निर्वाचन गतिविधिः देशभर आज के के भए ?

काठमाडौं– स्थानीय तहको निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ । केही दिन मात्र बाँकी रहँदा निर्वाचनमा दलहरुको सक्रियता बढ्दै गएको छ । निर्वाचन प्रचारप्रसारका लागि राजनीतिक दलका नेता कार्यकर्ता गाउँ गाउँमा परिचालन भएका छन् ।
निर्वाचनको मुखमा विहीबार मात्रै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध सात दलमध्ये ६ दलबीच पार्टी एकता घोषणा गरिएको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम भने नयाँ शक्ति पार्टीसँग एकता गर्ने तयारी गरेकाले यो एकतामा सहभागी भएन । तराईमा आन्दोलन गर्दै आएका ६ दलबीच एकता भई राष्ट्रिय जनता पार्टी गठन गरिएको छ ।
मत हाल्न जान दुई दिन खर्चिनु पर्ने
बाजुराको सर्वाधिक विकट बिच्छँया गुम्बा गाउँका स्थानीय बासिन्दालाई भने स्थानीय तहको निर्वाचनमा भोट हाल्न दुई दिन खर्चिनुपर्ने भएका छ ।
विसं २०७० को दोस्रो संविधानसभाको चुनावमा बाजुराको सर्वाधिक विकट बिच्छँया गुम्बा गाउँका स्थानीय बासिन्दाले आफ्नै गाउँमा मतदान केन्द्र हुनुपर्ने माग गरेका थिए । मतदान गर्न खाद्यवस्तु बोकेर जानुपर्ने बाध्यता रहेको भन्दै उनीहरूले त्यतिखेर गाउँमा मतदान केन्द्र हुनुपर्ने माग राखेका थिए ।
गाउँको राजनीतिक पहुँच कम भएकाले त्यो बेला कसैले गुनासो नसुनेको उनीहरू बताउँछन् । मतदान गर्न अप्ठ्यारो भन्ने सूचना सार्वजनिक भएपछि दोस्रो संविधानसभाको चुनावमा तत्कालीन निर्वाचन आयोगका प्रवक्ता डा अयोधीप्रसाद यादवले समस्या भएमा मतदान केन्द्र थप्न सकिने, यो पटक नभए अर्को चुनावमा थपिदिने आश्वासन दिएको उनीहरु सम्झन्छन् । डा यादव अहिले निर्वाचन आयोगका मुख्य आयुक्त छन् ।
त्यस्तै, जिल्ला निर्वाचन कार्यालय बाजुराका तत्कालीन निर्वाचन अधिकारी पद्मबहादुर राउतले गुम्बाको समस्याका बारेमा राजनीतिक दलले आफूहरूलाई कुनै जानकारी दिएनन्, आफू नयाँ भएकाले केही जानकारी नहुँदा यो वर्ष नसकिने भनेर असमर्थता प्रकट गरेका थिए । उनले त्यो बेला अर्को पटकको चुनावको बेला गाउँमै मतदान केन्द्र स्थापना गर्ने स्थानीयवासीलाई आश्वासन दिएका थिए ।
अहिलेको स्थानीय चुनावमा गाउँमै मतदान केन्द्र हुनेमा गुम्बावासी ढुक्क थिए । तर जिल्लास्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला प्रहरी कार्यलय र जिल्ला निर्वाचन कार्यालयका प्रमुखको मतदान केन्द्र सिफारिस समितिले यो वर्ष पनि सिफारिस नगर्दा पुरानै समस्या भोग्न बाध्य भएका छन्, उनीहरू ।
बाजुराबाट करिब ४५ कोस टाढा रहेको यो गाउँका बारेमा अहिले पनि कसैले सोचेका छैनन् । जिल्ला निर्वाचन अधिकारी सुभद्रा गौतमले पनि यो वर्ष ढिला भयो, अब अर्को पटक सिफारिस गर्ने मात्र विकल्प रहेको बताए । आफूलाई बाजुराको भौगोलिक विकटताका बारेमा कुनै जानकारी नभएको र बल्ल अहिले मात्र थाहा पाएको उनी बताउँछन् ।
