भारतबाट नेपाल कल गर्दा लाग्ने शुल्क घट्ने

नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू भने अनिच्छुक –
लामो समयको प्रयासपछि भारतबाट नेपाल कल गर्दा लाग्ने शुल्क घट्ने भएको छ । भारतबाट नेपालमा टेलिफोन गर्दा शुल्क अत्यधिक महँगो रहेको भन्दै घटाउन लागिएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दीपेश आचार्यले बताए । भारतीय पक्षबाट नै शुल्क घटाउन अग्रसरता लिइएको भन्दै उनले सो विषयमा नेपाली दूरसञ्चार सेवा प्रदायकलाई पनि सहमतिमा ल्याउने बताए । ‘भारतबाट नेपाल कल सस्तो हुँदा अन्य देशबाट कल ‘डाइभर्ट’ भएर आउने कल यहाँका दूरसञ्चार कम्पनीको मुख्य चिन्ताको विषय हो,’ उनले भने, ‘तत्काल शुल्क घटाउने र कल ‘डाइभर्ट’ हुने अवस्था आए, त्यसैअनुसार अन्य विकल्पमा जाने गरी उनीहरूलाई सहमतिमा लिने प्रयास भइरहेको छ।’
प्राधिकरणले दुई देशबीचको कल शुल्क घटाउने प्रयासस्वरूप भारतीय नियामक र दूरसञ्चार सेवा प्रदायकसहितको टोलीलाई आमन्त्रण गरेको छ । आइतबार भारतीय दूरसञ्चार नियामक प्राधिकरणलाई छलफलका लागि पत्र पठाइएको निर्देशक आचार्यले जानकारी दिए । ‘यसै सेप्टेम्बर दोस्रो साता काठमाडौंमा बैठक बस्ने गरी पत्राचार भइसकेको छ,’ उनले भने ।
नेपालबाट सस्तो भारतबाट महँगो
हाल नेपालबाट भारत कल गर्दा नेपाल टेलिकमबाट २ रुपैयाँ ९० पैसा र एनसेलबाट ३ रुपैयाँ ७५ पैसा शुल्क लाग्छ । तर, भारतबाट नेपाल कल गर्न भने १२ रुपैयाँ भारुसम्म पर्ने गरेको छ । सार्क राष्ट्रबीच कल ट्यारिफ तथा रोमिङ शुल्क घटाउने प्रयास असफल भएपछि भारत र नेपालबीचको टेलिफोन शुल्क घटाउने प्रयास सुरु भएको हो ।
यस्तो छ, भारतीय पक्षको अग्रसरता
भारतीय दूरसञ्चार नियामक प्राधिकरण ९टिआरएआई० ले १५ मे २०१७ मा नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै दुई मुलुकबीच कल शुल्क घटाउन प्रस्ताव पठाएको थियो । सोही आधारमा प्राधिकरणले गत २६ जेठमा दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेललाई प्रतिनिधि तोकेर पठाउन पत्राचार गरेको थियो । एनसेलले त्यसको १० दिनमा नै आफ्नो तर्फबाट कक् लियोङ यपलाई प्रतिनिधि तोकेर पठाए पनि टेलिकमले भने हालसम्म पनि प्रतिनिधि नतोकेको प्राधिकरणका निर्देशक आचार्यले जानकारी दिए । यस विषयमा बुझ्न खोज्दा टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले आफूलाई जानकारी नभएको बताइन् ।
भारतीय सेवा प्रदायकबाट पनि बेवास्ता
भारतीय दूरसञ्चार कम्पनीका लागि नेपाली बजार त्यति महत्वको क्षेत्र होइन । नेपाल कल गर्दाको शुल्क घटाउँदा कलको संख्या नबढ्ने उनीहरूको बुझाइ छ । केही समयअघि भारतका दूरसञ्चार सेवा प्रदायक कम्पनी एयरटेलले प्रमोसनल स्किमस्वरूप नेपाल कल गर्दा लाग्ने शुल्क घटाएर ४ रुपैयाँ भारुमा झारेको थियो । त्यस्तै भारत सरकारको स्वामित्व रहेको भारत सञ्चार निगम लिमिटेड ९बिएसएनएल०ले पनि नेपालतर्फ हुने टेलिफोनको महसुुल दर ३५ प्रतिशतले घटाएको थियो । नेपाल कल गर्दाको शुल्क घटाउँदाभन्दा नघटाउँदा व्यावसायिक मुुनाफा हुने भएपछि उनीहरू घटाउनेतर्फ अनिच्छुक देखिने गरेका छन् । तर, भारत सरकारले नै त्यसको अग्रसरता लिएपछि भने उनीहरू त्यसमा छलफल गर्न तयार भएका हुन् ।
मोदीको घोषणा ३ वर्षमा पनि पूरा भएन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा ‘नेपाल–भारतबीच हुने टलिफोन महसुल घटाउने’ घोषणा गरेको दुई वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । साउन ०७३ मा नेपाल आएका मोदीले नेपाल–भारतबीचको टेलिफोन शुल्क अत्यन्तै महँगो भएको भन्दै भारतबाट नेपालमा फोन गर्दा लाग्ने महसुल ३५ प्रतिशतले घटाउने घोषणा गरेका थिए । तर, घोषणाको तीन वर्ष बितिसक्दासमेत उपभोक्ताहरू भारतबाट नेपाल कल गर्दा महँगो शुल्क तिर्न बाध्य छन् ।
असफल भएको थियो सार्कस्तरीय प्रयास
दक्षीण एसियाली सहयोग संगठन ९सार्क० मातहत दूरसञ्चार तथा सूचाना तथा सञ्चार प्रविधिसम्बन्धी कार्यदलको चौथो बैठक २७ मार्च २०१५ मा भारतको नयाँदिल्लीमा बसेको थियो । सो बैठकले सार्क राष्ट्रबीच कल ट्यारिफ र रोमिङ शुल्क एकदमै महँगो भएको भन्दै घटाउन सम्मिलित राष्ट्रका प्रतिनिधिसहितको संयुक्त समिति गठन गर्ने भनेको थियो । त्यसबाट प्राप्त प्रतिवेदनका आधारमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानबीच हुने कलको दर घटाउने निर्णय गरेको थियो । त्यसअनुसार नेपाल र भारतले आफ्ना नियामक र सेवाप्रदायकका प्रतिनिधिसहितको कार्यदल गठन गरे पनि अन्य मुलुकको तर्फबाट खासै चाँसो नदेखिँदा सो प्रयास असफल भएको प्राधिकरणका निर्देशक दीपेश आचार्य बताउँछन् ।
नेपाली कम्पनी किन अनिच्छुक रु
अन्तर्राष्ट्रिय कलबापतको आम्दानी नेपाली दूरसञ्चार कम्पनीहरूका लागि महत्वपूर्ण आयस्रोत हो । नेपालका ठूला दूरसञ्चार कम्पनीको कुल आम्दानीमा करिब ३३ प्रतिशत अन्तर्राष्ट्रिय कलबाट आउँछ । भारतबाट नेपाल कल सस्तो गर्नेबित्तिकै अन्य मुलुकबाट आउने कल भारतको बाटो भएर ‘डाइभर्ट’ हुने र त्यसबाट नेपालको आम्दानी गुम्ने तर्क उनीहरूको छ । त्यसैले पनि नेपाल टेलिकम र एनसेल भारतबाट नेपाल कल गर्दा लाग्ने शुल्क घटाउन नहुनेतर्फ जोड गर्दै आएका छन् ।



