तपाईँको जिल्लामा कस्तो हुन्छ मतपत्र? हेर्नुस् ७५ जिल्लाको नमूना मतपत्रमा के छन् चुनाव चिह्न

काठमाडौं : निर्वाचन आयोगले ७५ जिल्लामा प्रयोग हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले जिल्लागत मतपत्रको ढाँचा बुधबार सार्वजनिक गरेको हो। आसन्न स्थानीय तह निर्वाचनका लागि संसदमा प्रतिनिधित्व गर्ने २७ दलको चुनाव चिह्न यथावत छ। ती बाहेक अन्य दलले स्वतन्त्रको हैसियतमा चुनाव चिह्न पाउनेछन्। संसदका रहेका २७ दलले आफ्नो चुनाव चिह्न अनुसार मत माग्ने काम सुरु गरिसेकेका छन्। ती बाहेक अन्य दलले चुनाव चिह्न नपाउँदा भोट माग्ने काम प्रभावकारी रुपमा सञ्चालन गर्न सकेका छैनन्। स्वतन्त्र दललाई दिने चुनाव चिह्नलाई निर्वाचन आयोगले ‘क’ देखि ‘च’ सम्म वर्गीकरण गरी ती मध्ये एउटा चुनाव चिह्न वैशाख १६ गते उम्मेदवारी मनोनयनका क्रममा उपलब्ध गराउनेछ। ‘संसदमा रहेका बाहेकका दललाई आयोगले उम्मेदवारी मनोनयनका दिन निर्वाचन चिह्न उपलब्ध गराउँछ,’ आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने। स्थानीय तह निर्वाचन ऐनले नै निर्वाचन आयोगमा दर्ता भएका मध्ये संसदमा प्रतिनिधित्व गर्ने २७ दलबाहेक अन्यले स्वतन्त्र दलको हैसियतमा निर्वाचन चिह्न प्राप्त गर्नेछन्। आफ्नो विधानमा उल्लेख भएको निर्वाचन चिह्न नपाएको भन्दै दलहरु आन्दोलनमा भएपनि निर्वाचन आयोगले ऐनमा टेकेर गरिएको निर्णय परिवर्तन गर्न नसक्ने बताइसकेको छ। दलको जिल्लागत सक्रियताको सूची संकलन गरिसकेकाले आयोगले ती स्वतन्त्र चिह्न समेत मतपत्रमा राखेको छ। संसदमा प्रतिनिधित्व गर्ने २७ दलबाहेक अन्यलाई स्वतन्त्रको हैसियतमा चुनाव चिह्न दिनेछ।



