थरीथरीका उम्मेदवार , बाबु छोरा देखि ज्वाइँ–ससुरासम्म प्रतिस्पर्धी

काठमाडौँ । पाल्पाको कालीगण्डकी गाउँपालिका–७ मा सहोदर दिदीबहिनी फरक दलबाट महिला सदस्य उम्मेदवार बनेका छन् । मीना ढकाल गौतम र राधा ढकाल पौड्याल उम्मेदवार बनेपछि आमा दमयन्ती द्विविधामा परेकी छिन् । दिदी मीना ढकाल गौतम कांग्रेसबाट र बहिनी राधा ढकाल पौड्याल एमालेबाट उम्मेदवार बनेका हुन् ।

जुम्ल्याहा दाजुभाइ चुनावमा प्रतिस्पर्धी
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा जुम्ल्याहा दाजुभाइ फरक दलबाट उम्मेदवार बनेका छन् । दाजु पदम खत्री राष्ट्रिय जनमोर्चा र भाइ प्रीतम खत्री एमालेबाट वडाध्यक्ष उम्मेदवार भएका हुन् ।

दाजुभाइ निर्वाचन प्रतिस्पर्धामा
बैतडीको डिलासैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एकै पदका लागि बाबुछोरा र दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन् । डिलासैनी गाउँपालिका अध्यक्षमा कर्णबहादुर रानाले कांग्रेसबाट र लोकेन्द्रबहादुर रानाले माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएका छन् । कर्ण दाजु र लोकेन्द्र भाइ हुन् ।

बाबुछोरा प्रतिस्पर्धामा
बैतडीको पुरचौडी नगरपालिका–७ को अध्यक्षमा बाबुछोराले अलग–अलग पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । नागी साउद ९बाबु० एमालेबाट र उज्वल साउद ९छोरा०ले माओवादी केन्द्रबाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

दाजु–भाइ र ज्वाइँ–ससुरा पनि
कञ्चनपुरका दुई नगरपालिकाका दुई वडाबाट दाजु–भाइ र ज्वाइँ–ससुरा वडाध्यक्षको प्रतिस्पर्धामा छन् । महाकाली नगरपालिका–१ को वडाध्यक्षमा राप्रपाबाट विक्रम चन्द र एमालेले सरोज चन्दलाई उम्मेदवार बनाएका छन् । उनीहरू सहोदर दाजुभाइ हुन् । त्यस्तै, भीमदत्त नगरपालिका–७ मा एमालेले गणेशबहादुर चन्दलाई र उनका ससुरा गजेन्द्रबहादुर चन्दलाई कांग्रेसले अध्यक्षको उम्मेदवार बनाएको छ ।

कति समावेशी छन् प्रमुख दलहरूका उम्मेदवार

कांग्रेसबाट प्रमुखमा सात महिला
संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले ३३४ स्थानीय तहमध्ये ३२४ मा प्रमुख÷अध्यक्षमा उम्मेदवार उठाएको छ । १० तहमा कांग्रेसले माओवादीसहितका दलसँग तालमेल गरेको छ । ३२४ तहमा कांग्रेसले अधिकांश स्थानमा पुरुषलाई प्रमुख र अध्यक्षको उम्मेदवार बनाएको छ । कांग्रेसले सात महिलालाई मात्र प्रमुख वा अध्यक्षको उम्मेदवार बनाएको छ । जसमा पाँच गाउँपालिका अध्यक्ष र दुई नगरपालिका प्रमुखमा छन् । पहिलो चरणको निर्वाचनमा जुम्लाको चन्दनाथ नगरपालिकाको प्रमुखमा कांग्रेसकी कान्तिका सेजुवाल विजयी भएकी थिइन् । अन्य चार गाउँपालिका अध्यक्षमा पनि कांग्रेसबाट महिला विजयी बनेका थिए ।

ठूला ठाउँमा दलित उम्मेदवार
कांग्रेसले कैलालीको धनगढी उपमहानगरपालिकामा दलित समुदायका नृप ओडलाई प्रमुखमा उठाएको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका उपप्रमुखमा दलित समुदायकी देविका नेपाली घिमिरेलाई उम्मेदवार बनाएको छ ।

