युनियन र सेन्टरको संयुक्त प्यानल घोषणा

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेतको आगामी विहीवार हुने जिल्ला अधिवेशनमा नेतृत्वका लागि नेपाल प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त प्यानलको घोषणा गरिएको छ । युनियन र सेन्टरले सोमवार सहमति गर्दै आइतवार संयुक्त प्यानलको घोषणा गरिएको हो । सहमतिमा युनियन र सेन्टरवीच आलोपालो नेतृत्व लिनेपनि उल्लेख छ । प्यानल घोषणा कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति नारायण कोइरालाले मुलुक संचालनमा कांग्रेस र माओवादीको संयुक्त सरकार भएकोले जिल्लाको पत्रकार महासंघ पनि युनियन र सेन्टरवीच संयुक्त प्यानल घोषणा हुनुलाई स्वभाविक भएको बताए । उनले संयुक्त प्यानलले जीत हासिल गर्ने विश्वास व्यक्त गर्दै एक आपसमा विश्वासका साथ अगाडि बढ्न पनि सुझाव दिए । नेकपा माओवादी केन्द्रका प्रचार संयोजक हरिमाया शर्माले विगतमा चौतारीसंगको सहयात्रा पीडादायी भएको भन्दै यसपटक युनियनसंगको सहयात्रा सहज हुने विश्वास व्यक्त गरिन् । उनले राजनीतिमा गठवन्धन बन्ने र भत्कने स्वाभाविक भएको उल्लेख गर्दै एकअर्काप्रति विश्वास गरेर विजय प्राप्त गर्न सुझाव दिइन् । पत्रकार महासंघका अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस वीरेन्द्रनगर नगरसभापति देवकुमार सुवेदी, नेकपा माओवादी केन्द्रका नेता गंगाराम तिमिल्सेना, पत्रकार महासंघका पूर्व अध्यक्ष श्रीधर पौड्याल, प्रेस युनियनका अध्यक्ष नरेशसिंह थापा, प्रेस सेन्टरका अध्यक्ष प्रकाश पौडेलले समय र आवश्यकता अनुसार गठवन्धन गरिएकोले आपसीमा विश्वासका साथ जीत सुनिश्चित गराउन जोड दिए । उनीहरुले संयुक्त प्यानललाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।





error: Content is protected !!