सयभन्दा बढी पूर्वाधार निर्माणमा ,२ करोड मात्र बजेट भवन निर्माण ढिलाइले पठनपाठन प्रभावित

भीमबहादुर सिंह
जाजरकोट ,फाल्गुन । पैंक १ मा कालिका सामुदायिक भवन निर्माण सुरु भएको ३ वर्ष बित्यो । जिन्तालास्थित कालिका आधारभूत विद्यालय हातामा निर्माण हुन लागेको उक्त भवनका लागि ३ लाखका दरले वार्षिक बजेट निकासा हुने गरेको छ । ३५ लाख लागतको योजनाको जग पनि पूरा भएको छैन । जनता मावि पैंकको भवन निर्माण पनि ४ वर्षदेखि अलपत्र छ । त्रिभुवन मावि खलंगा, थर्पु मावि ढिमे र चन्द्र दीपक मावि जुँगाथापाचौरको भवन पनि अलपत्रै छन् । खानेपानी तथा सहिद स्मृति पार्क, सिँचाइलगायत योजना निर्माणको हालत पनि उस्तै छ ।
यी केही उदाहरण मात्र हुन् । शान्ति तथा पुनस् निर्माण मन्त्रालयद्वारा जिल्लामा सञ्चालित अधिकांश योजना लामो समयदेखि अलपत्रै छन् । योजनाको संख्या धेरै हुनु र तिनमा न्यून बजेट निकासा हुँदा शान्ति तथा पुनस् निर्माण मन्त्रालयअन्तर्गतका भौतिक पूर्वाधार निर्माणसम्बन्धी योजना पूरा हुन नसकेका हुन् । मन्त्रालयले पुनस् निर्माण तथा पुनस्स्थापना, शान्तिका लागि विकास र द्वन्द्वोत्तर कार्यक्रमअन्तर्गत योजना दिएको हो । १५ देखि ४० लाख लागतका योजनामा वार्षिक ३ लाख मात्र बजेट निकासा हुने गरेको छ । चालु आर्थिक वर्षमा मन्त्रालयले यस जिल्लाका सय पूर्वाधार निर्माणका लागि २ करोड मात्र बजेट निकासा दिएको जिल्ला इन्जिनियर सूर्यबहादुर शाहीले बताए ।
चालु आर्थिक वर्षमा क्रमागत योजना सम्पन्न गर्न २५ करोड बजेटको खाँचो पर्ने जिल्ला इन्जिनियर शाहीले जनाए । ‘शान्तिको बजेट कनिका छराइ छ । धेरैजसो योजनामा १ लाखदेखि ५ लाखसम्म बजेट निकासा आउने गरेको छ । यस हिसाबले क्रमागत योजना सम्पन्न हुन ७ देखि १० वर्ष लाग्ने देखिन्छ,’ उनले भने । लागत धेरै बजेट थोरै हुँदा समस्या भएको छ । ‘४र५ वर्षअघिको डिजाइन इस्टिमेट बर्सेनि वृद्धि हुने बजार मूल्यसँग समायोजन गर्न सकिँदैन । पुरानो दररेटमा उपभोक्तालाई निर्माण गर्न कठिन हुन्छ । जसले निर्माण अलपत्र हुने गरेको छ,’ शाहीले भने । योजना सम्पन्न नहुँदै जग जीर्ण भइसकेको हुन्छ । मन्त्रालयको चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमअनुसार १० वटा योजनामा १ लाख, ३५ योजनामा १ लाख ७५ हजार, ४ योजनामा १ लाख ५० हजार, १४ योजनामा ३ लाख, ४ योजनामा ५ लाख र ७ वटा योजनामा १० लाखका दरले बजेट निकासा भएको छ ।
शान्ति मन्त्रालयले स्वीकृत योजनामा समेत न्यून बजेट विनियोजन गर्दा निर्माण ढिलाइ भएको उपभोक्ता कालीबहादुर सिंहले बताए । स्थानीय बासिन्दाले विद्यालयको भवन निर्माण किन ढिलो भनेर दिक्क लगाउँछन्,’ सिंहले भने । अधिकांश विद्यालय भवन अलपत्र परेका हुन् । शान्ति मन्त्रालयको आर्थिक सहयोगमा पुनस् निर्माणमा परेका ४० भन्दा बढी विद्यालय भवनको निर्माण अलपत्र परेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए ।










