गाउँका स्वास्थ्य संस्थामा औषधि अभाव

हरि गौतम
, रुकुम, जिल्ला अस्पतालले साउनयता तीन पटक ४० लाख मूल्यको औषधि खरिद गरिसकेको छ । गत असोज १ गते तीन लाख, २१ गते तीन लाख र मंसिर १२ गते ३४ लाख रुपैयाँको औषधि अस्पतालले किनिसकेको छ । जिल्ला अस्पतालको स्टोरमा औषधि पर्याप्त छ तर गाउँका स्वास्थ्य चौकी भने रित्तै छन् ।
स्थानीयका अनुसार गोतामकोट, चौखावाङ, साँख, मोरावाङ, तकसेरा, पोखरा, महत, काँक्री, स्यालाखदी, रन्मामैकोट, हुकाम, सिस्ने, कोल, राङसीको स्वास्थ्य चौकीमा औषधि पुग्न सकेको छैन । औषधि अभावमा सर्वसाधारणले दुस्ख पाइरहेका छन् । मोरावाङका जुद्धु बुढाले लामो समयदेखि स्वास्थ्य चौकीमा औषधि नभएको बताए ।
‘औषधिका लागि स्वास्थ्य चौकी धाउन थालेको धेरै भइसक्यो,’ बुढाले भने, ‘औषधि भएको दिन कहिल्यै छैन ।’ जिल्ला अस्पताल स्रोतका अनुसार स्वास्थ्य चौकी प्रमुखहरू जिल्ला सम्म नआउनु, आए पनि ढुवानी भाडा, सडकको कारण देखाउँदै औषधि नलिनु तथा कतिपय स्वास्थ्य चौकी इन्चार्जहरू घर बिदामा गएका कारण डेढ महिनादेखि गाउँमा औषधि छैन ।
विशेष गरी जिल्लाको पूर्वी क्षेत्रका स्वास्थ्य चौकी इन्चार्जहरू यही सिजनमा घर बिदामा जाने गर्दछन् । जिल्ला अस्पताल प्रमुख डा। राजेन्द्र जिसीले जिल्लाका कतिपय स्वास्थ्य चौकीमा औषधि पुग्न नसकेको स्विकारे । ‘जिल्लाका केही दुर्गम स्वास्थ्य चौकीमा औषधि पुगेको छैन,’ डाक्टर जीसीले भने, ‘कतै ढुवानी गर्ने मान्छे छैनन्, कतैका इन्चार्जहरू जिल्लासम्म पुगेका छैनन् ।’ अबको केही दिनमा सबैतिर औषधि पुर्याउने व्यवस्था मिलाउने उनले बताए । अस्पतालका स्टोरकिपर जनक खडकाले औषधि खरिदका लागि मन्त्रालयले थप ८ लाख रुपैयाँ पठाइदिएको बताए । खडकाका अनुसार ८ लाख रुपैयाँको औषधि पनि खरिदको तयारी भइरहेको छ ।
तत्कालका लागि अभाव टर्यो
बाँके– केन्द्रले औषधि पठाएपछि बाँकेमा तत्कालका लागि औषधि अभाव टरेको छ । व्यापक दबाबपछि क्षेत्रीय मेडिकल स्टोरमार्फत सरकारले ७० लाखको औषधि पठाएको हो । त्यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालयले २९ लाखको औषधि खरिद गरेको छ । थप औषधि किन्नका लागि टेन्डर प्रक्रिया सुरु भएको छ ।
केन्द्र र स्थानीयस्तरबाट करिब १ करोडको औषधि बाँके आएपछि अभाव टरेको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका प्रमुख खिमबहादुर खड्काले बताए । उनका अनुसार अभाव भएका स्वास्थ्य चौकीमा औषधि पठाई सकिएको छ । ‘अभाव भएका सबै स्वास्थ्य संस्थामा औषधि पठाइसकेका छौं । अपुग भए लिन आउन भनिसकेका छौं,’ उनको दाबी छ, ‘सरकारले निस्शुल्क वितरण गर्ने सबै औषधि सर्वसाधारणले स्वास्थ्य संस्थामा पाउन सक्छन् ।’ सरकारले प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र उपस्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि निस्शुल्क वितरण गर्ने प्रतिबद्धता जनाएको छ । तर, अभाव भएपछि सर्वसाधारणहरूलाई सिटामोलसमेत किन्नुपर्ने बाध्यता थियो । गर्भवती र सुत्केरी महिलाले प्रयोग गर्ने आइरन चक्की, जीवन जलसमेत अभाव थियो । उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका बिरामी रित्तो हात फर्किनुपरेको थियो ।
जिल्लामा आवश्यक पर्ने ७० प्रतिशत औषधि केन्द्रले किनेर पठाउने गरेका कारण अभाव सिर्जना हुने गरेको हो । तर, चर्को दबाबपछि सरकारले बाँकेका लागि केही औषधि पठाएको छ । बाँकेका लागि केन्द्रबाट २ करोडको औषधि आवश्यक पर्छ । जिल्ला जनस्वास्थ्यले औषधि किन्नका लागि वार्षिक ५५ लाख रुपैयाँ बजेट पाउँछ । जिल्लाको बजेटले दुईरतीन महिनाका लागिमात्रै औषधि पुग्छ । त्यसैले केन्द्रको मुख ताक्नुपर्ने बाध्यता रहेको जिल्ला जनस्वास्थ्यले जनाएको छ । औषधि अभाव हुन नदिन स्वास्थ्य चौकी व्यवस्थापन समितिको निर्णय गराएर ५ हजारदेखि १५ हजारसम्मको औषधि किन्न पाइने नयाँ नियम बनाइएको छ । बाँकेमा ३ प्राथमिक स्वास्थ्य केन्द्र र ४४ उपस्वास्थ्य चौकी छन् ।








