सानो समस्याले लिन सक्छ ठूलो रूप

नेपालीको बानी नै छ, थला नपरेसम्म स्वास्थ्य जाँच गराउन चिकित्सककहाँ नजाने । यही बानीका कारण जुनकुनै दिन घत्रक्कै पर्ने र ठूलो रकम खर्च गर्दा पनि स्वास्थ्य ठीक नहुने अवस्था निम्तिन्छ । नियमित स्वास्थ्य जाँच गराए समस्या साधारण हुँदैमा थाहा हुने र त्यसलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ । ब्लडप्रेसर असन्तुलित हुनु पनि स्वास्थ्य खराब गर्ने एउटा महत्वपूर्ण कारण हो । ब्लडप्रेसर र मुटुको समस्याबारे मुटुरोग विशेषज्ञ डा। मिलनप्रकाश श्रेष्ठले केही सुझाब दिएका छन्ः
डा मिलनप्रकाश श्रेष्ठ मुटुरोग विशेषज्ञ ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल
१, ब्लडप्रेसरबारे अधिकांशमा भ्रम देखिन्छ । कतिपयले सामान्य समस्या ठान्छन् भने कतिपयले ठूलो । यो दुवै बुझाइ गलत हो । ब्लडप्रेसरको समस्यालाई नियन्त्रणमा नराख्ने हो भने भोलिको दिनमा ठूलो नोक्सानी निम्त्याउन सक्ने कुरा सही हो । यसले आँखा र मिर्गौलामा खराबी ल्याउन सक्छ भने पक्षाघात र हृदयाघात निम्त्याउन सक्छ । तर, एकपटक औषधि खाएपछि जीवनभर खाइरहनुपर्छ, मिर्गौला खराब गर्छ भन्नेजस्ता कुरा गलत हुन् । ब्लडप्रेसरको उपचार समयमै सुरु गरियो र ब्लडप्रेसर नियन्त्रणभित्रै राखियो भने भविष्यमा हुन सक्ने खराबीबाट
बच्न सकिन्छ ।
२ ,ब्लडप्रेसरको समस्याले स्वास्थ्य बिग्रिँदै जाँदा गोडा सुन्निने हुन्छ । मुटुमा समस्या पार्छ । भल्भमा समस्या भएका बिरामीले अवस्था हेरी दिनहुँ औषधि खानुपर्छ । औषधिले समस्या पूर्ण ठीक नपारे पनि मुटु थप बिग्रिनबाट भने जोगाउँछ ।
३ ,मुटुका रक्तनलीमा अवरोध भए–नभएकोबारे विभिन्न जाँच गरेर सुरुमै पहिचान गर्न सकिन्छ । अवरोध भएको देखिएमा समयमै उपचार गरेर भविष्यमा हुने हृदयाघातबाट बच्न सकिन्छ । वेला–वेला मुटु जाँच नगर्ने र समस्या निम्तियो भने हृदयाघातको सामना गर्नुपर्ने हुन्छ । यसको उपचार निकै खर्चिलो छ । जीवनभर औषधि सेवन गर्नुपर्छ ।
४,मुटुरोग लाग्नु भनेको एक किसिमको जटिल अवस्था निम्तिनु हो । साधारण काम गर्दा छाती भारी हुनु, दुख्नु, साधारण अवस्थामा पनि मुटुको धड्कन बढेको महसुस हुनु, ब्लडप्रेसर आवश्यकभन्दा कम वा बढी हुनु, रगतमा कोलेस्ट्रोलको मात्रा, सुगरको मात्रा बढिरह्यो भने मुटुमा रोग लाग्न सक्छ ।
५ ,वेला–वेलामा चक्कर आउने, आँखा अगाडि कालो पर्दा लागेजस्तो भएर एक्कासि ढल्ने, बेहोस हुने र तत्कालै होस आउनेजस्ता लक्षण देखिए मुटुस“ग सम्बन्धित समस्या हुन सक्छन् । मुटुको चालमा गडबडी भए तथा मुटुको गति नै कम भए पनि विभिन्न समस्या देखिन सक्छन् ।
६,रोग सुरु हुँदा जहिले पनि शरीरमा केही न केही लक्षण पक्कै देखिन्छन् । लक्षण देखिनासाथै स्वास्थ्यमा गम्भीर हुनु जरुरी छ । आफूलाई समस्या भएको थाहा पाएपछि तत्काल उपचारमा गए ठूलो समस्या टार्न सकिने सम्भावना हुन्छ ।








