क्षतिले असर पारेको आवागमन तत्काल व्यवस्थित गर्न सरकारलाई आग्रह पनि गरेको छ । निर्वाचन आयोगका अनुसार तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ का प्रत्येक मतदान केन्द्रमा कम्तीमा एकजना मतदाता शिक्षा कार्यकर्ताको दरले तीन हजार पाँच सय कर्मचारी मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरिएको छ ।
महिला, दलित, अल्पसंख्यकलाई उम्मेदवार मनोनयन दर्तामा ५० प्रतिशत छुट
स्थानीय तहका निर्वाचनमा वडा तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको छ । र, महिला, दलित, अल्पसंख्यकलगायतलाई उम्मेदवारी मनोनयन गर्न आवश्यक शुल्कमा ५० प्रतिशत छुट दिइएको छ । दलका तर्फबाट उम्मेदवार हुँदा नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार अनिवार्य हुनुपर्ने व्यवस्था छ ।
निर्वाचन आचारसंहिता कार्यान्वयनमा सबै पक्षबाट सहयोग हुन अपेक्षा राख्दै आयोगले आयुक्तको नेतृत्वमा उच्चस्तरीय टोली र सचिवको नेतृत्वमा अनुगमन टोली खटिएको जनाएकोे छ । निर्वाचनसम्बन्धी विवाद निरूपण गर्नुका साथै प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयले पनि आचारसंहिता पालनाको अनुगमन गर्ने व्यवस्था मिलाएको छ ।
यस्तो छ कार्यतालिका
२१ भदौ : उम्मेदवारको मनोनयनपत्र दर्ता
२१ भदौ : उम्मेदवारको सूची प्रकाशन
२२ भदौ : उम्मेदवारको विरोधमा उजुरी दिने
२२ भदौ : मनोनयनपत्र जाँच गर्ने
२३ भदौ : मनोनयन भएकाको नामावली प्रकाशन
२३ भदौ : उम्मेदवारले नाम फिर्ता लिने
२४ भदौ : अन्तिम नामावली प्रकाशन
२४ भदौ : उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
२ असोज : मतदान
निर्वाचन हुने स्थान
-जम्मा स्थानीय तह : १३६
-महानगर : १
-उपमहानगर : ३
-नगरपालिका : ७३
-गाउँपालिकाः ५९
-जम्मा निर्वाचित हुने जनप्रतिनिधि : ६६२७
-मतदानस्थल : २१६६
-मतदान केन्द्र : ३५७८
-कर्मचारी : ३१५००
-जम्मा जनसंख्या : २६ लाख ६४ हजार
खर्च : १ अर्ब ८५ करोड
कस्तो छ दलहरूको निर्वाचन तयारी ?
कांग्रेसले अधिकांश तहमा उम्मेदवार टुंग्यायो
उम्मेदवारी दर्ताको एक दिनअघि मात्र कांग्रेसले अधिकांश तहमा उम्मेदवारी टुंग्याएको छ । अन्य दलहरूसँग तालमेल गर्ने र पार्टीभित्रको आन्तरिक समीकरण मिलाउन भन्दै कांग्रेसले यसअघि १०५ तहको मात्र उम्मेदवारको टुंगो लगाएको थियो । पूर्व–पश्चिम राजमार्गले छोएका केही तहमा एमालेको पकड भएकाले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने कांग्रेसको तयारी छ । वीरगन्ज महानगरमा भने एक्लै प्रतिस्पर्धा गर्नेछ ।
गठबन्धनविरुद्ध एक्लै भिड्दै एमाले
एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र राजपाले कतिपय तहमा द्विपक्षीय र त्रिपक्षीय तालमेलको अन्तिम कसरत गरिरहेका वेला एमालेले सबै तहमा एक्लै प्रतिस्पर्धा गर्ने गरी मंगलबार उम्मेदवारको सूची सार्वजनिक गरेको छ । निर्वाचनमा एमालेलाई हराउन कांग्रेस र माओवादी केन्द्रको महागठबन्धनमा देशबाहिरको शक्ति पनि सामेल भएको एमालेको आरोप छ ।
माओवादीले १२१ तहमा उम्मेदवार टुंगो लगायो
माओवादी केन्द्रले १२१ तहमा उम्मेदवारको टुंगो लगाएको छ । तर, ३० तहका उम्मेदवारको नाम मात्र उसले सार्वजनिक गरेको छ । तालमेलको टुंगो नलाग्दा मंगलबार सबै उम्मेदवारको घोषणा गर्न नसकेको माओवादीले जनाएको छ । बुधबार कांग्रेस, राजपा र संघीय समाजवादी फोरमसँग छलफल गरेर टुंगो लगाउने प्रदेश २ का इन्चार्ज विश्वनाथ साहले बताए ।
राजपाले ११४ तहमा उम्मेदवार टुंगो लगायो
राजपाले १३६ मध्ये ११४ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । बुधबार बाँकी तहका उम्मेदवारको टुंगो लगाउने उसले जनाएको छ । राजपा महामन्त्री मनीष सुमनका अनुसार केही तहमा अन्य दलहरूसँग तालमेलको छलफल भइरहेको छ । उनका अनुसार महोत्तरीको बर्दिबासमा कांग्रेस र सप्तरीको रुपनी नगरपालिकामा संघीय समाजवादी फोरमसँग तालमेल हुँदै छ । राजपाले वीरगन्ज महानगरपालिकामा राजेशमान सिंहलाई प्रमुखको उम्मेदवार बनाएको छ । वीरगन्जमा राजपाबाट विमल श्रीवास्तवको पनि दाबी थियो, तर टिकट नपाएपछि उनले पार्टी छाडेका छन् ।



