द्वन्द्व नफर्कने ग्यारेन्टी गर

हरि गौतम, रुकुम
भूमे गाउँपालिका–६ महतकी विनकुमारी बुढाका आँखा १५ वर्षयता ओभाना बसेका दिन विरलै होलान् । ७ वर्षकी छोरी काखबाटै गुमाएको भर्खरैजस्तो लाग्छ, उनलाई । २०५९ असोज ६ गते सेनाले चलाएको गोलीले नाबालक छोरी उर्मिलाको ज्यान गयो । विनकुमारी आफैं पनि घाइते भइन् । घरभित्रै बसेका बेला आमाछोरीलाई गोली लागेको थियो ।
सोही ठाउँकी सीता बुढा पनि छोरी गुमाउनुको पीडाले छट्पटिइरहन्छिन् । १२ वर्षीया छोरी सुकमायालाई घर कुरुवा राखेर बिहान बारीतिर गएकी उनले बेलुका आउँदा लास भेट्टाइन् । गाउँमा धेरै मान्छे मारिएपछि स्थानीय भागभाग भए । सीताका पति पनि घरमा थिएनन् । सुकमायाको शव सातापछि मात्रै सेलाइएको थियो । ८१ वर्षीय सिंहबहादुर बुढाको पीडा उस्तै छ । उनका १२ वर्षीय छोरा तारा २०५९ असोज ६ मा सेनाको गोलीले मारिए । घरमा खेल्दै गरेका बेला उनीमाथि गोली बर्सिएको थियो । उमेरले नेटो काट्नै लाग्दा पनि यो पीडा भुल्न सकेका छैनन् सिंहबहादुरले ।
भूमे गाउँपालिका ६, ७ र ८ नम्बर वडामा मात्र दसवर्षे सशस्त्र द्वन्द्वमा ५८ जनाले ज्यान गुमाएका छन् । ती सबैका आफन्त अझै पनि उनीहरूका सम्झनामा छट्पटाइरहेका छन् । सबैभन्दा बढी मानवीय क्षति व्यहोरेका महतवासी स्थानीय तहको निर्वाचनपछि शान्ति तथा अमनचयनको ग्यारेन्टी होस् भन्ने चाहन्छन् । महतमा मात्रै ५० जना राज्य र ८ जना विद्रोही पक्षबाट मारिएका थिए । असार १४ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा मत माग्न घर–घर पुग्ने उम्मेदवारसँग स्थानीय बासिन्दाको पहिलो माग नै ‘शान्ति कायम हुनुपर्छ’ भन्ने छ ।
२०२२ का जिल्ला पञ्चायत सदस्यसमेत रहेका सिंहबहादुरले फेरि अनाहकमा रगत बगाउनुनपर्ने व्यवस्थाको प्रतिबद्धता स्थानीयले खोजेको बताए । ‘हामी सबैको एउटै र महत्त्वपूर्ण माग त्यही हो,’ उनले भने, ‘फेरि काटमार नगराउने र गाउँको विकासमा टेवा पुग्ने व्यवस्थाको सुरुवात स्थानीय तहको निर्वाचनपछि होस् ।’
मत माग्न आउने सबैलाई सीताको पनि एउटै सल्लाह छ । ‘सोझासीधा केटाकेटी मारिनुपर्ने व्यवस्था फेरि नआओस्,’ उनले भनिन्, ‘जति जना भोट हाल्दिनु भन्न आउनुभो सबैलाई त्यही भन्ने गरेकी छु ।’ काम गरेर सजिलै खाने व्यवस्था भए अरू केही नचाहिने पनि उनको भनाइ छ ।
कांग्रेसका तर्फबाट भूमे गाउँपालिका अध्यक्षका उम्मेदवार गन्जसिंह बुढाले सबैको चाहना शान्ति रहेको बताए । ‘उहाँहरूले शान्तिलाई बढी प्राथमिकतामा राख्नुभएको छ,’ उनले भने, ‘मानवीय क्षति धेरै बेहोर्नुपरेकाले पनि त्यसो हुन सक्छ ।’ माओवादी केन्द्रका तर्फबाट भूमे गाउँपालिका अध्यक्षका उम्मेदवार रामसुर बुढाको अनुभव पनि गन्जसिंहको भन्दा फरक छैन । चुनाव प्रचारका क्रममा २ पटक महत पुगिसकेका रामसुरले पनि त्यहाँका बासिन्दाले आफूसँग अब फेरि द्वन्द्व नहुने कुराको ग्यारेन्टी खोजेको बताए । ‘पटक–पटकको दोहोरो भीडन्त तथा सयौं सर्वसाधारण मारिएको पीडा महतवासीले अहिले पनि भुल्न सक्नुभएको छैन,’ उनले भने, ‘शान्ति कायम भए समृद्धिको ढोका आफैं खुल्ने भएकाले हाम्रो प्रतिबद्धता पनि त्यसमै छ ।’