मतदान केन्द्र स्थापनाका बारेमा जिल्लास्थित राजनीतिक दल र नागरिक समाजको सहमति रहेको गौतमको भनाइ छ । मतदाता कम भएकाले पनि मतदान केन्द्र स्थापना गर्न नसकिएको भनेर कार्यालय पन्छिरहेको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पनि अहिले ढिला भइसकेको बताउँछन् । अब अर्को पटक विचार गर्न सकिने निर्वाचन आयोगको भनाइ छ । साविकको बिच्छँया–१ र अहिले हिमाली गाउँपालिका–३ गुम्बा गाउँका बासिन्दालाई स्थानीय चुनावमा मतदान गर्न दुई दिन समय खर्च गर्नुपर्ने भएको छ ।
गुम्बा गाउँमा २६ परिवार बसोबास गर्ने भए पनि निर्वाचन कार्यालयले भने हिमाली गाउँपालिका–३ मा रहेको गङ्गा निमावि बौडीमा मतदान केन्द्र स्थापनाका लागि सिफारिस गरेको छ ।
वडा नं ३ गुम्बा गाउँमा २८ जना मतदाता रहेका छन् । मतदान केन्द्रमा एक दिन लगाएर पुग्नुपर्ने भएपछि गुम्बा गाउँका अधिकांश जनता मतदान गर्नबाट वञ्चित हुने स्थानीय छिरिङ कुँवरले बताए । गाउँमा तीन जना ६० वर्षभन्दा माथिका बूढापाका रहेका छन् भने सात जना महिला मतदाता छन् । बाजुरामा ६४ हजार ९४९ मतदाता रहेका छन् भने ६९ मतदान केन्द्र स्थापनाका लागि सिफारिस गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
कास्कीमा १५० मतदानस्थल, २८८ मतदान केन्द्र
आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी कास्कीमा १५० मतदानस्थल र २८८ मतदान केन्द्र कायम गरिएको छ । तेत्तीस वडा भएको पोखरा–लेखनाथ महानगरपालिकामा २१०, ११ वडा भएको अन्नपूर्ण गाउँपालिका, ९ वडा भएको माछापुच्छ«े गाउँपालिका र १२ वडा भएको मादी गाउँपालिकामा २१/२१ र सात वडा रहेको रुपा गाउँपालिकामा १५ मतदान केन्द्र कायम भएको क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिए ।
निर्वाचन आयोगले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार जिल्लामा दुई लाख २४ हजार ८११ मतदाता छन् । कुल मतदातामा पाँच जना तेस्रो लिङ्गी पनि समावेश छन् । कार्यालयले गत वर्षको पुस १० देखि माघ १५ गतेसम्म टोली खटाइ फोटोसहितको मतदाता नामावली सङ्कलन गरेको थियो । जसबाट चार हजार ३८५ नयाँ मतदाता थपिएका थिए ।
महानगरपालिकामा एक लाख ६८ हजार ६७, अन्नपूर्णमा १५ हजार ५६९, माछापुच्छे«मा १६ हजार ३०१, मादीमा १३ हजार ५५९ र रुपामा १३ हजार ३१६ मतदाता छन् । दोस्रो संविधानसभाको निर्वाचनमा जिल्लाका एक लाख ९७ हजार ६६८ मतदाताले मतदान गरेका थिए । निर्वाचनबाट जिल्लामा कुल ३८१ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
महानगरमा एक प्रमुख एक उपप्रमुख, चार गाउँपालिकामा चार अध्यक्ष÷चार उपाध्यक्ष,महानगर र गाउँपालिकामा ७२ वडाध्यक्ष, १४४ वडा सदस्य, ७२÷७२ महिला सदस्य र दलित महिला सदस्य निर्वाचित हुनेछन् भने नगरसभा र गाउँसभाले ११ जना दलित र अल्पसङ्ख्यकबाट मनोनीत गर्ने प्रावधान रहेको छ ।
महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउन पार्टी नै बाधक
देशका महत्वपूर्ण अङ्ग महिलाले नेतृत्व गर्दै आइरहेका बेला स्थानीय तहको निर्वाचनका लागि गोरखामा प्रमुख पदमा महिलाको चर्चा कम छ । पार्टीका उच्चतम पदमा बसेर नेतृत्व गरिसकेका महिला पनि प्रमुख पद (नगर प्रमुख, गाउँपालिका प्रमुख र वडाध्यक्ष) मा उम्मेदवार बन्न लालायित छैनन् ।
नेपाल महिला सङ्घ गोरखाकी अध्यक्ष मनकुमारी गुरुङलाई सिरानचोक गाउँपालिका प्रमुखमा उम्मेदवारी दिन कार्यकर्ताको चर्को दबाब छ तर उन प्रदेश निर्वाचनमा उम्मेदवार हुने सोचमा हुनुहुन्छ । सिरानचोकमा जनजातिको बाहुल्यता रहेको र पढेका नेता भएकाले पनि गुरुङलाई गाउँपालिकामा उठ्न चर्को दबाब थियो ।
अखिल नेपाल महिला सङ्घकी नेत्री सम्झना देवकोटालाई गोरखा नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्न कार्यकर्ताको दबाब थियो । देवकोटालाई नेकपा (एमाले)को भावी जिल्ला अध्यक्षको रुपमा हेरिएकाले पछिल्लो चरण पार्टीबाटै मेयरभन्दा पनि पार्टीका लागि समय दिन सङ्केत आएको स्रोतको भनाइ छ ।
नेकपा (माओवादी केन्द्र)की नेत्री तथा जेल तोडेकी कमला नहर्की गोरखा नगरपालिकाको प्रमुख पदमा आकांक्षी रहे पनि पार्टीले जिल्ला अध्यक्ष लेखबहादुर थापालाई उम्मेदवार बनाउने चर्चा छ । मेयरमा चर्चामा आएका पार्टीका नेता कृष्णराना नहर्कीभन्दा कनिष्ठ रहेकाले वरिष्ठ नेता थापालाई मेयरको टिकट दिएर उपप्रमुखमा नहर्कीलाई टिकट दिने माओवादीले तयारी गरेको स्रोत बताउँछ ।
गोरखा नगरपालिकाको नगर प्रमुख पदमा नेपाली काँग्रेसबाट महिला नेताको चर्चासम्म पनि भएन । नगर कार्यसमितिले नगर प्रमुख तथा उमप्रमुखमा उम्मेदवारीका लागि दरखास्त आह्वान नै गर्दा पनि महिला नेत्रीले प्रमुख पदमा उम्मेदवारी दिएनन् । उपप्रमुख पदका लागि जिल्ला सदस्य तथा नेपाल महिला सङ्घकी नगर अध्यक्ष बिना श्रेष्ठ र नेपाल महिला सङ्घ क्षेत्र नं १ अध्यक्ष मसलीमाया थोकरले दरखास्त बुझाएको नगर सभापति चन्दनबाबु खत्रीले जानकारी दिए । गोरखा नगरपालिकाको १४ वटा वडाका वडाध्यक्षमा पनि पुरुष नेताकै हालीमुहाली छ । महिलाले प्रमुख पदमा उम्मेदवार बन्ने आकांक्षा देखाएनन् ।
गोनपाको नगर प्रमुखका लागि काँग्रेसबाट महासमिति सदस्य राजनराज पन्त, क्षेत्र नं १ का सभापति धीरन थापा, पूर्व कोषाध्यक्ष भूगोल थापा, नेपाल पत्रकार महासङ्घ गोरखा शाखाका संस्थापक अध्यक्ष किशोरजङ थापा, पार्टी नेता ईश्वर परियार, हरि गान्धारी, प्रवीण तिवारीको नाम चर्चामा रहे पनि राजन र धीरनमध्ये एकलाई पार्टीले टिकट दिने पार्टी स्रोत बताउँछ ।
