दुई वर्षमै उप्कियो कालोपत्र

जाजरकोट , छिन्चु–जाजरकोट सडक कालोपत्रे भएको २ वर्ष नपुग्दै जीर्ण भएको छ । सडकको राकम–खलंगा र पोखरे–बालुवासंग्रही खण्ड भत्किएका हुन् ।
दर्जनौं स्थानमा कालोपत्र उक्किएर खाल्टाखुल्टी बनेका छन् । यसले गर्दा यात्रु तथा सवारीसाधन आवतजावतमा सास्ती भएको छ । निर्माण कम्पनीले गुणस्तरहीन काम गरेकाले छोटो समयमै सडक जीर्ण भएको स्थानीयले बताए ।
विश्व बैंकको आर्थिक सहयोगमा सडक विभागले दुई वर्षअघि सुर्खेतको पोखरेदेखि जाजरकोट सदरमुकामसम्मको ८१ किमि सडक कालोपत्र ९ओटासिल० गरेको थियो । पासागाड खोला, कालाभीर, कुदु, आली, गोजीखोला, औलझ्याम, धारापानी, कुरिल्ले, पोखरेलगायत स्थानमा कालोपत्र उप्किएको छ । नाली र पर्खाल भत्किँदा बीच सडकमा पानी बग्छ । त्यसले झनै समस्या थपिएको यात्रुको गुनासो छ । कालोपत्र उप्किँदा दुर्घटनाको जोखिम बढेको सवारी चालक प्रेम बुढाले बताए । ‘कालोपत्र भन्नु मात्र छ । जताततैै खाल्टाखुल्टी छन् । यसले यात्रा कष्टकर बनाएको छ,’ उनले भने । नाम मात्रको कालोपत्र गरिएकाले सडक दिगो नभएको स्थानीय तेजविक्रम शाहले बताए । ‘छोटो समयमै कालोपत्र उप्कनुले सडक विभागका प्राविधिक, परामर्शदाता र व्यवसायीको मिलेमतोमा गुणस्तरहीन काम भएको प्रमाणित हुन्छ,’ उनले भने । जीर्ण सडक मर्मत सुधारमा सडक डिभिजन कार्यालय चौरजहारीले बेवास्ता गर्दा यातायात सञ्चालनमा असहज भएको उनको भनाइ छ ।
सडक निर्माण कार्य गुणस्तरिय नहुँदा विश्व बैंकको लगानी खेर गएको शाहले बताए । सुर्खेतको पोखरेदेखि सल्यानको सल्लीबजार खण्ड र सुर्खेतको राकमदेखि जाजरकोटको छेडाचौरसम्मको कालोपत्र आशिष गोर्खा जेभीले गरेको थियो । छेडाचौरदेखि फेरा खण्डको वाईपी गौरीपार्वती जेभीेले र फेरादेखि जाजरकोट सदरमुकाम शान्ति चौतारासम्मको हिम्दुङरथोक्कररभैरव कम्पनीले कालोपत्र गरेको थियो । उक्त सडकको कालोपत्र गर्न ५० करोडभन्दा बढी रकम खर्च भएको थियो ।










