ओलीले प्रधानमन्त्रीसँग माग्नुभयो लिखित सहमतिको दस्तावेज

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनसँग भएको सहमतिको लिखित दस्तावेज प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग्नु भएको छ।
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक रोकेर भक्तपुरको बालकोटस्थित ओलीको निवासमा पुग्नु भएका प्रधानमन्त्री प्रचण्डसँग ओलीले सहमतिको लिखित दस्तावेज भाग्नु भएको हो। तर, सत्ता पक्ष र मधेसवादी दलहरुबीच स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने र परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव संसदमा लैजाने शनिवार राति मौखिक सहमति भएको थियो।
प्रधानमन्त्री प्रचण्डले मोर्चा र संघीय गठबन्धनसँग दुई चरणमा निर्वाचन गर्ने, परिमार्जनसहित संविधान संशोधन गर्ने वारेमा शनिवार भएको सहमतिको जानकारी गराउनु भएको अध्यक्ष ओलीले पत्रकारहरुलाई जानकारी दिनुभयो। ‘प्रधानमन्त्री प्रचण्डजीले मोर्चासँग हिजो भएको सहमतिबारे मौखिकरुपमा जानकारी गराउनु भयो। त्यो बाहेक अरु कुरा केही भएको छैन। मैले परिमार्जनसहितको संविधान संशोधनको लिखित दस्तावेज दिनुस् अध्ययन गरेर समर्थन वा विरोध के गर्ने भन्नेबारे आधिकारिक धारणा तय गर्छौं भनेको छु,’ प्रचण्डसँगको छलफलपछि ओलीले भन्नुभयो।
ओलीले एमालेले सहमति भएका विषयमा अध्ययन नै नगरेकाले विरोध वा समर्थन के गर्ने भन्नेबारे अहिले नै मुख नखोल्ने बताउनुभयो। उहाँले भन्नुभयो,‘दस्तावेज हात परेपछि अध्ययन गरेरमात्रै हामीले आधिकारिक धारणा तय गर्छौं।’ ओलीले आफूहरु पनि मधेसवादी दलहरुलाई चुनावमा ल्याउनु पर्छ भन्ने पक्षमै रहेकाले चुनाव दुई चरणमा गर्ने विषयमा आफूहरु तयार नै रहेको बताउनुभयो।