प्रदेश १ बाट तीन महिला प्रमुख
झापाको गौरीगन्ज गाउँपालिका प्रमुखमा कांग्रेसले फूलवती राजवंशी, धनकुटाको पाख्रिबास नगरपालिका प्रमुखमा इन्दिरा थापा र भोजपुर पौवादुङ गाउँपालिका प्रमुखमा शिशिरा राईलाई उम्मेदवार बनाएको छ ।

प्रदेश ५ बाट एकजना पनि प्रमुखमा परेनन्
प्रदेश नम्बर ५ मा एकजना पनि महिलालाई प्रमुख वा अध्यक्षमा उम्मेदवार बनाइएको छैन । प्रदेश ५ मा १०९ स्थानीय तह छन् ।

प्रदेश नम्बर ७ मा चारजना प्रमुखका उम्मेदवार
प्रदेश नम्बर ७ मा अछामको रामारोशन गाउँपालिकामा अनुराधा स्वाँरलाई अध्यक्षको उम्मेवार बनाइएको छ । कैलालीको घोडाघोडी नगरपालिका प्रमुखमा रीता चौधरी, जानकी गाउँपालिका प्रमुखमा गंगादेवी चौधरी र डडेल्धुराको भागेश्वर गाउँपालिका प्रमुखमा कौशिला भट्टलाई उठाइएको छ ।

पूर्वमन्त्री कांग्रेसबाट नगरका उम्मेदवार
बैतडीको पाटन नगरपालिका प्रमुखमा कांग्रेसका पूर्वमन्त्री केशवबहादुर चन्द निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका छन् । ६० वर्षे चन्द ०५४ मा समाजकल्याण राज्यमन्त्री भएका थिए । चन्दसँगको प्रतिस्पर्धीमा एमालेबाट नरेश विक, माओवादीका शंकर भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रणबहादुर विष्ट छन् । उपप्रमुखमा कांग्रेसबाट सरस्वती कोली उम्मेदवार बनेकी छिन् ।

एमालेबाट आठ तहको प्रमुखमा महिला
एमालेले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा १ सय १२ जनजाति समुदायका व्यक्तिलाई प्रमुख पदको उम्मेदवार बनाएको छ । त्यस्तै, १३ जना मधेसी समुदायका तथा १० जना मुस्लिम समुदायका व्यक्तिलाई स्थानीय तहको प्रमुख पदको उम्मेदवार बनाएको छ । दलितबाट आठजना प्रमुख पदको उम्मेदवार बनेका छन् ।

प्रदेश नम्बर १ मा जनजातिको बाहुल्य
प्रदेश नम्बर १ का १३७ तहमध्ये आधाभन्दा बढी ७४ तहमा जनजातिलाई प्रमुख पदमा उम्मेदवार बनाएको छ । त्यस्तै, पाँचजना मधेसी तथा तीन मुस्लिम समुदायबाट प्रमुख पदमा उम्मेदवार बनेका छन् ।

प्रमुखमा आठ महिला उम्मेदवार
आठ महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ । प्रदेश नम्बर ५ का पाँच तहमा महिला प्रमुखको उम्मेदवारी दर्ता गराएका छन् । नवलपरासीको सुनवल नगरपालिकाको प्रमुखमा विमला अर्याल, रोल्पाको रोल्पा नगरपालिकामा मीना शर्मा प्रमुखको उम्मेदवार बनेकी छन् । त्यस्तै, कपिलवस्तुको वाणगंगा नगरपालिकाको प्रमुखमा विमला घिमिरे र मायादेवी गाउँपालिका अध्यक्षमा फौजिया नसिम प्रमुखको उम्मेदवार बनेकी छन् । रुकुमको भुमे गाउँपालिका अध्यक्षमा आशा स्वर्णकार उम्मेदवार छिन् । त्यस्तै, झापाको कमल गाउँपालिका अध्यक्षमा मेनका काफ्ले र हल्दीबारी गाउँपालिका अध्यक्षमा मञ्जु सिटौला चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश नम्बर ७ बाट डोटीको सिलगढी नगरपालिकामा मञ्जु मलासी मेयरको उम्मेदवार छिन् ।

