जाजरकोटमा विप्लवका पाँच कार्यकर्ता प्रहरी नियन्त्रणमा

जाजरकोट – आगामी आइतबार हुँन गईरहेको स्थानीय तहको निर्वाचनलाई असर पर्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालयले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । आइतबार कुशे गाउँपालिका –५ का एरिया सदस्य कर्णबहादुर थापा, बलबहादुर मल्ल, जिल्ला सदस्य नवराज बिक, मानबहादुर बिक र त्रिवेणी नलगाड नगरपालिका –३ घर भई हाल भेरी नगरपालिका –३ बस्ने जिल्ला सचिवायलय सदस्य डम्बरबहादुर सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी अमर वली (अमृत) का अनुसार आगामी आइतबार हुँने स्थानीय तहको निर्वाचन बिथोल्ने र जनताको मताधिकार हनन् गर्ने आफ्नो पार्टीको कुनै निर्णय नभएको दाबी गरेका छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै आफ्ना कार्यकर्तालाई तुरुन्त रिहाइको माग गरेको छ । उक्त विज्ञप्तीमा भनिएको छ –हाम्रो आग्रहलाई वेवास्ता गरिए जस्तो सुकै परिस्थिति आउन सक्छ । त्यसको भागिदार राज्यपक्ष स्वयं हुनुपर्नेछ ।’
यता प्रहरी प्रमुख एवं डि.एस.पी. भावेश रिमालले आगामी आइतबार हुँने स्थानीय तहको निर्वाचनको विरोधका गतिविधी गर्न सक्ने भन्दै ती कार्यकर्तालाई आइतबार नै नियन्त्रणमा लिएको जानकारी दिए ।
उता भेरी नगरपालिका –१ रिम्नामा भने विप्लव समूहका कार्यकर्ताले केही दिन अगाडी स्थानीय तहको निर्वाचन आवश्यक छैन र जनमुखी निर्वाचन नभएको भन्दै प्रचार–प्रसारका पर्चा, पम्पलेट च्यातेको प्रहरीले जनाएको छ ।



