गम्भीर त्रुटी फेला

जाजकोट – विजेता घोषणा गरिसकेपछि पुनः विजेता नभएको खवर पाउँदा कस्तो हुन्छ होला ? जाजरकोटमा यस्तै एउटा घटना भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले निर्वाचनको परिणाम घोषणा गर्दा गंभिर त्रुटी गरेको पाईएको छ । बढी मत प्राप्त गर्नेलाई विजेता घोषणा नगरेर कम मत प्राप्त गर्नेलाई विजेता घोषणा गरिएको हो ।
भेरीनगरपालिका वडा नं २ को खुला वडा सदस्यमा बुधवार बलराम वलीलाई विजेता घोषणा गरिएको थियो तर बिहीबार त्रुटी भएको भन्दै पुर्णबहादुर खत्रीलाई विजेता घोषणा गरिएको छ । दुवै जना माओवादी केन्द्रबाट उम्मेदवार रहेका थिए । खुला सदस्यमा नेपाली काँग्रेसका तारालाल रोकाय र माओवादी केन्द्रका बलराम वलीलाई घोषणा गरिएको थियो । विजयी भएको भन्दै खुसीयाली सहित विजय उत्सव मनाईसकेका वलीको पद एक दिन नबित्दै खोसिएपछि उहाँ मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रति रोश प्रकट गर्नुहुन्छ ।
बलरामले ५१६ मत प्राप्त गरेको र उहाँ भन्दा दुई मत बढी अर्थात ५१८ मत ल्याएका पुर्णबहादुरलाई विजेता घोषणा गर्नु पर्नेमा कम्प्युटर टाईपमा गल्ती भएकोले पुनः मत परिणाम सच्याएर पुर्णबहादुर खत्रीलाई विजेता घोषणा गरेको मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले जानकारी दिनुभएको छ । हतारमा कतै केही त्रुटी भएको छ कि भनेर सबै मत परिणामको रुजु गर्दा यस्तो त्रुटी फेला परेको उहाँले बताउनु भएको छ ।