 

मतदान केन्द्र पुग्न ५ घण्टा
दोस्रो चरणको स्थानीय तह चुनावका लागि यहाँको एक मतदान केन्द्रमा पुग्न ५ घण्टा लाग्ने भएको छ । भूमे गाउँपालिका–८ को मतदान केन्द्र पुग्न ५ घण्टा हिँड्नुपर्ने भएको हो । साबिकको रुकुमकोट गाविसको ४ नम्बर वडा र महत गाविसका ७ र ८ गाभेर बनाइएको उक्त वडाको मतदान केन्द्र बनाइएको हो । साबिकको महत गाविस–८ को आधारभूत विद्यालय भोल्टीमा मतदान केन्द्र कायम गरिएको छ । भोल्टीमा रहेको मतदान केन्द्रमा पुग्न साबिकको रुकुमकोट–४ को मैबाङबाट ५, झिम्काबाट ४ र कुचीबाङबाट ३ घण्टाभन्दा बढी पैदल हिँड्नुपर्ने मैबाङका दुर्गाबहादुर बुढाले बताए । मतदान केन्द्र पायक पर्ने नभएको उनले बताए । उनले भोल्टीभन्दा दोमै सबैलाई पायक पर्ने बताए । ‘सबैलाई पायक पर्ने हुन्थ्यो,’ उनले भने, ‘तर के कारण हो हामीलाई मतदान केन्द्र टाढा बनाइयो ।’
स्थानीय तहको संख्या तथा सिमाना निर्धारण प्राविधिक सहयोग समितिले जिल्लाको स्थानीय तह तथा वडाको सिफारिस गरेको थियो । जिल्लाबाट भएको सिफारिस सही नभएको झिम्काका बलबहादुर बुढाले बताए । स्थानीय भूगोललाई अध्ययन नगरी नयाँ वडा बनाइएको तथा मतदान केन्द्र कायम गरिएको उनको भनाइ छ । अपांग, ज्येष्ठ नागरिकलाई मतदानका लागि समस्या हुने देखिएको उनले बताए । जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटाले भने राजनीतिक दलको सहमतिमा उक्त निर्णय भएको बताएका छन् । अलि पायक पर्ने भनिएको ठाउँमा विद्यालय नभएकाले पनि उक्त ठाउँमा मतदान केन्द्र कायम गरिएको उनको भनाइ छ ।

सुरक्षा र रोजगारी दिनेलाई साथ
मोरङ– सीमावर्ती गाउँका मतदाताले विकास, रोजगारी र सुरक्षाको उचित प्रबन्धसहितको ‘रोडम्याप’ ल्याउने उम्मेदवारलाई चुनावमा सघाउने बताएका छन् । सुनवर्षी नगरपालिकाको सीमावर्ती गाउँ हजगरहीका ६० वर्षीय मो। कमरुद्दिनले असुविधामै जीवन बिताएको बताए । ‘अब छोरानातिले पनि त्यो अवस्थामा जीवन गुर्जान नपरोस् भनेर सोच विचार गरेर मात्रै यसपालि भोट हाल्छु,’ उनले भने ।
रंगेली–७ का वसन्त पासमान दैनिक ज्याला मजदुरी गरेर जीवन चलाइरहेका छन् । उनले यसपालिको निर्वाचनमा आफ्ना छोरानातिको भविष्य सुरक्षित गर्नेलाई भोट हाल्ने सुनाए । ‘गरिबको घरमा जन्मिनु नै मेरो दोष हो त रु,’ उनले भने, ‘राम्रो शिक्षा र रोजगारी पाएको भए मेरो जीवनस्तर पनि उकासिन्थ्यो ।’ आफूजस्ता गरिब, दलित र सुकुम्बासीले अवसर नपाएरै यस्तो जीवन जिउन बाध्य भएको भन्दै उनले उन्नतिको अवसर जुराइदिनेलाई भोट हाल्ने सोच बनाएको बताए ।

 

 




सम्बन्धित समाचार


error: Content is protected !!