बारेकोटका ४ गाविसवासी जोखिम मोलेरै आवतजावत गर्न बाध्य

जाजरकोट  , यहाँको लहँ ६, कालीमाटी देखि सक्ला १, लैखमसम्मको बाटोमा स्थानीयलाई आउजाउमै सास्ती भएको छ । नलसिंहगाड जलविद्युत् आयोजना बाँधस्थल सम्मको जाने पहुँच मार्ग निर्माण कम्पनीले बाइपास नबनाउँदा यस्तो हैरानी खेप्न परेको हो ।

बारेकोट भेकका २० हजार बासिन्दा विगत ६ महिनादेखि नलगाड खोला किनार भीरमा जोखिम मोलेर आवजावत गर्न बाध्य छन् । सक्ला, नायकबाडा, रोकायगाउँ, रामीडाँडा र लहँका बासिन्दाले सदरमुकाम खलंगा, दल्ली, कालीमाटी लगायत बजार आउजाउ गर्ने एक मात्र उक्त बाटो पहुँचमार्ग निर्माण क्रममा पुरिएपछि समस्या भएको हो । यही कारण दैनिक उपभोग्य बस्तु आपूर्तिमा पनि समस्या परेको छ ।
पहुँच मार्ग निर्माणले घोडा खच्चड हिंड्नसम्म नहुने गरी भत्केको छ । ११ किमिको पहुँच मार्गको कडा चट्टान बलास्टिङको माध्यमले निर्माण हुने गरेको छ । ब्लास्टिङका क्रममा खस्ने ढुंगाका कारण र बाटो भत्किँदा आवतजावत गर्नै नभएको स्थानीय जयवहादुर खत्रलिे बताउनुभयो । नलसिंहगाड खोलामा राखिएका लाप्को ९काठे अस्थायी पुल० तथा किनारको भीरमा झुन्डिएर यात्रा गर्नुपर्ने अवस्था रहेको खत्रीले बताउनुभयो ।

अप्ठ्यारो भीरमा खुट्टा टेक्ने ठाउँ पनि नहुँदा डोरीको सहायताले दर्जनौं ठाउँमा झुन्डिएर हिंड्नुपर्ने उहाँले बताउनुभयो ।
सडक निर्माण कम्पनी तथा सम्बन्धित निकायको लापरबाहीले बाइपास व्यवस्था नगर्दा बारेकोट भेकबासीलाई आवतजावतमै समस्या भएको खत्रीले जानकारी दिनुभयो । वृद्धवृद्धा र बालबालिका उक्त बाटोबाट आउजाउ गर्न नसक्ने उउहाँले बताउनुभयो । ‘कुन बेला कसको ज्यान जान्छ ठेगाना छैन,’ उहाँले गुनासो गनुभयो । सम्बन्धित पक्षले तत्काल बाइपास मार्ग व्यवस्था नगरे जोखिम बढ्दै जाने उहाँको भनाइ छ ।
कम्पनीले बाइपास बाटो बनाएर मात्र निर्माण सुरु गर्नुपर्नेमा त्यसो हुन नसकेको उहाँको भनाइ छ । ‘सम्बन्धित पक्षले स्थानीयलाई आवतजावतमा सास्ती भएको वास्ता नै गरेको छैन । बारेकोटबासीलाई भएको सास्तीमा स्थानीय प्रशासन पनि बेखबर छ,’ खत्रीले भन्नभुयो ।
४ सय १० मेगावाट क्षमताको नलसिंहगाड जलविद्युत् आयोजना बाँधस्थलसम्मको पहुँच मार्गको निर्माण जिम्मा लामारखड्का कृष्णरगाल्भा जेभी कन्ट्रक्सन प्रालि काठमाडौंले लिएको छ । ४० करोड लागतको उक्त काम अबको २ वर्षमा सम्पन्न हुनेछ । आयोजनाको पहुँच मार्ग निर्माणमा ब्लास्टिङको जिम्मा भने नेपाली सेनाले लिएको छ ।





error: Content is protected !!