एमालेमा मेयरका लागि जिल्ला उपाध्यक्ष यादव बस्नेत, पूर्व मेयर विश्वेश्वर कट्टेलको चर्चा छ । यस्तै, उपमेयरमा सानुमाया बस्नेत र नानुमाया थापाको चर्चा सुनिन्छ । एमालेमा पनि मेयरका लागि महिला नेत्रीले आकांक्षा देखाएका छैनन् । पार्टी नेतृत्वले जुन पदमा उम्मेदवारी दिन भन्छ त्यही पदमा उम्मेदवारी दिने सुरमा महिला नेत्री रहेको बताइएको छ ।
काँग्रेस, एमाले र माओवादी केन्द्रले मात्रै होइन राप्रपा तथा नयाँ शक्ति पार्टीबाट पनि नगर प्रमुखमा पुरुष नेता मात्रै उम्मेदवारको चर्चामा छन् । उपप्रमुखमा भने महिला नेत्रीको पनि चर्चा सुनिन्छ । प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने नियम भएकाले पनि दलहरूले बाध्य भएर उपप्रमुखमा महिला नेत्रीलाई उम्मेदवारी दिने चर्चा चलाएका हुन् भन्ने पनि छन् ।
गोनपाको मेयरका लागि नयाँ शक्तिबाट पूर्वसभासद् ज्ञानेन्द्र कुमाल र उपप्रमुखमा पार्टी नेत्री पूर्णमाया वन्तको नाम बाहिर आएका छन् । तर वन्तले आफू उपमेयरको लागि आकांक्षी नभएको जानकारी दिएका छन् । राप्रपाले नगर प्रमुखमा जिल्ला अध्यक्ष रुद्रराज पाण्डेलाई अघि सारेको छ ।
यस्तै उपप्रमुखमा सम्झना लामिछाने र राममाया केसीको नाम चर्चामा छ । राप्रपामा पनि प्रमुख पदमा महिला नेत्रीले दाबी गरेका छैनन् । दुई वटा नगरपालिका र नौ वटा गाउँपालिका रहेको गोरखामा पार्टीले प्रमुख वा उपप्रमुख कसलाई टिकट दिने भन्ने टुङ्गो लगाउन सकेका छैनन् । वडा, क्षेत्र हुँदै आकांक्षीको सूची जिल्लामा आए पनि जिल्लाले टुङ्गाउन नसकेपछि केन्द्र पठाउने तयारी दलहरूमा छ । आकांक्षी धेरै भएको र लोकप्रिय उम्मेदवार हुन् भन्ने छनोट गर्न नसक्दा टिकट दिन पार्टीका शीर्ष नेतालाई सकस छ ।
पालुङटार नगरपालिकामा पनि मेयरका लागि महिलाको चर्चा छैन । काँग्रेसबाट नगर सभापति दीपकबाबु कँडेल, नारायण गुरुङ, बलराम खड्का र गेहेन्द्रराज विष्टको नाम मेयर पदका लागि चर्चामा रहे पनि कँडेल वा गुरुङमध्ये एकले टिकट पाउने काँग्रेस स्रोतको भनाइ छ । उपप्रमुखमा नेत्री चेतकुमारी श्रेष्ठ र राधा पन्थी मैदानमा छन् ।
एमालेले पनि मेयरका लागि पार्टीका नेता जुद्धविलाश भण्डारी र ओम बराकोटीलाई अघि सारेको छ । उपमेयरमा मात्रै महिला नेत्रीको चर्चा रहेको छ । उपमेयरका लागि भन्दै एमालेले इन्दिरा देवकोटा र गम्भिरा बराकोटीलाई अघि सारे पनि कसलाई टिकट दिने भन्ने निर्णय भइसकेको छैन ।
माओवादी केन्द्रले पानपा प्रमुखमा गुणराज देवकोटा र खोपबहादुर कँडेलको नाम चर्चामा ल्याएको छ । महिला नेत्री बन्दना पाण्डे, दुर्गा तिवारी, पम्फा बसेल उपप्रमुखका लागि चर्चामा आएका नाम हुन् । महिला नेत्रीले पनि मेयर पदमा आकांक्षा देखाएका छैनन् ।
राप्रपाले पानमा प्रमुखमा सुशील पन्त र उपप्रमुखमा राधिका कुमाललाई अघि सारेको छ । नयाँ शक्तिबाट पानपा प्रमुखमा हरिशरण आचार्य, उमाकान्त देवकोटा, अशोक देवकोटा चर्चामा छन् भने उपप्रमुखमा नारायणी अधिकारीको नाम अघि छ । निर्वाचन कार्यालय गोरखामा दर्ता भएका १६ दलमध्ये १० वटा दलले आउँदो वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनमा भाग लिन पाउँछन् ।
