दोलखाको जुँगुमा एमाले र माओवादीबीच झडप हुँदा एमाले कार्यकर्ताको मृत्यु

श्याम खतिवडा
, दोलखा , दोलखाको गौरीशंकर गाउँपालिका स्थित जुँगुमा गएराति माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच भएको दोहोरो झडपमा एक जनाको ज्यान गएकोे छ ।
गौरीशंकर गाउँपालिका वडा नम्वर-१ जुँगुस्थित दहबारेमा भएको झडपमा ३३ वर्षीय एमाले निकट युवा संघका कार्यकर्ता कुल बहादुर तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
यसैगरी, झडपका क्रममा गौरीशंकर गाउँपालिका वडा नम्वर-२ घर भएका एमाले कार्यकर्ता दिल बहादुर बुढाथोकी गम्भीर घाईते भएका छन् । घाईते बुढाथोकीलाई गएराति नै थप उपचारका लागि काठमाण्डौँ लगिएको छ । दोहोरो झडपमा परि नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार भरत खड्का घाईते भएका छन् ।
नेकपा एमाले दोलखाले माओवादीले आफ्ना कार्यकर्तामाथि विनाकारण आक्रमण गरी ज्यान लिएको बताएको छ । घटनापछि जुँगुका मतदातामा त्रास फैलिएको छ । सो क्षेत्रमा अहिले व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । दोलखाका प्रहरी निरीक्षक प्रेम सागर केसीका अनुसार घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी प्रमुख रविन कार्कीको टोली घटनास्थल तर्फ लागेको छ ।



