रुकुममा आचारसंहिता उल्लंघन भएको भन्दै एमालेद्धारा आयोगमा उजुरी

मनिष खड्का, रुकुम
नेकपा (एमाले)ले रुकुममा निर्वाचन आचारसंहिता उलंघन भएको भन्दै निर्वाचन आयोगमा उजुरी गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत निर्वाचन आयोगमा विभिन्न ४ वटा कार्यहरु बन्द गर्नुपर्ने भन्दै उजुरी गरेको हो ।
उर्जामन्त्री जनार्दन शर्माले मुसीकोट र चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारको पक्षमा मत माग्न हिँडेको, नेपाल विद्युत प्राधिकरण अन्तर्गतका विजुलीका पोल तथा तारहरु वितरण गरी मतदातालाई प्रभावित पार्न खोजेको जस्ता उजुरी गरिएको एमाले जिल्ला उपसचिव तथा कार्यालय सचिव माधवप्रसाद गौतमले बताए ।
उनका अनुसार जिल्ला समन्वय समितिबाट पनि निर्वाचन आचारसंहिता विपरित उपभोक्ता समितिसँग सम्झौता गर्ने, ठूलो रकम निकासा गर्ने, खानेपानी तथा तारजाली वितरण गरी मतदाता प्रभावित पार्न खोजेको भन्दै यसका विरुद्धमा पनि उजुरी गरिएको छ ।
यसैगरी स्थानीय निर्वाचनको क्रममा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएलले क्याम्प सञ्चालन गरेको र त्यसलाई पनि रोक्न निर्वाचन आयोगस“ग आग्रह गरिएको एमालेले बताएको छ ।