क्रियाशील राजनीतिक दलले नगरपालिका, गाउँपालिका प्रमुख, वडाध्यक्षमा महिला नेत्रीलाई टिकट दिने सम्भावना न्यून छ । धार्चे गाउँपालिकामा काँग्रेसबाट प्रमुखको दाबेदार मानिएकी नेत्री फूलमाया गुरुङलाई उपप्रमुखमा टिकट दिने र प्रमुखमा पार्टी नेता सन्तोष गुरुङलाई अघि सार्ने काँग्रेसले तयारी गरेको बुझिएको छ । महिला नेत्रीले पनि प्रमुख पदका लागि मरिमेटेर दाबी गरेका छैनन् भने पार्टीले पनि महिलालाई प्रमुख पदमा उठ्न सहयोग गरेका छैनन् ।
उम्मेदवार बन्न शिक्षण पेसाबाट राजीनामा
स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न काभ्रेका केही शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएका छन् ।
जिल्ला शिक्षा कार्यालयका विद्यालय व्यवस्थापन शाखाका प्राविधिक सहायक देवीप्रसाद दाहालका अनुसार बुधबारसम्ममा आठ जना शिक्षकले राजीनामा दिएका छन् । उनीहरूले घरायसी कारण देखाएर राजीनामा दिएका छन् ।
राजीनामा दिने शिक्षकहरूमा हिमालय मावि बनेपाका निर्मला श्रेष्ठ, बज्रयोगीनी प्रावि महादेवस्थानका रामहरी नेपाल, सञ्जीवनी मावि धुलिखेलका रामकुमार तखाछे, बागदेवी मावि सल्लेभुम्लुका रमेशराज खरेल, गणेश निमावि चलाल गणेशस्थानका प्रेमकुमार तामाङ, भैरव मावि च्याम्राङबेँसीका बालकृष्ण फुयाँल, स्वेतगणेश प्रावि पनौतीका तीर्थमाया प्रधान र कुशादेवी माविका रमेश पौडेल रहेका छन् ।
निर्मलाले बनेपा नगरपालिकाको उपप्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्न राजीनामा दिएको बताए । “म उम्मेदवारको आकांक्षी हुँ, पार्टीले दिने नदिने टुङ्गो लागेको छैन,” उनले भनिन् ।
कुशादेवी माविका प्रधानाध्यापक पौडेल पनौती नगरपालिकाको नगरप्रमुखका लागि नेकपा (एमाले)बाट दावेदार छन् । “नगरप्रमुखमा दाबी गरेको छु,” पौडेलले भने, “पार्टीले कतिको योग्य देख्छ थाहा छैन” उनले भने । आकांक्षी धेरै जना भएकाले निर्णय हुन नसकेको उनले बताए ।
यस्तै स्वेतगणेश प्रावि पनौतीका प्रधानले पनौती नगरपालिकाको उपप्रमुखका लागि नेकपा (एमाले)बाट उम्मेदवार बन्ने सोच बनाएकी छन् । “उपप्रमुखमा उम्मेदवारी दिन शिक्षण पेसाबाट राजीनामा दिएकी हुँ,” प्रधानले भन् ि।
त्यस्तै बेथानचोक गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिन गणेश निमावि चलाल गणेशस्थानका शिक्षक तामाङले शिक्षण पेसाबाट राजीनामा दिएको बताए । उनी नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बन्न लागेका हुन् ।
मतदाता शिक्षाका लागि स्वयम्सेवक परिचालन
मतदाता शिक्षा कार्यक्रमका लागि सिरहाका विभिन्न मतदान केन्द्रमा मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको छ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा मतदाता शिक्षा कार्यक्रमका लागि जनशक्ति परिचालन गरेको हो ।
