दुई महिनामै काठमाण्डौका सिडियो फेरीए, गृहमन्त्रीको यस्तो छ कर्मचारीको नया टिम

काठमाण्डौ – गृहमन्त्रालयले काठमाण्डौका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीको सरुवा गरेको छ । पन्थीलाई दुई महिना अघि तत्कालिन गृहमन्त्री विमलेन्द्र निधीले काठमाण्डौको प्रमुख जिल्ला अधिकारी बनाएका थिए । पन्थीलाई मन्त्री निधीले गृहमन्त्रालयको शान्ती सुरक्षा महाशाखा प्रमुखबाट काठमाण्डौ जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेका थिए ।
गृहमन्त्री जनार्दन शर्माले विना कारण पन्थीलाई काठमाण्डौको सिडियोबाट हटाएका हुन । उनले माओवादी निकट कर्मचारी संगठनको वैठकमा निधीले आफु मन्त्रीबाट हट्ने वेला पन्थीलाई काठमाण्डौको सिडियो बनाएको भन्दै असन्तुष्टि जनाएका थिए । मन्त्री शर्माले सहसचिवहरु चक्रबहादुर बुढा र उमेश कुमार केसीमध्ये एक जनालाई काठमाण्डौको सिडियो बनाउने तयारी गरेका छन् । सामान्यतया एक वर्ष नपुगी सहसचिवको सरुवा नगर्ने प्रचलन भएपनि मन्त्री शर्माले भने पन्थीलाई विना कारण सरुवा गरेका हुन ।
सरकारले पन्थीसहित ३५ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहमन्त्री जनार्दन शर्माले ८ जना नया सहसचिवलाई विभिन्न मन्त्रालयबाट सरुवा गरेर गृहमन्त्रालय ल्याएका छन् ।
जसअनुसार केदारनाथ शर्मा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट गृहमन्त्रालय,चक्रबहादुर बुढा शिक्षा मन्त्रालयबाट गृहमन्त्रालय,उमेश कुमार केसी अर्थबाट गृह र नारायण प्रसाद भट्राई गृहमन्त्रायमा पदस्थापन गरिएको छ ।
त्यसैगरी सिताराम कार्की शिक्षाबाट गृहमा,बावुराम श्रेष्ठ प्रधानमन्त्री कार्यालयबाट गृह,रामप्रसाद आचार्य र श्याम प्रसाद भण्डारीलाई गृहमन्त्रालयमा पदस्थापन गरीएको छ ।
शान्ती सुरक्षा महाशाखा प्रमुख दिपक काफ्लेलाई पनि त्यहाबाट हटाउने तयारी गरेको मन्त्री निकट स्रोतले काठमाण्डौपाटीलाई बतायो । सहसचिव रामकृष्ण सुवेदीलाई अध्यागमनको प्रमुख बनाउने मन्त्री शर्माको तयारी छ । माओवादी नेता शक्ति वस्नेत गृहमन्त्री हुदा सहसचिव सुवेदी काठमाण्डौको प्रमुख जिल्ला अधिकारी थिए भने बुढा कर्मचारी प्रशासन शाखाका प्रमुख थिए ।










