पुल बन्यो, गाडी चलेन

हुम्ला । कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट खण्डमा पर्ने नाम्खा गाउँपालिकको तुम्कोटस्थित कर्णाली नदीमा ४ वर्ष पहिले निर्माण थालिएको बेलिब्रिज सम्पन्न भए पनि यातायातका साधन सञ्चालनमा आएनन् ।

पुल बने पनि पुलसँग सडक जोड्न बाँकी रहेकाले यातायातका साधन सञ्चालनमा नआएका हुन् । स्थानीय विकास मन्त्रालयअन्तर्गत स्विस सरकारको परियोजना एलआरबीटी ले आव ०७०, ७१ मा निर्माण सुरु गरेको थियो । आव ०७१,७२ मा सम्पन्न हुनुपर्ने पुल ४ वर्षपछि गत आवमा सम्पन्न भएको थियो । हिल्सा–सिमकोट सडक आयोजना प्रमुख विजयकुमार थापाका अनुसार यहाँको ९५ मध्ये ८८ किलोमिटरमा ट्रयाक खुलिसकेको छ । हिल्सादेखि ३८ किलोमिटर दक्षिण नाम्खा गाउँपालिकाको तुम्कोटसम्म विगत ३ वर्ष पहिलेदेखि नै यातायातका साधन सञ्चालनमा आएका छन् ।
आयोजनाले ट्रयाक खोलेको भने पनि पुलसँग सडक नजोडिएको र ट्रयाक खुलेका भनिएको सडकका केही स्थानमा गाडी गुडाउन नमिल्ने अवस्था रहेकाले यातायातका साधन नचलेको स्थानीय बताउँछन् । ‘पुलको भाग माथि भएको र सडक तल भएकाले अलिकति माटो फिलिङ गर्न बाँकी छ,’ आयोजनाका सब–इन्जिनियर वीरेन्द्र शाहीले भने, ‘दुई घण्टाको काम हो । अब चाँडै फिलिङ गरेर गाडी सञ्चालनमा ल्याउने तयारीमा छौं ।’
पुल बनेपछि यातायातका साधन सञ्चालन भएर सिमकोट–हिल्साको बाटो छोटिने स्थानीयले आशा गरेका थिए । पुल निर्माणपछि हिल्सादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मीसम्म गाडी सञ्चालन हुने आयोजनाको दाबी छ । ढाडकेर्मीबाट सिमकोट पुग्न एक दिन पैदल यात्रा गर्नुपर्छ ।
सडक नपुगे पनि यतिबेला सिमकोट बजारमा हेलिकप्टरबाट ढुवानी गरेका आधा दर्जन चारपांग्रे सवारीसाधन गुडिरहेका छन् । सदरमुकामदेखि ८ किलोमिटर दक्षिण स्याम्नेसम्म दुईवटा बलेरो जिप सञ्चालनमा छन् । गाडी गुडेपछि स्याम्नेदेखि सिमकोटसम्मको ठाडो उकालोमा पैदल यात्रा गर्नु नपर्ने भएको छ । ठाडो उकालो हिँड्नु नपर्ने भएपछि गाडी चढनेको होडबाजी भएको गाडी सञ्चालकले बताउँछन् । ८ किलोमिटरको भाडादर भने दुई सयदेखि २ सय ५० सम्म रहेको स्थानीयले बताए । यो सडक साबिक जिविसअन्तर्गत विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन कार्यक्रमले निर्माण गरेको हो । खार्पुनाथसम्म ट्रयाक खोल्ने लक्ष्य लिएको कार्यक्रम असारदेखि फेज आउट भइसकेको छ । कार्यक्रम फेज आउट भएपछि खार्पुनाथसम्म सडक खुल्न सकेको छैन ।

 

 





error: Content is protected !!