मतदानका क्रममा मतपत्र बदर हुन नदिन, स्थानीय तह निर्वाचनको महत्व, गठन प्रक्रिया, उम्मेदवारी दर्ता, मतदान विधि तथा मतपत्र पट्याउने र मतपेटिकामा खसाल्ने विधिलगायतबारे मतदातालाई सिकाउन जिल्लाको सबै नगरपालिका र गाउँपालिकाको मतदान केन्द्रमा मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख इन्द्रा यादवले बताउए ।
मतदाता शिक्षा स्वयम्सेवकलाई वैशाख ३ गतेदेखि ६ गतेसम्म सदरमुकाममा मतदाता शिक्षासम्बन्धी तालिम दिइएको थियो । जिल्लामा एक मतदान केन्द्र बराबर एक जना मतदाता शक्षा स्वयम्सेवक परिचालन गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय वैशाख १२ गतेभित्र स्थापना गरिसक्ने यादवले बताउनुभयो । जिल्लामा २१९ मतदान केन्द्र सिफारिस गरिएको छ । दोस्रो संविधानसभा निर्वाचनमा सिरहामा २१६ मतदान केन्द्र रहेका थिए ।
सात नगरपालिका र १० वटा गाउँपालिका रहेको जिल्लामा एक लाख ७५ हजार १८४ पुरुष र एक लाख ५६ हजार ४११ महिला मतदाता रहेका छन् । निर्वाचनमा भाग लिन ३२ वटा राजनीतिक दलले निर्वाचन कार्यालयमा दर्ता गराएका छन् ।
एमालेले ग¥यो दुई गाउँपालिकामा उम्मेदवार चयन
नेकपा (एमाले)ले झापाका दुई वटा गाउँपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको छ । एमालेका मोर्चा प्रमुख शिव ढुङ्गेलका अनुसार झापा गाउँपालिका र केचना कवल गाउँपालिकाबाट सर्वसम्मत उम्मेदवारको नाम चयन भएको हो ।
उनले झापा गाउँपालिकाबाट अध्यक्ष पदका लागि गजेन्द्र ताम्ली र उपाध्यक्ष पदका लागि कुन्तीदेवी बुढाथोकीको नाम सर्वसम्मत चयन भइसकेको बताए ।
त्यसैगरी, केचना कवल गाउँपालिकाबाट अध्यक्ष पदका लागि शेरबहादुर खत्री र उपाध्यक्ष पदमा धनमाया दाहालको नाम चयन भएको छ । यी दुवै गाउँपालिकाका वडामा समेत ५० प्रतिशत वडाध्यक्ष र सदस्यको टुङ्गो लागिसकेको प्रमुख ढुङ्गेलले बताए । एमालेले बाँकी रहेका आठ वटा नगरपालिका र पाँच वटा गाउँपालिकाको प्रमुख र उपप्रमुख पदका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने कार्यलाई तीव्रता दिएको छ ।
पार्टीले उम्मेदवार चयनमा विभिन्न समिति बनाएको छ । ती समितिले आज बेलुकासम्ममा सबै नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्गो लगाइसक्ने जनाएको छ । ढुङ्गेलले उम्मेदवारका आकांक्षी धेरै रहेका कारण मुख्य पदमा चयन गर्न समस्या भइरहेको बताए ।
त्यसैगरी, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले भने अहिलेसम्म कुनै पनि नगरपालिका र गाउँपालिकाका प्रमुखको टुङ्गो लगाइनसकेको जनाएको छ ।
दलहरूद्वारा प्रचारप्रसार समिति गठन
