उम्मेदवार बन्न दल परिवर्तन क्रियाशील रहँदै आएको दलबाट स्थानीय चुनावमा टिकट नपाउने देखेपछि अर्कोमा जाने होडबाजी

जाजरकोट, बारेकोट गाउँपालिका ८, सेपुखोलाका दिलबहादुर नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गरे । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका उनले उक्त दलबाट वडा प्रमुख पदमा टिकट नपाउने सम्भावना देखेपछि दल फेरेका हुन् । एमालेले उनलाई सोही वडा प्रमुखको उम्मेदवार बनाउने भएको छ ।

जुनीचाँदे गाउँपालिका ९, कल्लीका नरजित शाही हालै माओवादी केन्द्रमा प्रवेश गरे । नेपाली कांग्रेसका जिल्ला पूर्वसचिव तथा साबिकको दह गाविसका पूर्वअध्यक्षसमेत रहेका शाहीले पनि कांग्रेसबाट गाउँपालिका प्रमुखको टिकट पाउने निश्चित नदेखेपछि यस्तो निर्णय लिएका हुन् ।
शिवालय गाउँपालिका ३, राग्माका लालबहादुर थापा पनि माओवादी केन्द्रमा गएका छन् । पार्टी छाड्नुअघि एमाले जिल्ला कमिटी सदस्य रहेका उनी साबिकको सीमा गाविसका पूर्वअध्यक्ष पनि हुन् । थापालाई माओवादी केन्द्रले उक्त गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएको छ ।
आफू विगतदेखि क्रियाशील रहँदै आएको पार्टीबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने देखेपछि अर्को पार्टीमा प्रवेश गर्ने होडबाजी नै चलेको छ यतिखेर । वडादेखि गाउँपालिका तथा नगरपालिकाको प्रमुख पदका उम्मेदवार आकांक्षीले दल फेर्ने क्रम ह्वात्तै बढेको छ । जिल्लामा ४ गाउँपालिका र ३ नगरपालिका छन् । उम्मेदवार बन्नकै लागि दल परिवर्तन गर्नेको संख्या ३ दर्जनभन्दा बढी रहेको कांग्रेस जिल्ला सचिव खडग बीसीले बताए । चुनावको मुखमा आएर दल परिवर्तन गर्नेहरू अवसरवादी रहेको उनले आरोप लगाए । ‘प्रतिबद्ध कार्यकर्ताले दल परिवर्तन गर्ने कुरा हुँदैन । पदका लोभी तथा अवसरवादीले उम्मेदवार बन्न हानथाप गर्ने र मौका नपाए दल परिवर्तन गर्ने गरेका छन्,’ उनले भने ।
नयाँ शक्ति नेपालका जिल्ला संयोजक तथा सदस्यलगायत थुप्रै नेता कार्यकर्ता चुनावकै लागि माओवादी केन्द्र फर्किएका छन् । नयाँ शक्तिका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक इन्द्रप्रसाद शर्मा, केन्द्रीय सदस्य केशव थापा, छेडागार नगरपालिका इन्चार्ज कृष्ण बुढा, युवा संगठनका संयोजक लोकेन्द्र महरलगायतले पार्टी बदलेका हुन् । नयाँ शक्तिमा अवसर र संरक्षण नभएकाले माओवादी केन्द्र फर्किएको शर्माले बताए ।

चुनावमा उठ्न राजीनामा
स्थानीय चुनावमा उठ्न जाजरकोटका दर्जन शिक्षकले राजीनामा दिएका छन् । जिल्ला शिक्षा कार्यालयमा बुझाएको राजीनामा पत्रमा शिक्षकले घरायसी समस्या तथा स्वास्थ्यलाई कारण देखाए पनि उनीहरूले वडापालिका र गाउँपालिकामा चुनाव लड्न जागिर छाडेका हुन् । राजीनामा दिनेमा कुशे गाउँपालिकाअन्तर्गत नेपाल राष्ट्रिय आधारभूत विद्यालय समकोटका प्रेमप्रसाद घर्ती, नेपाल राष्ट्रिय प्रावि साङ्टाकी शिक्षिका देवीका सिंह, मान्नेढुङ्गा प्रावि टालेगाउँका पृथ्वीबहादुर सिंह, भेरी नगरपालिकाअन्तर्गत जनता प्रावि पोखराकी कौशिलावती खत्री, बारेकोट गाउँपालिकाअन्तर्गत विश्व प्रावि सेपुखोलाका दिलबहादुर नेपाली, छेडागार नगरपालिकाअन्तर्गत चन्द्र ज्योति आधारभूत विद्यालय सिरुगाडका प्रेमबहादुर खत्री, शान्ति प्रावि राजीकोटकी प्रधानाध्यापक रेश्मा शाही, जनशक्ति आधारभूत विद्यालय सुवानाउलीका रामबहादुर खत्री, शिवालय गाउँपालिकाअन्तर्गत इन्द्रज्योति मावि थालारैकरका नरेन्द्रकुमार शाही, त्रिवेणी नलगाड नगरपालिकाको सूर्यदय माध्यमिक विद्यालय कैनाका प्रचण्ड ओली छन् । उनीहरूको राजीनामा स्वीकृत भइसकेको र चुनावकै लागि जागिर छाड्ने शिक्षकको संख्या अझ बढ्न सक्ने जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । राजीनामा दिने शिक्षकमध्ये नरेन्द्रकुमार एमालेबाट शिवालय गाउँपालिकाको र प्रेमप्रसाद एमालेबाटै कुशे गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार बन्ने तयारीमा छन् । रेश्मा छेडागाड नगरपालिकामा कांग्रेसबाट उपप्रमुख र देवीका सिंह कांग्रेसबाटै कुशे गाउँपालिकाको ९ नं वडा अध्यक्ष पदमा उम्मेदवार बन्ने भएकी छन् । त्यस्तै, प्रचण्ड ओली माओवादी केन्द्रबाट त्रिवेणी नलगाड नगरपालिकाको ३ नं वडा, पृथीबहादुर माओवादी केन्द्रबाटै कुशे गाउँपालिकाको २ नं वडा र दिलबहादुर नेपाली एमालेबाट बारेकोट गाउँपालिका ८ नं वडाको अध्यक्ष उम्मेदवार बन्ने भएका छन् । राजीनामा दिनेमा ४ स्थायी र ६ अस्थायी शिक्षक रहेको जिशिअ सिंहले जानकारी गराए ।





error: Content is protected !!