प्रदेश नम्बर ५ मा मधेसी र मुस्लिम हाराहारी
प्रदेश नम्बर ५ का १ सय ९ तहमा ३१ जना जनजाति, आठ मधेसी र सात मुस्लिम समुदायका व्यक्तिलाई प्रमुख पदको उम्मेदवार बनाएको छ । मधेसी र मुस्लिम समुदायबाट हाराहारीको संख्यामा उम्मेदवार बनाइएको छ । थारू समुदायको उम्मेदवारको संख्या पनि उल्लेख्य छन् । प्रदेश नम्बर ७ मा एमालेले सात जनजाति समुदायबाट प्रमुख पदमा उम्मेदवार बनाएको छ ।

१० जिल्ला अध्यक्ष प्रमुखको प्रतिस्पर्धामा
३५ जिल्लाका १० तहमा एमालेका जिल्ला अध्यक्ष नै चुनावी प्रतिस्पर्धामा छन् । भोजपुरका अध्यक्ष प्रेमकुमार राई हतुवागढी गाउँपालिका, पाँचथरका अध्यक्ष राजकुमार भण्डारी फिदिम नगरपालिकाको प्रमुखमा उम्मेदवार छन् । त्यस्तै, झापाका अध्यक्ष चिन्तन पाठक बुद्धशान्ति गाउँपालिका, मोरङका अध्यक्ष विनोद ढकाल विराटनगर महानगरपालिका प्रमुख, सुनसरीका अध्यक्ष द्वारिकलाल चौधरी इटहरी उपमहानगरपालिका प्रमुखको उम्मेदवार छन् ।

यसैगरी, ओखलढुंगाका अध्यक्ष मोहन श्रेष्ठ सिद्धिचरण नगरपालिका प्रमुख, गुल्मीका अध्यक्ष मधुकृष्ण पन्थ छत्रकोट नगरपालिका प्रमुख, बर्दियाका अध्यक्ष हरिप्रसाद ज्ञवाली गुलरिया नगरपालिका प्रमुख, प्युठानका अध्यक्ष तुलसीराम शर्मा प्युठान नगरपालिका प्रमुख र रूपन्देहीका अध्यक्ष शिवराज सुवेदी बुटवल उपमहानगरपालिकाको प्रमुखका रूपमा प्रतिस्पर्धामा छन् ।

१७ तहको प्रमुखमा महिला उम्मेदवार
कांग्रेस, एमालेको तुलनामा झन्डै दोब्बर प्रतिशतमा माओवादी केन्द्रले प्रमुख पदमै महिलालाई उम्मेदवार बनाएको हो । उसले एक उपमहानगरपालिकासहित १७ तहको प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएको छ । माओवादीले कुल ३३४ स्थानीय तहमध्ये ३०४ स्थानमा मात्रै प्रमुख पदमा उम्मेदवारी दिएको छ । दोस्रो चरणको निर्वाचनमा ३० स्थानीय तहको प्रमुख पद भने तालमेलको नाममा माओवादी केन्द्रले अन्य दललाई छाडेको छ ।

दलितबाट प्रमुखमा १४ उम्मेदवार
दलित समुदायबाट १४ जनालाई प्रमुख पदमा उम्मेदवार बनाइएको छ । मोरङको लेटाङ नगरपालिका प्रमुखमा गोपाल नेपाली, उदयपुरको ताम्ली गाउँपालिका अध्यक्षमा ढुंगराज विक, खोटाङको केपिलासगढी गाउँपालिकामा मनकुमारी रसाइली, ओखलढुंगाको खिम्जीदेम्बा गाउँपालिका अध्यक्षमा सुदीप सुनुवारलाई अध्यक्षको उम्मेदवार छन् ।

