सुत्केरी आमाले ध्यान दिनुपर्ने ९ कुरा


प्रियंका विक
स्टाफ नर्स
उपक्षेत्रीय अस्पताल, डडेल्धुरा
बच्चा जन्माएपछि ६ हप्तासम्मको अवधि सुत्केरी आमाका लागि संवेदनशील समय हो । यो समयमा सुत्केरी आमाले बच्चाको मात्रै होइन, आफ्नो स्वास्थ्यको पनि राम्रो ख्याल राख्नुपर्छ । कतिपय कमजोरीले आमाको स्वास्थ्यमा गम्भीर खतरा निम्तिन सक्छ । यो संवेदनशील अवधिमा सुत्केरी आमाले ध्यान दिनुपर्ने कुरा यस्ता छन्ः

सुत्केरी भएलगत्तै आमाले पाठेघरको मालिस गर्नुपर्छ । योवेला मालिस गर्दा पाठेघर खुम्चिन सघाउ पुग्छ । पाठेघर खुकुलो हुँदा र यो अवस्थामा बल पर्दा आङ खस्ने समस्या हुन सक्छ ।

सुत्केरी भएको केही समयभित्रै हात र स्तनको मुन्टा सफा गरेर आमाले बच्चालाई दूध चुसाउनुपर्छ । यसले बच्चाको मात्रै होइन, आमाको स्वास्थ्यमा पनि फाइदा गर्छ । समयमै स्तनपान गराउँदा अक्सिटोसिन हर्मोन बाहिर निस्किन्छ, निरन्तर बच्चालाई दूध चुसाउन सहज हुन्छ भने पाठेघर खुम्चिन पनि मद्दत मिल्छ । दिनमा दुई घन्टा र रातमा चार घन्टा या शिशुको आवश्यकताअनुसार स्तनपान गराउनुपर्छ ।

आमाले आफ्नो स्वास्थ्यस“गै बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । यसमा आमाकै ठूलो भूमिका रहन्छ । बच्चालाई न्यानो बनाएर राख्नुपर्छ, तर हिटर, अगोजस्ता बढी तापक्रममा भने निरन्तर राख्नु हु“दैन । यसो गर्दा बच्चाको शरीरमा पानीको मात्रा कम भएर नकारात्मक नतिजा निम्त्याउन सक्छ ।

सुत्केरी आमाले तातो झोल पदार्थ, पौष्टिक तत्वयुक्त खानेकुरा बढी खानुपर्छ । सुत्केरी भएपछि साविकको भन्दा दुईपटक बढी पौष्टिक तत्वयुक्त खानेकुरा खानुपर्दछ ।

यो समयमा आमालाई आरामको पनि उत्तिकै आवश्यकता पर्छ । सामान्यतया दिनमा दुई र रातमा ८–१० घन्टासम्म आराम गर्न जरुरी हुन्छ ।

स्वास्थ्यकर्मीको सल्लाहअनुसार योनिको ‘किगल एक्सरसाइज’ गर्नुपर्छ । यो एक्सरसाइज हिँड्दा, उठ्दा, बस्दा वा सुत्दा जुनसुकै अवस्थामा पनि गर्न सकिन्छ । सुत्केरी अवधि अर्थात् ६ हप्तासम्म यो एक्सरसाइज आवश्यक पर्छ । सुत्केरी भएको २४ घन्टामा पहिलोपटक, ७२ घन्टाभित्र दोस्रो र सातदेखि ४२ दिनभित्र अनिवार्य स्वास्थ्य जाँच गराउनुपर्छ ।

सुत्केरी आमाले स्तनको हेरविचार पनि उत्तिकै गर्नुपर्छ । स्तनको मुन्टा फुटेको, दबेको, गानिएको जस्ता समस्या देखिए तुरुन्तै स्वास्थ्य संस्थामा जा“च गराउनुपर्छ । यस्तो समस्या आउन नदिन आमाले निरन्तर स्तनपान गराउनुका साथै बढी भएको दूध निचोरेर फाल्नुपर्छ ।

सुत्केरी भएको ६ हप्तासम्म गह्रौँ सामान उठाउनु हुँदैन । यसले पाठेघर खस्नेलगायत समस्या हुन्छ । आमाले पिसाब पनि रोकेर राख्नु हुँदैन । पिसाब रोकेर राख्दा मूत्र प्रणालीमा समेत असर गर्छ ।

सुत्केरी अवस्थामा संक्रमणको ठूलो खतरा रहन्छ । आमाले प्रत्येक चारदेखि ६ घन्टामा योनिप्याड बदल्न जरुरी हुन्छ ।





error: Content is protected !!