रुकुममा ५६ को उम्मेदवारी फिर्ता, ७ को रद्द

मनीष खड्का, रुकुम
स्थानीय निर्वाचनका लागि रुकुमबाट उम्मेदवारी दिएका ५६ जनाले नाम फिर्ता लिएका छन् भने ७ जनाको उम्मेदवारी रद्द भएको छ । नगर उपप्रमुख, गाउँपालिका प्रमुख, वडा प्रमुख, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यका लागि उम्मेदवार दिएका जिल्लाका ६ स्थानीय तहका ५६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
उमेर नपुगेका तथा एउटै पार्टीबाट एउटै पदका लागि २ उम्मेदवारी दिएका ७ जनाको उम्मेदवारी रद्द भएको मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ६ स्थानीय तहमा कुल ३ सय ७२ पदका लागि १ हजार १ सय ८६ जनाको उम्मेदवारी परेको थियो । अब कुल पदका लागि १ हजार १ सय २३ जनाले प्रतिस्पर्धा गर्नेछन् । यीमध्ये २ जना महिला दलित सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
मुसिकोटबाट मात्रै १३ को उम्मेदवारी फिर्ता
मुसिकोट नगरपालिकामा कुल ७२ पदका लागि २ सय ४३ जनाको उम्मेदवारी परेकामा १३ जनाले फिर्ता लिएको मुख्य निर्वाचन अधिकारी डण्डपाणि शर्माले बताए । मतदाताका हिसाबले जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह मुसिकोटमा अब ७२ पदका लागि २ सय ३० जनाबीच प्रतिस्पर्धा हुनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब मुसिकोटबाट कुनै पनि स्वतन्त्र उम्मेदवारले चुनाव लड्नेछैनन् ।
आठबिसकोट नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी ७२ पदका लागि २ सय २४ जनाको उम्मेदवारी परेकामा ८ जनाले फिर्ता लिएका छन् भने १ जनाको उम्मेदवारी रद्द भएको छ ।आठबिसकोटमा अब २ सय १५ जनाले चुनाव लड्ने निर्वाचन अधिकृत ईश्वरीप्रसाद पौडेलले जानकारी दिए ।
चौरजहारीमा २२३ उम्मेदवार
यस्तै चौरजहारीको नगर प्रमुख, उप्रमुख, वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी ७२ जनाको लागि २ सय २६ जनाको उम्मेदवारी परेकामा २ जनाले फिर्ता लिएको र १ जनाको उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृत परमानन्द घिमिरेले जानकारी दिए । अब २ सय २३ जनाले चुनाव लड्नेछन् ।
बाँफिकोट गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, सदस्य, महिला सदस्य र महिला दलित सदस्य गरी ५२ पदका लागि हुन लागेको निर्वाचनका लागि १ सय ७६ जनाले उम्मेदवारी दिएकामा १६ जनाले उम्मेदवार फिर्ता लिएका छन् । यहाँबाट एकजनाको उम्मेदवारी रद्द भएको छ । उम्मेदवारी फिर्ता लिनेमा संघीय समाजवादी फोरम नयाँ शक्ति नेपालको तर्फबाट अध्यक्षका उम्मेदवार लोकमान पुन र स्वतन्त्रबाट गाउँपालिका अध्यक्षको उम्मेदवारी दिएका वीरभान पुरीलगायतले नाम फिर्ता लिएको निर्वाचन अधिकृत जनकराज पन्तले जानकारी दिए ।
सानीभेरीबाट १२ को उम्मेदवारी फिर्ता
सानीभेरी गाउँलपालिकाबाट संघीय समाजवादी र नयाँ शक्ति पार्टीको तर्फबाट सयुंक्त रूपमा गाउँपालिका प्रमुखका लागि उम्मेदवार दिएका देवबहादुर कामीसहित १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । भने २ जनाको उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृत बाबुराम दाहालले जानकारी दिए । ५२ पदका लागि कुल १ सय ६२ जनाले उम्मेदवारी दिएकामा अब १ सय ४८ जनाले चुनाव लड्नेछन् ।
अन्तिम नामावली शुक्रबार प्रकाशित हुने
त्रिवेणी गाउँपालिकाबाट ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने २ जनाको उम्मेदवारी रद्द भएको छ । ५२ पदका लागि कुल १ सय ५५ जनाले उम्मेदवारी दिएकामा अब १ सय ४७ जना चुनावी मैदानमा उत्रने निर्वाचन अधिकृत नवीनकुमार जोशीले जानकारी दिएका छन् । जिल्लाबाट चुनाव लड्ने उम्मेदवारको अन्तिम नामावली भने शुक्रबार प्रकाशन गरिनेछ ।



