नलसिंहगाड जलविद्युत् कहिले बन्छ ?

जाजरकोट । जिल्लाका भेरी, नलगाड, सरुगाड, छेडागाड, मजकोट गाड, ताँत्रगाडलगायत जलाशययुक्त नदी तथा खोलाको पानी उपयोगविहीन छ । त्रिवेणी नलगाड नगरपालिका, छेडागार नगरपालिका र कुशे, बारेकोटमा पर्याप्त जलस्रोत छ । तर, यी गाउँरनगरका बासिन्दा भने दियालो र टुकीका भरमा छन् ।
गाउँका हुने खानेले सोलार उपयोग गरे पनि गरिब उही परम्परागत दियालो र टुकीकै भरमा रहेको सक्लाका मनबहादुर नेपालीले बताए । ‘सर्वसाधारण अँध्यारोमा बस्न बाध्य छन्,’ उनले भने, ‘खोलामा पानी खेर गइरहेको छ । उपयोग भएन । दर्जन नदी तथा खोलामा खेर गइरहेको पानीबाट जलविद्युत् निकाल्ने एजेन्डा बोकेको उम्मेदवारलाई भोट हाल्ने निर्णय गरेका छौं ।’ जलस्रोतको धनी जिल्ला भएर पनि ७ सय किलोवाट पनि बिजुली उत्पादन नभएको उनको भनाइ छ ।
बारेकोट गाउँपालिका र त्रिवेणी नलगाड नगरपालिकाअन्तर्गतको ४१० मेगावाटको नलसिंहगाड जलविद्युत् आयोजना पनि अलपत्रै छ । आयोजनाको जलाशययुक्त बाँध बारेकोट गाउँपालिका र पावरहाउस त्रिवेणी नलगाड नगरपालिकामा पर्छ । उम्मेदवारहरू भने घरघरमा खानेपानी, खेतबारीमा सिँचाइ, गाउँगाउँमा सडक निर्माण गरिदिने, कृषिमा आधुनिकीकरणलगायत सपना बाँड्न व्यस्त छन् । मतदाताले भने उम्मेदवारका यस्ता टालटुले सपनाप्रति विश्वास गर्न छाडेका छन् । अँध्यारोको सास्ती खेपिरहेका बारेकोट र त्रिवेणीका अधिकांश मतदाताले उम्मेदवारलाई सोध्ने गरेका छन्, ‘नलसिंहगाड जलविद्युत् आयोजनाको निर्माण कहिलेसम्म हुन्छ रु’
दलका नेताहरू भने अबको ५र७ वर्षमा नलगाड आयोजना निर्माण हुने बताउँछन् । यद्यपि यसबारे उनीहरूसँग स्पष्ट खाका भने छैन । नलगाडमा जलमाफियाको चलखेल बढेको देख्दा स्थानीय चिन्तित बनेका छन् । नलसिंहगाडको निर्माणले आर्थिक समृद्धि हुने आशा बोकेका जिल्लाका बासिन्दा कम्पनी मोडालिटीमा लैजाने निर्णयपछि झस्किएका छन् । दलका नेताहरूले दस वर्षमा आयोजना निर्माण हुन्छ भन्न थालेको समय पनि नाघिसकेको छ । पछिल्लो समय माफियाको चलखेलले विस्तृत अध्ययन प्रतिवेदन डीपीआर, जग्गा अधिकरण, वातावरणीय अध्ययन प्रतिवेदन, पूर्वाधार निर्माणलगायत कार्य प्रभावित भएको छ ।
कांग्रेस, माओवादी, एमाले र राप्रपाका उम्मेदवारहरूले नलगाड जलविद्युत् निर्माणलाई पहिलो एजेन्डा बनाएका छन् । त्यस्तै अन्य गाउँरनगरका मतदाताले पनि जलविद्युत् उत्पादनलाई प्रमुख माग बनाएका छन् । मतदाताले सडक सञ्जाल निर्माणपछि जलविद्युत् उत्पादनलाई प्राथमिकतामा राखेका हुन् । जाजरकोटमा ३ हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन क्षमताका नदी तथा खोला रहेको इन्जिनियर सूर्यबहादुर शाहीले बताए ।







