प्रदेश ६ मा २४१ मतदान केन्द्र अतिसम्वेदनशील

सुर्खेत । प्रदेश ६ मा स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै १६ हजार ४२७ बढी सुरक्षाकर्मी परिचालन भएका छन् । प्रदेश ६ का ७९ वटा स्थानीय तहहरुका ८९५ मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु परिचालन भएका हुन् ।
क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतको क्षेत्रीय सुरक्षा समितिका अनुसार नेपाल प्रहरी ५ हजार ३२५, सशस्त्र प्रहरी ३ हजार १७०, म्यादी प्रहरी ५ हजार ८०३ र राष्ट्रिय अनुसन्धानका १२९ जना सुरक्षाकर्मी खटिएका छन् । कतिपय मतदानस्थलहरुमा सुरक्षाकर्मी पुगिसकेका छन् भने केही जिल्लाहरुमा जानेक्रम जारी रहेको क्षेत्रीय कार्यालयले जानकारी दिएको छ ।
चौथो सुरक्षा घेरा पाएको नेपाली सेनाले करिव ९ हजारको संख्यामा सेनाहरु परिचालन गर्न लागेको स्रोतले जानकारी दिएको छ । क्षेत्रीय सुरक्षा समितिले नेपाली सेना निर्वाचनमा कति खटिदैँछ भन्ने थाहा नभएको बताएको छ । तर प्रदेश ६ का ४९ वटा गुल्म मध्य ८७ वटा ठाउँबाट सेना परिचालन हुने सुरक्षा समितिले जानकारी दिएको छ ।
प्रदेश ६ का १० जिल्लामा २५ नगरपालिका र ५४ वटा गाउँपालिकामा ८९५ वटा मतदानस्थल छन् । यी मध्य सुरक्षाको दृष्टिले २४१ अतिसम्वेशनशील, ३४६ सम्वेदनशील र ३३० मतदानस्थल सामान्य छन् । कुल ७ लाख ८३ हजार ४२३ मतदाता रहेको प्रदेश नम्बर ६ मा १२ हजार १५२ उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रदेशभरी २५÷२५ नगरप्रमुख र उपप्रमुख तथा ७१८ वडाअध्यक्ष निवाचित हुँदैछन् । तर यो प्रदेशमा १५५ जना निर्विरोध निर्वाचित भइसकेका छन् । निर्विरोध हुनेमा सवैभन्दा बढी डोल्पाका ११९ जना छन् । निर्वाचनमा १० प्रमुख निर्वाचन अधिकृत र ६९ जना निर्वाचन अधिकृत खटाइएको छ । अधिकाँश मतदान स्थलमा सुरक्षाकर्मी र मतदानस्थलमा खटिने कर्मचारीहरु सामग्री सहित पुग्ने क्रम जारी रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेतका क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्मा पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज बिहिबार साँझसम्म सम्वन्धित मतदानस्थलहरुमा सबै कर्मचारी पुगिसक्ने छन् । ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न सुरक्षा निकाय र कर्मचारीहरु व्यापक रुपमा परिचालन गरिएको क्षेत्रीय प्रशासक पौडेलले जानकारी दिनुभयो । कर्मचारीले मात्रै चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नसकिने बताएका पौडेलले स्थानीय राजनीतिक दलहरुलाई चुनाव सफल पार्न सहयोग गरिदिन अपिल समेत गनुभयो ।
६ नं प्रदेशमा सुरक्षा खतरा रहेका अधिकांश ठाउँवाट दर्जनौँ विप्लव नेतृत्वका नेकपा का कार्यक्रता समेत पक्राउ परेका छन् । चुनावलाई विथोल्नका लागि विभिन्न गतिविधीमा लागेको आरोपमा नेकपाका कार्यक्रता पक्राउ परेका छन् ।










