प्रतिबन्धित जडिबुटी ओसारेको आरोपमा २२ लाख जरिवाना र ४ महिना कैद

जिल्ला अदालत जाजरकोटले डोल्पा मुड्केचुला गाउँपालिका–६ का ६८ वर्षीय नामबहादुर बोहरालाई २२ लाख जरिवाना र ४ महिना कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश लिलाराज अधिकारीको इजलासले बोहरालाई प्रतिबन्धित जडीबुटी पाँचअाैंले ओसारपसारको अभियोगमा बिहीवार उक्त जरीवाना सुनाएको हो ।
अदालतले बोहरालाई वन ऐन २०४९ को दफा ५० (घ) बमोजिम जरिवाना र कैद गरेको हो । बोहरालाई प्रहरीले गत माघमा १ हजार ९० गोटा पाँचअौंलेसहित पक्राउ गरेको थियो । अदालतले १ गोटा पाँचऔंलेको १ हजारको दरले १० लाख ९० हजार विगो कायम गरेको श्रेस्तेदार अधिकृत मेघनाथ चापागाईंले बताए ।
वन ऐनमा बिगोको दोब्बर जरिवाना र कैद दुवै हुने ब्यबस्था अनुसार बोहरालाई २१ लाख ८० हजार जरिवाना तथा ४ महिना कैद सजाय भएको हो ।
बोहरा विगत ६ महिनादेखि जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन् । ईलाका प्रहरी कार्यालय दल्लीको प्रहरी टोलीले बोहरालाई ३ किलो पाँचऔंले सहित पक्राउ गरेको थियो ।
बोहराले तोकेको जरिवाना बुझाउन नसक्ने भन्दै जरिवाना वापत कैद सजाय भुक्तान गर्ने निर्णय गरेको उनले बताए । बोहराले जरिवानाको साटो बढीमा ४ वर्ष कैद भुक्तान गर्नुपर्ने श्रेस्तेदार चापाईंले बताए ।










