हिमपातले कर्मचारी अलपत्र

डोल्पा , सदरमुकाम दुनैबाट चुनावका लागि तिब्बत सीमाका गाउँपालिकामा गएको कर्मचारी र सुरक्षाकर्मीसहितको टोली बाटोमै अलपत्र परेको छ । हिमपात र वर्षाका कारण तोकिएका ठाउँमा पुग्न नसकेपछि उम्मेदवारी दर्तामा विलम्ब हुने सम्भावना छ । निर्वाचन कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

हिमपात भइरहेकाले डोल्पाका उत्तरी क्षेत्रका सर्वसाधारणलाई मतदान गर्न समस्या हुने स्थानीयले बताए । शे–फोक्सुन्डो गाउँपालिकामा निर्वाचन गराउन पैदल गएका कर्मचारी हिमपातले धो गाउँमा रोकिएका छन् । त्यहाँ पुग्न ५ हजार १ सय मिटर अग्लो लेक पार गर्नुपर्छ । पाँच दिनअगावै निर्वाचन कर्मचारी पैदल गएका थिए ।
क्षेत्रीय प्रशासक डेगेन्द्रराज पौडेलले हिमपातका कारण कर्मचारीहरू त्यहाँ पुग्न नसकेपछि हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको बताए । ‘निर्वाचन आयोग र गृहमन्त्रालयसँग हेलिकप्टरका लागि कुराकानी भइरहेको छ । सम्भवत: उम्मेदवारी दर्ता हुने समयसम्म कर्मचारी पुग्नेछन्,’ उनले भने, ‘कर्मचारी पुग्न सम्भव नभए उम्मेदवारी दर्ता गर्ने विकल्प खोजिसकेका छौं । स्थानीय सरकारी कर्मचारीलाई उम्मेदवारी दर्ताको अधिकार दिन सकिन्छ ।’ यस्तै तिब्बत सीमाका डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा पनि हिमपात भएकाले निर्वाचनका कर्मचारीलाई त्यहाँ पुग्न समस्या भएको छ । छार्काताङसोङका लागि गएको निर्वाचन टोली सेरीमा रोकिएको छ । हिमपात रोकिएपछि कर्मचारीहरू त्यहाँ पुग्ने विश्वास गरिएको छ । ‘आज रातभरि हिँडेर निर्वाचनको टोली मंगलबार बिहानसम्म ती गाउँपालिकामा पुग्नेछन्,’ क्षेत्रीय प्रशासक पौडेलले भने, ‘अरू गाउँपालिकामा समस्या छैन । सबैभन्दा समस्या शे–फोक्सुन्डोमा भएको छ ।’
शे–फोक्सुन्डो गाउँपालिकाको निर्वाचन अधिकृतको टोली दुई दिनदेखि धोमै रोकिएको हो । धोबाट साल्दाङ जाने क्रममा काङ्ला पास कट्न नसक्ने गरी हिउँ जमेकाले टोली रोकिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताए । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरू जिल्ला पुग्न ढिलो हुँदा निर्वाचन अधिकृत पनि माथिल्लो डोल्पा पठाउने दिन लम्बिएको थियो ।
काइके गाउँपालिका, ठूलीभेरी नगरपालिका, जगदुला गाउँपालिकाका उच्च बस्तीहरूमा समेत हिमपात भएको छ । यी सबै गाउँपालिकामा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन् । त्यसबाहेक निर्वाचनका लागि सबै तयारी पूरा भइसकेको क्षेत्रीय प्रशासनले जनाएको छ । सुरक्षाकर्मीहरू तैनाथ भइसकेका छन् । स्थानीय तह निर्वाचनका लागि कर्णालीका जिल्लाहरूमा मददाता नामावलीलगायतका सामग्री जहाजमार्फत पुर्‍याइएको छ ।

 





error: Content is protected !!