काठमाडौंका मेयर शाक्यले मगाए १ करोड २० लाखको विलासी गाडी उपमेयरलाई ८० लाखको गाडी

काठमाडौं, पदभार ग्रहण गर्नासाथ जनप्रतिनिधिका लागि महंगो मोबाइल किन्ने निर्णय गरेर विवादमा आएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्ना लागि बिलासी गाडी किनेका छन् ।
मेयर शाक्यका लागि झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फर्च्यूनर ’ गाडी काठमाडौंमा आइपुगेको छ ।
भन्सार छुटाएर ल्याइएको गाडी अहिले राष्ट्रिय सभागृह परिसरमा राखिएको छ । त्रिपालले ढाकेर राखिएको गाडीको नम्बर प्लेट लिइएको छैन । नयाँ गाडी केही दिनमै मेयर शाक्यले प्रयोग गर्ने महानगर स्रोतले बताएको छ ।
मेयर शाक्यलाई अहिले पनि महानगरले महंगै गाडी उपलब्ध गराएको छ । उनले चढ्ने गाडी झण्डै १ करोड बराबरकै छ । झण्डै ४ वर्ष अघि किनिएको गाडी जनप्रतिनिधि आउनु अघि कार्यकारी अधिकृतले चढ्दै आएका थिए ।










