हुम्लामा खाद्यान्न ढुवानी रोकियो

– सुर्खेत ,कर्णालीको हुम्लामा नेपाल खाद्य संस्थानले खाद्यान्न ढुवानी गर्न सकेको छैन । चामल लिएर गएको नेपाली सेनाको स्काई ट्रक दुर्घटनामा परेपछि संस्थानले ढुवानी गर्न नसकेको हो ।

 संस्थानको सुर्खेत कार्यालयका अनुसार ढुवानी व्यवस्थापनमा ढिलाइ हुँदा सडक सञ्जालले नछोएको सदरमुकाम सिमीकोटमा खाद्यान्न संकट छ ।
जेठ १६ मा सुर्खेतबाट चामल लिएर गएको सेनाको एक मात्र स्काई ट्रक खराब मौसमका कारण फोर्स ल्यान्डिङ गर्ने क्रममा बाजुराको कोल्टी विमानस्थलमा दुर्घटनामा परेको थियो । त्यसयता हुम्लामा खाद्यान्न ढुवानी हुन सकेको छैन ।
मानसरोवार जाने पर्यटकको संख्या वृद्धिँगै हुम्लामा चामलको संकट भएको संस्थानका सुर्खेत प्रमुख भीम थापाले भने । उनका अनुसार हुम्लामा बढीमा डेढ सय क्विन्टल मात्र चामल मौज्दात छ । ‘पर्यटकको संख्या अत्यधिक छ ।
चामल लिने आउनेहरूको थेगिनसक्नु भीड छ,’ उनले भने, ‘आपतकालीन मौज्दातबाहेक
डिपोमा चामल छैन ।’ हुम्लामा दुई डिपो छन् ।
सुर्खेत कार्यालयले कर्णालीसहित दैलेख, बाजुरालगायतका जिल्लामा खाद्यान्न ढुवानीको व्यवस्थापन गर्दै आएको छ । सडक सञ्जाल नपुगेका जिल्लामा संस्थान र  नेपाली सेनाबीचको म्झौताअनुसार खाद्यान्न ढुवानी गर्दै आएको हो ।
अब संस्थानले हुम्लामा १ हजार ९ सय क्विन्टल चामल ढुवानी गर्नुपर्नेछ । संस्थानले बाँकी खाद्यान्न ढुवानीका सम्बन्धमा नेपाली सेनासँग समन्वय गरिरहेको जनाएको छ । सुर्खेत प्रमुख भीम थापाले सेनासँग रहेको नाइन आई सेभिन्टिन हेलिकोप्टरले केही दिनमै खाद्यान्न ढुवानी गर्ने बताए ।
खाद्य संस्थानले हुम्लाबाहेक कर्णालीका अन्य जिल्लामा खाद्यान्न संकटको अवस्था नरहेको दाबी गरेको छ । कर्णालीका हुम्ला र डोल्पा सडक सञ्जालले नछोएका जिल्ला हुन् । त्यसैले ती जिल्लामा स्थलमार्गबाट चामल ढुवानी गर्न सम्भव छैन ।

 




सम्बन्धित समाचार


error: Content is protected !!