यी देशमा मनाइँदैन भ्यालेन्टाइन्स डे

आज १४ फेब्रुअरी । विश्वका अधिकांश देशमा भ्यालेन्टाइन्स डे मनाउने तयारी चलिरहेको हुनुपर्छ । नेपालमा पनि यो दिन प्रेमी–प्रेमिकाले एक–आपसमा आ–आफ्ना धारणा खुलेर राख्छन् । तर, संसारमा त्यस्ता देश पनि छन्, जहाँ भ्यालेन्टाइन्स डे मनाउन पाइँदैन । ती देशबारे जानकारी:
मलेसिया
मलेसियाको जनसंख्यामा ६० प्रतिशत मुस्लिम समुदायका छन् । यही समुदायले भ्यालेन्टाइन्स डे मनाउन प्रतिबन्ध लगाएको छ । प्रणय दिवसका दिन यहाँ घरबाट निस्किनु पनि अत्यन्त खतरनाक हुन्छ । सन् २०१२ मा मलेसियामा प्रहरीले भ्यालेन्टाइन्स डेकै दिन होटेलमा छापा मारेको थियो । र, भ्यालेन्टाइन मनाइरहेकालाई पक्राउ गरेर जेल पठाएको थियो ।
इरान
इरान सरकारले सन् २०११ देखि भ्यालेन्टाइन्स डेमाथि प्रतिबन्ध लगाएको हो । त्यसवेला सरकारी कार्यालयले सञ्चारमाध्यममा सूचना प्रकाशित गर्दै त्यहाँका मानिसलाई चेतावनी दिएको थियो । त्यतिवेलादेखि नै इरानमा रातो गुलाबमाथि पनि प्रतिबन्ध लगाइएको छ । यति हुँदाहुँदै पनि कसैले भ्यालेन्टाइन्स डे मनाएको पाइएमा जरिबाना र जेल सजाय हुने सूचना इरान सरकारले बर्सेनि निकाल्दै आएको छ ।
रुस
पूरै रुसमा होइन, बेलगोरोड प्रान्तमा चाहिँ रुसले पनि भ्यालेन्टाइन्स डे ‘सेलिब्रेसन’माथि प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध सन् २०११ बाट सुरु भएको हो । प्रान्तकै जनताले यसको विरोध गर्न थालेको लामो भएको थियो । त्यही विरोधलाई सम्बोधन गर्दै त्यहाँका गभर्नरले यो प्रतिबन्ध लगाएका हुन् । सार्वजनिक रूपमा भ्यालेन्टाइन्स डे नमनाउन आग्रह गरिएको सूचना सरकारले मिडियामा प्रकाशित गर्दै पनि आएको छ ।
साउदी अरब
साउदी अरबमा पनि भ्यालेन्टाइन्स डेमाथि प्रतिबन्ध लगाइएको छ । यो दिन सार्वजनिक बिदा दिनुहुँदैन भन्दै त्यहाँ विभिन्न प्रदर्शन पनि भएका छन् । त्यति मात्र होइन, १४ फेबु्रअरीभन्दा पहिले नै गुलाब, रातो रङका सामान तथा लभ थिमका कार्डमाथि पनि प्रतिबन्ध लगाइएको छ ।
इन्डोनेसिया
इन्डोनेसियामा मुस्लिम समुदायले पनि यो दिनमाथि प्रतिबन्ध लगाएको छ । १४ फेब्रुअरीमा इन्डोनेसियामा कार्ड दिन, गुलाब दिन तथा दुईजना सँगै होटेल जान पनि पाइँदैन । सिंगललाई मात्र होइन, यो प्रतिबन्ध विवाहित जोडीमाथि पनि लगाइएको छ ।










