सातादेखि मोबाइल अवरुद्ध

डोल्पा । मुडेचुला ३ अदलेखस्थित नमस्ते मोबाइलको टावरमा खराबी आएपछि सातादेखि गाउँपालिकाका सबै वडा सम्पर्क बिच्छेद छन् । सञ्चारको एकमात्र सुविधा नमस्ते मोबाइल भए पनि टावर बिग्रिएपछि स्थानीयलाई सास्ती भएको हो ।

सर्मी, होर्त, ओक्ट, नर्कु, सुर, रिडिङ र कालिकालगायत गाउँ सम्पर्कविहीन बनेपछि स्थानीयको दैनिकीसमेत प्रभावित भएको छ । टावर बिग्रिँदा तत्काल प्राविधिक पठाएर मर्मत गर्न टेलिकमलगायत निकायमा आग्रह गरिएको मुडेचुला ४ का वडा अध्यक्ष जगबहादुर बुढाले बताए । मोबाइल नेटवर्क नभएपछि वैदेशिक रोजगारीमा रहेका र काम विशेषले बाहिर गएका आफन्तसँग कुराकानी गर्न समस्या भएको उनको भनाइ छ ।
यो क्षेत्रका अधिकांश युवा वैदेशिक रोजगारीमा छन् । टेलिफोन नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कामकाजसमेत प्रभावित भएको मुडेचुला गाउंँपालिकाका कार्यकारी अधिकृत मोहन निरौलाले बताए । त्यस्तै माथिल्लो डोल्पाका शेफोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका अधिकांश स्थानमा मोबाइल सेवा अझै नपुग्दा स्थानीयलाई सास्ती छ ।





error: Content is protected !!