बाँकेका बाढीग्रस्त क्षेत्र दुर्गन्धित महामारी फैलिन सक्ने खतरा

विश्वराज पछल्डङ्ग्या
बाँके गत साउन २८ गते अविरल वर्षासँगै आएको भीषण बाढीका कारण सवैभन्दा क्षति पु¥याएको राप्ती–सोनारी गाउँपालिका–४, लालपुरमा पुग्नासाथ नाक थुन्नुपर्ने अवस्था रहेको छ । बाढीले भत्केका घरमा पुरिएका पशुपंक्षि र अन्नपात कुहिएपछि उक्त गाउँमा दुर्गन्ध फैलिएको हो । दुर्गन्धका कारण मानिसहरुलाई बस्नका लागि निकै असहज भएको छ । ‘दुर्गन्धले वान्ता होला जस्तो हुन्छ,’ अनुगमनका क्रममा लालपुर पुगेका राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका निर्देशक मुरारीप्रसाद खरेलले भने ।
उनले दुर्गन्धका कारण महामारी फैलिन सक्ने खतरा औँल्याए । दुषित पानी र खानाका कारण स्वास्थ्यमा समस्या देखा परेको बताउँदै उनले बाढी पीडितले पानी सुद्धिकरणका लागि पियूससमेत नपाएको ठहर गरे । ‘पानी उमालेर खान सक्ने अवस्था छैन, एकातिर वातावरण दुषित भएको छ भने अर्कोतर्फ बाढीले हातेपम्प डुवेकोले दुषित भएका छन्,’ उनले भने ।
बाढीले बगाएर ल्याएका पशुपंक्षी यत्रतत्र छरिएर रहेको आरआरएनका प्रशासकिय अधिकृत सुरेन्द्रदीप कार्कीले बताए । उनले वातावरण स्वच्छ बनाउन समयमा ध्यान दिन सरोकारवाला निकायलाई सचेत गराए । उनले भने, ‘वातावरण दुर्गन्धित र दुषित पिउने पानीका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ,’ कार्कीले भने ।
प्रायजसो घर र गोठ भएका जनताको बाढीका कारण पशुपंक्षी बग्नुका साथै धेरै पुरिएका छन् । घर बाहिर रहेका पशुपंक्षि राप्ती नदीमा आएको बाढीले बगाएको छ । ति पशुपंक्षी पनि गाउँ नजिकैका बारी र खेतमै रहेका छन् । सिविन नेपाल नेपालगन्जका प्रमुख शिद्धराज पनेरुले बाढी प्रभावित क्षेत्र मध्ये सवैभन्दा बढि लालपुरमा सजगता अपनाउनु पर्ने औँल्याए । ‘जताततै दुर्गन्ध फैलिएकोले जतिखेर पनि महामारी फैलिन सक्छ,’ पनेरुले भने ।
सचेत बनौँ
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सचेतना आवश्यक रहेको राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक खरेलले बताए । उनले स्वास्थ्य सचेतना नभएका कारण बाढी ग्रस्त क्षेत्रका सर्वसाधारण सुद्धिकरण नगरेको पानी र सडेगलेको बासी खाना नखान सचेत गराए । ‘एक छाक खानाका लागि तड्पिनुपर्ने अवस्था छ, पानी त दुषित छदैछ, खान नपाएपछि बासी र सडेगलेका खाने कुरा खान सक्ने खतरा त्यत्तिक बढि भएकाले सचेत हुनैपर्छ,’ खरेलले भने ।
बाढी पीडित क्षेत्रमा स्वास्थ्य सचेतनाका साथै पानी सद्धिकरण गर्ने पियूस वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका महामारी रोग नियन्त्रण फोकल पर्सनज रामबहादुर चन्दले बताए । उनले बाढी ग्रस्त क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । ‘बाढी ग्रस्त क्षेत्रका बासिन्दाको स्वास्थ्यप्रति हामी सचेत छौँ,’ चन्दले भने ।










