गाउँपालिकामा बैंक नहुँदा समस्या

मुगु , जिल्लाका गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबार गर्न समस्या भएको छ । सरकारले प्रत्येक गाउँपालिकामा बैंक शाखा खोल्न निर्देशन दिए पनि स्थापना नहुँदा स्थानीयले कारोबारका लागि सदरमुकाम नै धाउनुपर्ने बाध्यता यथावत् रहेको हो ।

बैंकको समस्या देखाएर गाउँपालिकको सम्पर्क कार्यालय सदरमुकाममा खोलेर उतै काम गर्न थालेका छन् । जिल्लामा छायानाथ रारा नगरपालिकाबाहेक सोरु, खत्याड र मुगुम् कार्मारोङ गाउँपालिकामा बैंक छैनन् । गाउँपालिकाको कार्यालय स्थापना भई कामकाज सुरु भए पनि बैंक स्थापना नभएका हुन् । गाउँसभा सकेर सोरु र मुगुम् कार्मारोङ गाउँपालिकाका अध्यक्ष तथा कार्यकारी अधिकृत सम्पर्क कार्यालय जिल्लामै खोलेर स्थानीयको कामकाज गर्न थालेका छन् ।
नगरपालिकामा एक राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, एनआईसी एसिया, निर्धन लघु वित्तलगायतका बैंकबाट आर्थिक कारोबार हुने गरेको छ । सरकारले प्रत्येक गाउँपालिकामा असारभित्रै बैंकका शाखा खोल्न निर्देशन जारी गरे पनि हालसम्म कुनै टुंगो लाग्न सकेको छैन । सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकमा गाउँपालिकाहरूले खाता खोलेर कारोबार सुरु गरेका छन् । ‘बैंक नहुँदा आर्थिक कारोबार गर्न सदरमुकाममै आउनुपर्ने अवस्था आएको छ,’ सोरु गाउँपालिका प्रमुख लोकबहादुर शाहीले भने ।
सोरु, खत्याड र मुगुम् कार्मारोङ गाउँपालिकामा बैंककै समस्या देखाएर कृषि, शिक्षा, पशु, घरेलु महिला विकास, वनलगायत सरकारी कार्यालयले शाखा विस्तार गरेका छैनन् । गाउँपालिकामा बैंक शाखा स्थापना गर्नेबारे आफूलाई थाहा नभएको राष्ट्रिय वाणिज्य बैंकका निमित्त प्रबन्धक प्रकाशकुमार भामले बताए ।

 




सम्बन्धित समाचार


error: Content is protected !!