त्यस्तै, गुल्मीको रेसुंगा नगरपालिकामा र्धमबहादुर विक, प्युठानको सरुमारानी गाउँपालिकामा डोरबहादुर दर्लामी, बाँकेको खजुरा गाउँपालिकामा डम्बर विक, बाजुराको बडीमालिका नगरपालिकाको प्रमुखमा मानबहादुर विक, बाजुराकै बुढीनन्दा नगरपालिकाको प्रमुखमा भरतबहादुर विक, स्वामिकार्तिक गाउँपालिका अध्यक्षमा रमेशराज विकलाई माओवादीले उम्मेदवार बनाएको छ । डोटीको दिपायल सिलगढी नपाको मेयरमा प्रेम नेपाली, डोटीकै बडीकेदार गाउँपालिका जंगबहादुर विक, डडेल्धुराको नवदुर्गा गाउँपालिकाको अध्यक्षमा धर्म विक र कञ्चनपुरको भीमदत्त नगरपालिका प्रमुखमा गोपाल रसाइलीलाई माओवादीले उम्मेदवार बनाएको छ ।

प्रमुख पदमै १७ जना महिला उम्मेदवार
माओवादीले सुनसरीको इटहरी उपमहानगर प्रमुखसहित १७ स्थानीय तहको प्रमुखमा महिलालाई उम्मेदवार बनाएको छ । इटहरी उपमहानगरमा उसले हरिमाया जिमीलाई उम्मेदवार बनाएको छ । सनुसरीकै देवनागन्ज गाउँपालिकामा लक्ष्मीदेवी मेहता, मोरङको सुन्दरहरैचा नगरपालिका प्रमुखमा लक्ष्मी न्यौपानेलाई माओवादीले उम्मेदवार वनाएको छ ।

त्यस्तै, संखुवासभाको धर्मदेवी नगरपालिका प्रमुखमा उमा कार्की विष्ट, तेह्रथुमको मेन्छयायेम गाउँपालिका अध्यक्षमा फुर्वी शेर्पा, खोटाङको रूपाकोट मझुवागढी नपाको प्रमुखका दुर्गाजयन्ती राई र लामीडाँडा गाउँपालिका अध्यक्षमा डा। चेतकुमारी गुरुङलाई अध्यक्षमा उम्मेदवार बनाएको छ ।

मझुवागढी नपाको प्रमुखमा उम्मेदवारी दिएका दुर्गाजयन्ती राई पूर्वसभासद् पनि हुन् । उनी ०६४ को पहिलो संविधानसभाका सभासद् हुन् । खोटाङकै जन्तेढुंगा गाउँपालिकामा अध्यक्षमा अरुणा राई, कोपिलास गढी गाउँपालिका अध्यक्षमा मनकुमारी रसाइली र बराहपोखरी गाउँपालिकामा निशाना राईलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

ओखलढुंगाको सुनकोसी गाउँपालिका अध्यक्षमा चम्पा कार्की, पाल्पाको तानसेन नगरपालिका प्रमुखमा प्रतीक्षा सिँजाली, रिम्दीकोट गाउँपालिका अध्यक्षमा लीला कार्कीले प्रमुख पदमा उम्मेदवारी दिएकी छन् । गुल्मीका इसमा गाउँपालिकामा विमला थापा, दाङको लमही नगरपालिकामा द्रोपदा पौडेल, रुकुमको सिस्ने गाउँपालिका अध्यक्षमा कुमारी बराल गौतम र डडेल्धुरा नगरपालिकाको अध्यक्षमा शोभा भट्टलाई माओवादीले अध्यक्षको उम्मेदवार बनाएको छ ।

अधिकांश जनजाति उम्मेदवार
दोस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर १ र ५ को पहाडी क्षेत्र र प्रदेश नम्बर ७ का अधिकांश क्षेत्र जनजाति बाहुल्य रहेकाले माओवादीले समुदायविशेषलाई आधार बनाएरै उम्मेदवार बनाएको छ ।

 





error: Content is protected !!