हामीले बासमति चामल फलायौं, कांग्रेस–एमालेको कुहेको पिठो बिक्न नदिउँः अध्यक्ष प्रचण्ड

काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने आधार, पृष्ठभूमि र सम्भावना रहेको बताएका छन् । धनुषाको जनकपुरधाममा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले पार्टीलाई पहिलो पार्टी बनाउन निर्वाचन अभियानलाई युद्धस्तरमा अगाडि बढाउनुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘भ्रम चिरियो र सत्य स्थापित भयो भने माओवादीले जित्छ । अरु पार्टीहरुले भ्रमको खेती गरेका छन् । तर, माओवादीले आफूलाई काममा खरो प्रमाणित गरिसकेको छ ।’

उनले भने, ‘हिटलर राष्ट्रवादको नारा दिएर नै जर्मनीको सत्तामा हाबी भयो । नश्लवादी राष्ट्रवादले अन्ततः जाति जातिलाई लडाउँछ र राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । अन्धराष्ट्रवाद अन्तिममा फासीवादमा बदलिन्छ, नेपालमा पनि यो अभ्यास गर्न खोजिएको छ ।’

माओवादी केन्द्र नश्लवादी, जातिवादी र अन्धराष्ट्रवादी नभएको स्पष्ट पार्दै प्रचण्डले आफूहरुले उत्पीडितहरुको बलियो एकतामार्फत् राष्ट्रिय एकता र सद्भाव स्थापित गर्न चाहेको बताए ।

उनले भने, ‘मधेसी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा हिटलरहरु जन्मन खोज्दैछन् । उनीहरु एउटा जातिलाई काखी च्यापेर अरु जातिमाथि छुरा हान्न खोजिदैछ । त्यो हामीलाई सह्य छैन ।’

हामीले उठाएको जातीय मुक्तिको नारा हिमाल, पहाड र तराई–मधेशका गरीब र उत्पीडितहरुलाई एकताको एउटै सुत्रमा बाँध्ने नारा रहेको भन्दै प्रचण्डले एमाले र मधेसी दलले लिएजस्तो जाति जाति भिडाउने नारा नभएको बताए ।

मधेसी जनताको मुक्तिका लागि १३०० जनाले सहादत गरेको स्पष्ट पार्दै प्रचण्डले मधेसको अधिकारका लागि लड्ने एक मात्र पार्टी माओवादी केन्द्र मात्रै भएको दबी गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘मेरो प्रधानमन्त्रीकाल नै हिमाल, पहाड र तराई मधेसलाई एकताको सुत्रमा बाँध्ने र राष्ट्रिय एकता हासिल गर्ने सफल कार्यकाल हो ।’

माओवादी भनेको ध्वस्त गर्ने, भत्काउने, बिगार्ने पार्टी नभएको भन्दै उनले ‘कसैले त्यस्तो सोच्छ भने त्यो भ्रम हो । विकास, समृद्धि र उज्यालो नेपालको अभियानले त्यसलाई पुरै खारेज गरिदिएको’ उनले स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले भने, ‘हामीले बासमति चामल फलायौं । तर, बेच्न नै लगेनौ, घरमै पोको पारेर राख्यौं । तर, प्रतिगामीहरु कुहेको पिठो बोकेर घरघर गए । अब हामी चामल बेच्न घरघर जाऔं । कुहेको किरा परेको कांग्रेस, एमालेको पिठो बिक्न नदिउँ ।’

उनले एमालेलाई मधेसी, जनजातिको अधिकार, संघीयता, गणतन्त्र र नयाँ संविधान मन नपरेको भएपनि बाध्यतावश स्वीकार गरेकाले उनीहरु बलिया भए भने परिवर्तन उल्टाउँने चिन्ता व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘माओवादी फुट्दा जनता रोएका छन् । जनताको त्यत्रो अपेक्षा थियो । तसर्थ, सबै माओवादीमा अब जुट्ने बुद्दि आउनुपर्छ ।’

अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूखको मुद्दा लिएर जनतामा जाने र सो नाराको व्यहारिक कार्यान्वयन र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्रै देशको स्वाधिनता जोगाउन, राष्ट्रिय एकता बलियो बन्ने स्पष्ट पारे ।

नेता नारायणकाजी श्रेष्ठले संविधान कार्यान्वयनको प्रक्रिया सफल पार्न असोज २ गते २ नम्वर प्रदेशमा निर्वाचन हुन लागेको र नेपालको स्वाधिनता र भौगोलिक अखण्डताको पक्षमा सबैभन्दा बढी त्याग र बलिदान मधेसी जनताले गरेका बताए ।

नेता रामबहादुर थापाले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश भएकाले एकल जाति, भाषा, लिङ्ग र क्षेत्रको निरङ्कुश सत्ता ढालेर जनताको संघीय गणतन्त्र स्थापना गरेको बताए ।

उनले भने, ‘प्रदेश नं। २ सामन्तवादको गढ हो, जमिन्दारहरुको बोलवाला छ, माओवादीले जिते मात्र यसलाई बदल्न सकिन्छ । क्रान्तिकारी उपलब्धिहरुको रक्षा गर्न माओवादी उम्मेदवारहरुले जित्न जरुरी छ ।’





error: Content is protected !!