युवा पलायनले गाउँ सुनसान

वीरबहादुर गिरी   ,  जाजरकोट

20161126_161946-300x225आफ्नै गाउँठाउँमा काम गर्ने अवसर र वातावरण नपाएकैले बाहिर जान बाध्य भएको युवाहरूको आवाज रहेको छ । यहाँ काम गर्ने मेलो र वातावरण नहुँदा विदेश जान लागेको रोकायगाउँ–७ का लक्ष्मण बस्नेतले बताए । ‘जानेको सीप र कलाअनुसार जिल्लामै काम गर्ने अवसर पाए, यतै काम गर्ने रहर छ,’ उनले भने ।

काम खोज्दै खाडी मुलुक जाने युवाहरू राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय आउने युवाहरूको संख्या अधिक रहेको जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । पढेलेखेका युवाहरू नै स्थानीयस्तरमा रोजगारीको अवसर नपाएछि राहदानी बनाएर तेस्रो मुलुक जानेको संख्या बढेको उनले बताए । पछिल्लो समय राहदानी सिफारिसका लागि आउनेहरूको संख्या बढेको बताउँदै निमित्त जिशिअ शर्माले भने, ‘राहदानी लागि १६ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरू आउने गरेका छन् ।’

युवाहरू तथा पुरुषहरूले धमाधम गाउँ छाड्न थालेपछि गाउँ सुनसान बनेको छ । गाउँघरमा वृद्धवृद्धा, महिला र बालबालिका मात्रै रहेका छन् । ‘काम गर्न सक्ने लाठे छोरो विदेश गयो, घरको झन्झट बूढाबूढीकै थाप्लोमा छ,’ पाजरु–७ का धनसिंह नेपालीले दुःखेसो पोखे । धनसिंहजस्तै धेरै वृद्धवृृद्धाहरूले सो गाउँमा सास्ती खेपिरहेका छन् ।

युवाशक्तिको पलायनले जिल्लाको खाद्यान्न उत्पादन र विकास निर्माण प्रक्रियामा समेत प्रभाव परेको छ । युवाशक्ति नहँुदा जिल्लामा कृषि उत्पादन र पशुपालनमा कमी आउन थालेको छ । केही वर्षअघिसम्म कामको खोजीमा भारत जाने युवाहरू अहिले खाडी मुलुकतर्फ सोझिएका छन् । खाडी मुलुक जाने युवाहरूको संख्या जिल्लामा ह्वात्तै बढेको छ । ‘पहिले भारत जान्याँहरू अब खाडीतिर जान थाल्याँ छन्,’ नायकबाडा–१ का लोकबहादुर सिंहले भने ।

विदेश जाने क्रममा कतिपय युवाहरूको अकालमा ज्यान जाने गरेको छ । गएको २ वर्षअघि विदेश जाँदै गर्दा डाँडागाउँ–७ चावलेचौरका एकै गाउँका १२ युवाको बस दुर्घटनामा ज्यान गएको थियो । त्यसैगरी, गत वर्ष टाउेगाउँ गाविसका आध दर्जन युवाको भारतमा पहिरो परी मृत्यु भएको स्थानीय कृष्णबहादुर सिंहले बताए । गाउँबाट युवाशक्ति पलायन हँुदा जिल्लाको समाथ्र्य कमजोर हुँदै गएको छ ।





error: Content is protected !!