सँगै खाना खाएपछि प्रचण्ड र ओलीबीच कुरा मिल्यो स् खाना खुवाउने श्रेष्ठ भारत उडे

काठामाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच जेठ १ देखि २० भित्र स्थानीय चुनाव गर्ने गरी मिति घोषणा गर्ने अनौपचारिक समझदारी भएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको ललितपुर हरिसिद्धिस्थित निवासमा यस्तो समझदारी बनेको हो । आफ्नै समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सत्ता बहिर्गमनपछि एकअर्कासँग कमै भेट्ने गरेका दाहाल र ओली शुक्रबार बिहानको खाना सँगै बसेर खान तयार भएका थिए । आजको कान्तिपुरमा खबर छ ।

नेता श्रेष्ठका अनुसार सवा घण्टा चलेको उक्त भेटमा जेठमा स्थानीय चुनाव गर्ने गरी सरकारले काम थाल्ने, दाहाल सरकारकै नेतृत्वमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, प्रिबजेट तथा बजेट ल्याउनेमा एमाले अवरोधक नबन्ने विषयमा छलफल भएको थियो । ‘धेरै सकारात्मक कोणबाट छलफल भयो । फागुन पहिलो साताभित्रै चुनावको मिति घोषणा हुने वातावरण बन्यो,’ शुक्रबार साँझ दिल्ली उड्नुअघि श्रेष्ठले भने ।

भेटमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले अबचाहिँ प्रधानमन्त्रीको चुनाव मिति घोषणाबारे आश्वासनमाथि विश्वास गर्न सकिने वातावरण बनेको बताए । ‘निर्वाचन र संविधान कार्यान्वयनकै सन्दर्भमा प्रधानमन्त्रीसँग कुराकानी भयो, वैशाखमा नै चुनाव गर्ने गरी मिति तय गर्नुपर्छ भन्नेमा हाम्रो जोड रह्यो,’ रावलले भने, ‘प्रधानमन्त्रीले पनि मिति तय गर्न सरकार अग्रसर रहेको बताउनुभएको छ । अहिलेसम्म उहाँले भन्दै आएको कुरा हेर्दा त विश्वास गर्न सकिने अवस्था थिएन । तर आज प्रधानमन्त्रीको कुरा सुन्दा चुनावको मिति तय गर्नुहोला कि भन्ने प्रभाव परेको छ ।’ एमालेले वैशाखमा सुरु गर्ने गरी चुनावको मिति घोषणा गर्न सकिने सम्भावना औंल्याउँदै त्यसैअनुसार तत्कालै मिति घोषणा गर्न माग गरेको रावलले जानकारी दिए । त्यसका लागि मधेसवादी दलहरूसँग पनि सहमति प्रयास गर्न अध्यक्ष ओलीले आग्रह गरेको उनले बताए ।

ओली र रावलको कुरा सुनिसकेपछि प्रधानमन्त्री दाहालले जेठ १५ भित्र आफ्नो सरकारकै तर्फबाट नीति कार्यक्रम तथा बजेट ल्याउने र जेठ २० भित्रमा स्थानीय चुनाव गरिसक्ने गरी घोषणा गर्न अब आफू अग्रसर हुने बताएका थिए । ‘तपाईंहरूले मलाई चुनाव नचाहेको हो कि भन्ने जसो गरेर चित्रित गर्नुभयो, अहिले संविधान कार्यान्वयनबारेमा मलाई जति चिन्ता अरू कसलाई होला र ’ ओलीलाई दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंको भरपर्दो साथ चाहिन्छ, म चुनाव घोषणा गर्न तयार छु ।’

ओलीले चुनाव मिति घोषणा गरेपछि राजनीति आफैं सङलिँदै जाने धारणा राख्दै त्यसका लागि खुट्टा दह्रो गरी टेके आफू दाहाललाई सघाउन तयार रहेको समेत आश्वासन दिएका थिए । ओलीले दाहाललाई सहमतिप्रति अविश्वासी भन्दै एक्लै भेट्न अस्वीकार गर्दै आएका थिए । शुक्रबार पनि उनी उपाध्यक्ष रावल लिएर हरिसिद्धि पुगेका थिए । ओलीको सत्ता बहिर्गमनपछि दुवै नेताहरूबीच पहिलोपल्ट खुलेर कुराकानी भएको हो




सम्बन्धित समाचार


error: Content is protected !!