हचुवाका भरमा प्रदेशमा एआईजी पठाएको भन्दै गृहमन्त्रीको आलोचना

काठमाडौं –गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० लाई प्रदेश प्रहरी प्रमुख बनाएर पठाउने तयारी गरेको छ । प्रहरीको संघीय र प्रादेशिक ऐन–कानुन नआउंदै गृहमन्त्री जनार्दन शर्माले एआईजीलाई प्रदेश पठाउन छलफल अगाडि बढाएका हुन् ।
एआईजी दरबन्दी तीनबाट बढाउंदै ११ पुरयाइएपछि आलोचना खेपिरहेका शर्माले एकलौटी ढंगले प्रदेशमा एआईजी पठाउन लागेको भन्दै प्रहरीमा असन्तुष्टि देखिएको छ । बिनातयारी प्रदेशमा एआईजी पठाइए ’चेन अफ कमान्ड’मा असर पर्ने एक प्रहरी अधिकृतले बताए । ’नियम–कानुन नबन्दै हतार गर्नु उचित छैन’, उनले भने ।
गृहले तयार पारेको विधेयकमा केन्द्रमा महानिरीक्षक र प्रदेशमा एआईजी पठाउने उल्लेख छ । केन्द्रीय प्रहरीलाई गृहकै मातहत राख्ने गरी तयार पारिएको विधेयकप्रति प्रहरी नेतृत्व सन्तुष्ट देखिएको छैन । प्रहरी प्रमुखदेखि अन्य उच्च अधिकृतले केन्द्रमा महानिर्देशक र प्रदेशमा महानिरीक्षक ९आईजीपी० राख्न गृहमन्त्री शर्मालाई सुझाएका छन् ।
’प्रादेशिक प्रहरीको प्रशासनिक ऐन र निजामती ऐन–नियम नआउंदै मन्त्रीले हतारमा प्रदेशमा एआईजी खटाउन रुचि राख्नुहुँदैन, भोलि क्षेत्राधिकार र कुन नियम–कानुनले चल्ने भन्नेमा गम्भीर प्रश्न उठ्छ’, एक एआईजीले भने, ’राजनीतिक स्वार्थपूर्तिका लागि एआईजी संख्या बढाएर मन्त्रीज्यूले प्रदेशमा एआईजी पठाउन खोज्नुभएको हो, त्यो हतारको निर्णय हुन्छ ।’
अधिकारविनै एआईजीलाई प्रदेशमा खटाउनु उचित नहुने प्रहरी अधिकृतहरूको सुझाव छ । केन्द्रमा गृहसचिवलाई विशिष्ट श्रेणीमा राखेपछि मर्यादा क्रममा प्रहरी महानिरीक्षकभन्दा माथि रहने भए पनि प्रदेशमा कुन पदको निजामती कर्मचारी खटाउने भन्ने तय भइनसक्दा अप्ठ्यारो पर्ने उनीहरू बताउँछन् ।
संविधानविद् डा। भीमार्जुन आचार्य पनि प्रदेशसभा गठन नभई एआईजी पठाउनु संविधानको भावनाविपरीत हुने बताउंछन् । ’संवैधानिक व्यवस्थामा प्रदेश प्रहरीलाई सामान्य रूपमा व्याख्या गरिएको छ, यो झन् जटिल विषय हो । एउटै आईजीपीले कमान्ड गर्ने र एकीकृत प्रकृतिको व्यवस्था भएकाले कानुन नै नबनी प्रदेशमा एआईजी पठाउनु विवादास्पद हुन्छ’, उनी भन्छन् ।
प्रदेश प्रहरी प्रमुख बनाएपछि अञ्चल र क्षेत्रीय प्रहरीको अवस्था के हुने, प्रदेश प्रहरी प्रमुखलाई कुन अधिकार दिने, दरबन्दी कति रहनेजस्ता समस्या तत्काल देखिने प्रहरी अधिकृत बताउंछन् ।
मन्त्री शर्माले पूर्वाधार कसरी तयार गर्ने भन्नेबारे जिम्मेवारी प्रहरी मुख्यालयलाई नै दिएका छन् । ’प्रदेशसभा निर्वाचनअघि नै प्रदेश प्रहरी खटाइसक्नुपर्छ, अब अञ्चल–अञ्चलका रूपमा रहँदैन । डीआईजी र एसएसपीको पनि व्यवस्थापन हुन्छ’, मन्त्री शर्माले भने, ’प्रदेश प्रहरी प्रमुखलाई कुन अधिकार दिने भन्ने कानुनी आधार छिट्टै तय हुन्छ, प्रहरी नियमावली संशोधन गरेर अगाडि बढिन्छ ।’
प्रहरी संगठनले आफनो संरचना बनाउन आवश्यकताअनुसार पाउने व्यवस्था नियमावलीमै उल्लेख भएका कारण त्यसमा टेकेर संघीय प्रहरी ऐन बनाउन लागिएको उनको भनाइ छ । प्रदेशसभा निर्वाचनपछि आउने प्रतिनिधिलाई स्वागतका लागि प्रदेश प्रहरीलाई पठाउन आवश्यक भएकाले पनि एआईजी खटाउन लागिएको उनले सुनाए ।
संविधानले संघमा नेपाल प्रहरी र प्रदेशमा छुट्टै प्रदेश प्रहरी संगठन रहने उल्लेख गरेको छ । गृहले तयार पारेको विधेयकमा केन्द्रमा निर्देशक ९महानिरीक्षकसरह० र प्रदेशमा एआईजी प्रमुख रहने व्यवस्था गरिएको छ । काम, कर्तव्य र अधिकार छुट्ट्याइए पनि विधेयक पारित नभई मन्त्रीको हतारले कानुनी अड्चन आउने देखिन्छ ।
गृहका प्रवक्ता दीपक काफलेले प्रदेश प्रहरी प्रमुखमा एआईजी पठाउने विषयमा छलफल चलिरहेको बताए । अहिल्यै कसरी र कुन कानुनी अधिकारको वैधता दिएर पठाउने भन्ने विषयमा मन्त्रालय टुंगोमा पुगिनसकेको प्रवक्ता काफ्ले सुनाए । ’मन्त्रीज्यूले यो विषयमा प्रहरी अधिकृतसंग पनि छलफल गरिसक्नुभयो, गृहका अधिकारीसंग पनि छलफल भइरहेको छ’, उनले भने । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।