नेपाली काँग्रेस भक्तपुरले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको प्रचार गर्न प्रचारप्रसार समिति गठन गरेको छ । काँग्रेस जिल्ला सदस्य केदार खड्काको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको हो ।
जिल्ला अध्यक्ष दुर्लभ थापाको संयोजकत्वमा निर्वाचन परिचालन समिति, सचिव उद्धव सिलवालको संयोजकत्वमा जिल्लाको निर्वाचन घोषणापत्र निर्माण समिति, शिवराम श्रेष्ठको संयोजकत्वमा अनुशासन समिति, निशान ढुङ्गेलको संयोजकत्वमा प्रशिक्षण समिति, उर्मिला वनको संयोजकत्वमा महिला परिचालन समिति गठन गरिएको छ ।
त्यसैगरी, नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा जिल्ला अध्यक्ष राजेन्द्र राजथलाको संयोजकत्वमा ५५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
त्यसैगरी, एमाले भक्तपुर जिल्ला प्रचार विभाग संयोजक श्याम बस्नेतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति, उपाध्यक्ष बच्चन देउजाको संयोजकत्वमा आर्थिक समिति, शैलेन्द्र श्रेष्ठको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति र गोविन्द चौलागाईंको संयोजकत्वमा कानुन विभाग समिति गठन गरिएको छ ।
नेपाल मजदुर किसान पार्टीले स्थानीय तहको निर्वाचनका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठको संयोजकत्वमा ७५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
जिल्लामा नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा माले र राष्ट्रिय जनमोर्चाले पनि निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने क्रम जारी रहेको जानकारी दिएको छ ।
बैतडीमा एमालेले ४० वडामा उम्मेदवारको टुङ्गो लगायो
स्थानीय तह चुनावका लागि नेकपा (एमाले) बैतडीले ४० वडाको उम्मेदवारको टुङ्गो लगाएको छ ।
स्थानीय तहको पुनःसंरचनाअनुसार जिल्लामा रहेका चार नगरपालिका र छ गाउँपालिकाका ८४ वडामध्ये ४० वडामा उम्मेदवारको टुङ्गो लगाएको एमाले बैतडीले जनाएको छ ।
यस्तै, सुर्नया गाउँपालिकामा अध्यक्षको उम्मेदवारमा नरेन्द्र विष्ट छानिएका छन् भने दोगडाकेदार गाउँपालिकामा चक्र कार्कीको नाम घोषणा गरिएको छ ।
एमाले प्रचारप्रसार उपप्रमुख शेरबहादुर चन्दका अनुसार अन्य बाँकी वडामा छलफल भइरहेको र गाउँपालिका र नगरपालिकामा धेरै आकांक्षी रहेकाले उम्मेदवार छनोट कार्य जारी रहेको उनले बताए ।
यस्तै, नेकपा (माओवादी केन्द्र)ले दशरथचन्द नगरपालिका–७ मा वडाका अध्यक्षका लागि पद्मराज बडूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसका साथै प्रचारप्रसार समिति समेत गठन गरिएको अनेरास्ववियु क्रान्तिकारीका जिल्ला कमिटी सदस्य गोकर्ण बोहराले जानकारी दिए ।
आकांक्षी धेरै भएपछि मतदानबाट टुङ्गो लगाइने
नेकपा (एमाले) कास्कीले पोखरा–लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका आकांक्षी धेरै भएपछि मतदान प्रक्रियाबाट टुङ्गो लगाउने भएको छ ।
