विदेशमा हराइरहेको छोराका बारेमा बाबुआमालाई पिडा

सरिता कुमारी लामा
सर्लाही – काठमाडौंमा कडाई ९कपडामा सितारा जोड्ने० को काम गर्ने जमसेदले धेरै पटक विदेश जानेहरुलाई काठमाडौंसम्म पुर्याइ दिनु भएको थियो । त्यसैले विदेश जाँदा के गर्ने कसो गर्ने भन्ने जान्नुभएको थियो उहाँले । उनीहरुले गरेको प्रगति पनि देख्नुभएको थियो।
परिवारको खर्च चलाउनु त पथ्र्यो नै, तीन जना बहिनीको बिहे गर्नलाई खर्च पनि जमसेदले नै जुटाउनुपर्ने थियो । तर कडाइको काम गरेर कमाएको पैसाले घर खर्च नै चलाउन मुश्किल थियो।
त्यसैले उहाँले पनि विदेश जान पाए घरको अवस्था सुध्रिन्थ्यो अनि बहिनीहरुको बिहे गर्नलाई पैसा पनि जम्मा गर्न सक्थें भन्ने सोच्नुभयो।
त्यतिबेला जमसेद १८ वर्षको मात्रै हुनुहुन्थ्यो । उहाँलाई कुन देश जाने के काममा जाने भन्ने केही जानकारी थिएन । पिपरनाथका एजेन्ट महेश महतो अरु देश जान उमेर नपुग्ने भन्दै मलेसिया जान सुझाव दियका थिय।
लेवरको काममा ४० हजार रुपैयाँ तलब हुन्छ भनेका महेशले जमसेदलाई त्यसका लागि एक लाख ५० हजार रुपैयाँ लाग्ने बताए । कडाइको काम गरेर कमाएको पैसाले घर चलाउन मुश्किल पर्ने जमसेदलाई डेढ लाख रुपैयाँ निकाल्न सहज थिएन । त्यसैले ऋण काढेर महेशलाई बुझाउनुभयो
अनि २०७१ सालमा मलेसिया उड्नुभयो, सर्लाही शंकरपुर ९ का जमसेद खातुन । जमसेदले मलेसियामा जंगलमा काम गर्नुपर्यो । त्यो पनि दिनको १४ घण्टासम्म । तर तलब चाहीँ महिनाको २५ हजार रुपैयाँ मात्रै थियो । ‘घरमा फोन गर्दा खुट्टा सुन्निएको छ भन्थ्यो’ जमसेदकी आमा समिना भन्नुहुन्छ।
दुःख छ भन्ने जमसेदले काम गर्न भने छोड्नु भएन । फोनमा जे गर्नलाई विदेश आएको हो त्यो त सम्झिनु पर्यो नि भन्ने जमसेदले सोचे जस्तो कमाउन सक्नुभएन । त्यसैले दुई तीन महिनामा पैसा पठाउने जमसेदले ४० हजार रुपैयाँ भन्दा धेरै पैसा पठाउन सक्नु भएन।
जमसेदले विदेश गएपछिको अवस्था आमालाई कहिल्यै देखाउन चाहनु भएन । समिनाले जमसेदलाई फोन गरेपिच्छे नै भिडियो कल गर न मलाई हेर्न मन लागेको छ भन्नुहुन्थ्यो तर जमसेदले कहिल्यै मान्नु भएन।
‘एकपटक भिडियो कल गर न भन्थें तर ऊ सँधै आमा मलाई देख्नुभयो भने हेर्न सक्नुहुन्न रुनुहुन्छ त्यही भएर भिडियो कल गर्दिन मात्रै भनिरहन्थ्यो ।’ समिना भन्नुहुन्छ।
समिनाले एक वर्षपछि छोरासँग घर बनाउने सल्लाह गर्नुभयो । तर उहाँले घर बनाउनु भन्दा पनि बहिनीहरुको बिहे गर्न सल्लाह दिनुभयो । गएको कात्तिकमा फोन गर्दा १० महिनापछि घर आउने बताएका जमसेदले नेपाल आएपछि घर पनि बनाउने भन्नुभएको थियो।
तर गएको कात्तिक पहिलो हप्ता फोन गरेर भोलि पैसा पठाईदिन्छु भनेका जमसेद त्यसपछि भने सम्पर्कविहिन भएका छन् । छोरा विदेशमै हराएको पिरले सताइरहेको बुवाआमालाई छिमेकीले गर्ने कुराले अझै पिरोल्छ । अहिले छिमेकीहरु तेरो छोरा कि त केटीसँग फस्यो कि त मर्यो भन्छन्।
जमसेद विदेश जाने बेलामा बिहेको तयारी पनि भएको थियो । अहिले त बिहे गर्ने भनेको केटीका बुवाआमाले पटक पटक पनि तिम्रो छोरा कहिले आउँछ , आउँछ कि आउदैन भनेर सोध्न थालेपछि समस्या भएको छ।
छिमेकीले पटक पटक यस्तो कुरा दोहोर्याउन थालेपछि समिनालाई पनि कहिले काहीँ त छोरा मर्यो कि जस्तो लाग्छ । ‘केही नभएको भए त फोन गरिहाल्थ्यो नि । यो दुनियाँमै छैन होला र त फोन गर्दैन ।’ समिनाले भन्नुभयो।










