स्थानीय उत्पादन विक्री नहुँदा किसान चिन्तित

जाजरकोट। खगेनकोट ६ का हरिवहादुर खत्रीको घरमा दुई वर्षदेखिका मकै घरमै थन्किएको छ । सस्तो मूल्यमै बिक्री गर्न चाहे पनि उहाँको मकै बिक्रि भएको छैन । तीन वर्षदेखि आफुले दुख गरि उत्पादन गरेको मकै नबिक्दा उहाँ अव मकै भन्दा अरु रोप्ने योजनामा पुग्नुभएको छ ।
मकै नविक्दा भण्डारण गरि राखेको अधिकांश किराले खाईसकेको उहाँको गुनासो छ । अव पशु चौपायलाई पिरोको रुपमा र रक्सी उत्पादनमा भए पनि मकैलाई उपयोग गर्ने योजनामा रहेको उहाँको तर्क छ । सस्तो मूल्यमा बेच्न खोज्दा पनि भए जति मकै नबिकेको उहाँको भनाइ छ । खगेनकोट ६ का विष्णुकुमारी खत्रीको घरमा पनि २ वर्षदेखिको मकै उसै छ । पहिले , पहिले यातायात नचल्दा घोडा ,खच्चड लाई दानाको रुपमा प्रयोग हुँदा मकैको मुल्य सोचे जति पाईने गरेको उहाँले वताउनुभयो । अहिले यातायातका साधनहरु सञ्चालनमा आएपछि सवै कुरा तलवाट नै आउँछन हामीले उत्पादन गरेको अन्नले वजार नै पाउँदैन खत्रीको भनाई छ । २०७० सालमा १ सय रुपैयाँ पाथी मकै बेचेका उहाँले ०७२ मा ८० रुपैयाँमा एक पाथी मकै धौ धौ बेचेको उहाँ सुनाउनुहुन्छ । यो वर्षको अहिलेसम्म आइपुग्दा मकैको मूल्य प्रतिपाथी ७० रुपैयाँमा झरेको छ । तीन वर्षको अवधिमा एक पाथी मकैको मूल्य ३० रुपैयाँ घटेपछि किसानहरू चिन्तित छन् । घटेको मूल्यमा समेत मकै सजिलै बिकेको छैन । ‘मकैको भाउ घटेको घट्यै छ त्यै पनि बिक्न छाडिसक्यो ’ विष्णुले भन्नुभयो, ‘दुई ,तीन वर्षदेखिको मकै यत्तिकै बसेको छ ।’
विष्णु र हरि मात्र होईन ,जिल्लाका धेरै किसानका घरमा मकै र केही किसानका घरमा गहुँ र धान मुल्य ओरालो लागेर बिक्रीमा समस्या छ । त्यसो त गहुँ र धानको मूल्य पनि तीन वर्षदेखि स्थिर छ । गहुँ र धानको मूल्य प्रतिपाथी सय रुपैयाँ छ । यो तीन वर्ष अघिकै मूल्य हो । तीन ,तीन वर्षसम्म पनि गहुँ र धानको मूल्य नबढ्दा किसानहहरू चिन्तित छन् । तीन वर्षदेखि मूल्य नबढ्नु र त्यही पनि बिक्री नभएपछि समस्यामा परेको किसानहरूको भनाइ छ ।
गाउँ–गाउँमा विस्तार भएको बजारका कारण किसानका खाद्य उत्पादन बिक्रीमा समस्या भएको हो । विस्तारित बजारमा बजारको चामल पुगेपछि मानिसले मकै र गहुँ गाउँमा किन्न छाडेका छन् भने धान पनि कुटेर चामल निकाल्न दुख हुने भएपछि सबै ठाउँमा बजारकै चामल सर्वेसर्वा भइरहेको छ । पहिले–पहिले घोडा, खच्चडका लागि भए पनि मकै खरिद गर्न आउनेहरू पछिल्लो समय घोडा,खच्चड नचल्दा आउन छाडिसकेका छन् । सडक विस्तारसँगै घोडा, खच्चड विस्थापित भइसकेका छन् । उत्पादनका लागि धेरै दुस्ख गनुपर्ने मकैको भाउ सबैभन्दा कम हुनु दुखद भएको नायकवाडा ७ का जनकवहादुर शाहीले बताउनुभयो । उहाँको घरमा पनि दुई वर्षदेखिकै मकै यत्तिकै छ । बेसी र लेकमा उत्पादित मकै बिक्रीमा समस्या भइरहेको उहाँले बताउनुभयो । मकै नबिक्ने भएपछि शाहीको परिवारले अव तरकारी खेती गर्ने योजनामा पुगेको वताउनुहुन्छ । जिल्लाका अधिकांश ठाउँमा मकैको मूल्य प्रतिपाथी ६० देखि ७० को बीचमा छ ।
जिल्लामा अन्य खाद्यान्न बालीमा सबैभन्दा बढी मकै उत्पादन हुने गरेको छ । पयाप्त सिचाई सुविधा नभएको जाजरकोटमा वर्षायाममा आकाशवाट परेको पानीको भरमा मकै खेति गरिन्छ । जिल्ला कृषि कार्यालयले दिएको जानकारी अनुसार जिल्ला भरबाट १६ हजार ९ सय ६५ मेटिक टन मकै उत्पादन भएको थियो । कृषि विकास कार्यालयका अनुसार १४ हजार १ सय ३० हेक्टरमा मकै खेती गरिएको थियो ।
त्यसैगरी ३ हजार ६२ हेक्टरमा गरिएको धान खेती ६ हजार १ सय ८० टन उत्पादन भएको थियो त्यस्तै १३ हजार ७ सय ७२ हेक्टरमा गरिएको गहुँ खेतीको मा उत्पादन १४ हजार ३ सय टन भएको थियो । अहिले बारीको गहुँ भित्र्याइएको छैन । हेमन्त के सी रासस










