चारवटा केन्द्र महिलाको जिम्मामा

जुम्ला : स्थानीय तहको निर्वाचनका लागि जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटनपटनको काम सम्पन्न गरेको छ । ८७ वटा मतदान केन्द्र रहेको जुम्लामा चार मतदान केन्द्रमा महिला कर्मचारीलाई मतदान सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको सदरमुकामस्थित चन्दननाथ नगरपालिकाभित्रका तीन र पातारासी गाउँपालिकाको एउटा मतदान केन्द्रमा सबै महिला कर्मचारी खटाएको छ । चन्दननाथको जनता मावि महतगाउँ (क) र (ख), चन्दननाथ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र र पातारासी केन्द्रमा पुरै महिला कर्मचारीलाई मतदान सम्पन्न गर्ने जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
निर्वाचनका लागि चन्दननाथ नगरपालिकाभित्र खटाइएका जम्मा ९० जना कर्मचारीमध्ये ४५ जना महिला छन् । मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेका अनुसार जनतामावि महतगाउँ (क) मा जमुना मि श्र, महतगाउँ (ख) गोमा प्रसार्इं, चन्दननाथमा माध्यमिक विद्यालयमा डम्मरकुमारी रोकाया र पातरासी मतदान केन्द्रमा विन्दु कुँवरलाई मतदान अधिकृतका रूपमा खटाइएको छ । महिला मतदान अधिकृतले जिम्मेवारी पाएका सबै केन्द्रमा अन्य कर्मचारी पनि महिला नै खटाइएको अधिकृत न्यौपानेले बताउनुभयो ।
कर्मचारी खटनमा चलखेल भएको गुनासो
निर्वाचनका लागि कर्मचारी खटाउँदा व्यापक चलखेल भएको गुनासो आएको छ । जिल्लाभरका ८७ वटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी खटनपटनमा व्यापक चलखेल भएको कर्मचारी स्रोतले बताएको छ । कर्मचारी खटाउँदा मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले आफूनिकटका कर्मचारी मात्रै खटाएको जिल्ला समन्वय समितिका कर्मचारी बलिनाथ योगीको दाबी छ ।







