कर्णालीकै गौरव “धौलीगाड खानोपानी आयोजना” बन्ने पक्का

शुरबहादुर सिंह, जुम्ला । कर्णालीकै गौरवको आयोजना मानिने “धौलीगाड खानेपानी आयोजना” निर्माण हुने पक्का भएको छ । 
दुई वर्षअघि ड्रिम जिओ ल्याब कन्सल्ट्यान्सीद्धारा तयार गरिएको डिपिआर अनुसार रु.४५ करोड १९ लाख ८८ हजार ९२ को लागतमा बन्ने भनिएको आयोजनाको लागतपनि बढ्ने भएको छ । यो कन्सल्ट्यान्सीद्धारा तयार गरिएको प्रतिवेदन मस्यौदामै रहेको र आयोजनाको पुनः डिजाईन सर्भे हुन थालेकोे जिल्ला खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय जुम्लाका प्रमुख टंकबहादुर सोडारीले जानकारी दिनुभयो ।
“अब ल्याण्डेक्स भन्ने कन्सल्ट्यान्सीले आयोजनाको डिपिआर गर्दैछ । यसमा लागत बढेर आउने निश्चित भएकोले यसको निर्माण कार्य आ.व.०७४÷०७५ बाट सुरु हुने पक्का भएको छ,” कार्यालय प्रमुख सोडारीले भन्नुभयो । उहाँका अनुसार ड्रिम जिओ ल्याव कन्सल्टयान्सीले प्रतिव्यक्ति प्रतिदिन ४५ लिटर पानी डिजाईन गरेकोमा ०७३ मा आएर यो परिवर्तन भएको छ । खानेपानी विभागका अनुसार यसको प्रतिवेदन आउन बाँकी रहेको उहाँले जनाउनुभयो ।
विगतमा उपभोक्ता समितिमार्फत काम भईरहेकोमा अब सुख्खा क्षेत्र अन्तरगतको आयोजनामा यसको काम हुने कार्यलय प्रमुख सोडारीको भनाई छ । मुख्य आयोजना अन्तरगत चन्दननाथ नगरपालिका २,३ र ८ वडाका क्रमशः भण्डारीगाउँ, ढाणथपला–१ र ढाँणथपला–२ र कोटिलागाउँ खानेपानी तथा सरसफाई सव–आयोजनाको निर्माण कार्य सञ्चालन भईरहेको उहाँले जनाउनुभयो ।
उहाँका अनुसार भण्डारीगाउँ खानेपानी सव–आयोजना करिब रु.५० लाखको लागतमा सम्पन्न हुँदा ३८ हजार लिटर पानी क्षमताको फेरो ट्याङकी निर्माण भएको छ र कोटिला खानेपानी सव–आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गुठीचौर गाउँपालिका ५ बिगारे खानेपानी तथा सरसफाई सव–आयोजना सुरु गर्ने तयारीमा रहेको उहाँको भनाई छ ।
सव–डिभिजन कार्यालय जुम्लाका सव–ईञ्जिनियर लक्ष्मीबहादुर भण्डारीले ‘एक घर, एक धारा’ बाट भण्डारीगाउँका दुई सय घरधुरी लाभान्वित भएको जनाउनुभयो । निर्माणाधिन ढाँणथपलाका दुईटा सव–आयोजनाको पाईपलाईन निर्माणका लागि रु.४३ लाख गईसकेको र एकलाख लिटर पानी क्षमताका लागि एकसय घनमिटरको फेरो ट्याङ्की बनाउन छुट्टै रु.३५ लाख बजेट लाग्ने सव–ईञ्जिनियर भण्डारीले बताउनुभयो ।
“तातोपानी र गुठीचौर गाउँपालिका तथा चन्दननाथ नगरपालिका, धौलीगाड मुख्य खानोपानी आयोजना क्षेत्रभित्र पर्दछन् र यसबाट ४३ हजार ५५५ जना समुदायका मान्छे लाभान्वित हुने देखिन्छ,” उहाँले भन्नुभयो । पछिल्लो समयमा सव–आयोजनाबाट निर्माण कार्य सुरु गरिएकाले आयोजनाको काममा तीव्रता र प्रगतिपनि रामै्र देखिएको उहाँको भनाई छ ।