पूर्व जिल्ला कमिटीका अध्यक्ष मानबहादुर जिसी, पूर्व मेयर तथा जिल्ला कमिटीका अध्यक्ष कृष्ण थापा, युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारी र प्रदेश नं ४ का सदस्य श्रीनाथ बराल मेयर पदको दाबेदार हुन् ।
त्यस्तै, उपसचिव प्रभा कोइराला, जिल्ला सदस्य मञ्जु गुरुङ, जिल्ला सदस्य पोखरा लेखनाथ–११ की मीना गुरुङ, पूर्व जिल्ला उपसचिव देवका पहारी र केन्द्रीय विभागकी सदस्य पोखरा लेखनाथ–१९ की मीना गुरुङ उपमेयर पदका दाबेदार छन् ।
मुलुकमै क्षेत्रफलमा सबैभन्दा ठूलो एवम् पर्यटकीय नगरी यस महानगरपालिकाको उच्च पदमा रहेर काम गर्ने उत्कट इच्छाका कारण कसैले पनि उम्मेदवारीको दाबी नछाडेपछि जिल्ला कमिटीलाई निकै सकस परेको र मतदान प्रक्रियाबाट उम्मेदवार छान्ने निर्णय भएको जिल्ला कमिटीका कार्यालय सचिव वैनबहादुर क्षेत्रीले जानकारी दिए ।
जिल्ला कमिटीले शुक्रबार पार्टीको पोखरा–लेखनाथ महानगर सङ्गठन कमिटीको बैठक डाकेको छ र त्यही बैठकले लोकप्रिय नेता छानिने बताइएको छ । सो कमिटीमा ४४१ जना सदस्य छन् ।
मनाङवासीलाई स्थानीय निर्वाचन सफल पार्न आग्रह गर्दै सांसद गुरुङ
नेपालको इतिहासमा पहिलोपटक स्थानीय सरकार सञ्चालन गर्ने गरी सम्पन्न गर्न लागिएको निर्वाचनमा भाग लिएर सफल पार्न सांसद एवम् पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले सम्पूर्ण मनाङवासीलाई आग्रह गरेका छन् ।
स्थानीय तहमा जनप्रतिनिधिमूलक निकाय गठन गरेर स्थानीय सरकार सञ्चालन गर्नका लागि हुन लागेको वैशाख ३१ गतेको निर्वाचनको विषयमा जनचेतना जगाउने उद्देश्यले जिल्ला भ्रमणमा रहेका सांसद गुरुङले जिल्लावासीसँग यस्तो आग्रह गरेका हुन् ।
वैशाख ३१ गते सम्पन्न निर्वाचनपछि बन्ने स्थानीय सरकारको विषयमा प्रष्ट पार्न मनाङका सबै गाउँमा स्थानीय बासिन्दाको भेला बोलाएर सांसद गुरुङले जनचेतना जागरण थालेको उनका स्वकीय सचिव चन्द्र घलेले बताए ।
मनाङका सबै गाउँपालिका निर्धारण भएर यसलाई व्यावहारिक बनाउन स्थानीय बासिन्दाले चासो देखाइरहेका बेला जिल्ला भ्रमणमा आएका सांसद गुरुङले निर्वाचन हुने विषयमा शङ्का नगर्न र मनाङमा निर्वाचन सफल पार्नसमेत जिल्लावासीलाई आग्रह गर्दै आएका छन् ।
उनले जिल्लाका सबै गाउँपालिकामा दलहरूले उठाउने उम्मेदवारको चरित्र, क्षमता र विगतका व्यवहारको मूल्याङ्कन गरेरमात्रै आफ्नो अमूल्य मतको प्रयोग गर्न जिल्लाका मतदातालाई सुझाव दिए ।
जिल्लावासीलाई स्थानीय सरकारको कार्यावधि र संविधानमा नागरिकको हकअधिकारका साथै स्थानीय तहको चुनावपछि जनताले प्राप्त गर्ने शासकीय प्रणालीकोे विषयमा सांसद गुरुङले मनाङका साविकका गाविसमा गएर प्रस्ट पारेका छन् । सांसद गुरुङले मनाङ्गको स्थानीय भाषामा बोलेर वृद्धवृद्धाका साथै उमेर पुगेका नागरिकलाई गलत नेता नछान्न सुझाव दिइरहेका छन् ।







