अस्तव्यस्त अस्पताल सुधार्न कस्सिए अध्यक्ष शाह

खलंगाः ५० शैया क्षमता भएको जाजरकोट अस्पतालले उचित सेवा सुविधा दिन नसकेको जन गुनासो बढिरहेका बेला हालै नियुक्त अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र शाहले अस्पतालका समस्याहरु समाधान गर्न कार्ययोजना प्रस्तुत गरेका छन् ।
मंगलबार दिउँसो जिल्ला अस्पतालमा पत्रकारहरुसँगको भेटमा अध्यक्ष शाहले अस्पतालको अस्तव्यस्त अवस्थालाई सुधारको खाका सार्वजनिक गरेका हुन् । हाल अस्पतालमा भएका समस्याहरुको समाधान सहितको सूचि सार्वजनिक गर्दै शाहले प्राविधिक हिसाबले जनशक्ति र प्राविधिक उपकरण पर्याप्त नभए पनि उपलब्ध जनशक्ति र साधन श्रोतले भ्याएसम्म सेवाग्राहीलाई सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता गरे ।
अस्पतालका समस्याहरुलाई तत्काल समाधान गर्न चिकित्सकहरुको लागि उचित आवासको व्यवस्था, चौबीसै घन्टा पानी र विद्युत्त, एम्बुलेन्स तथा विरामीहरुलाई प्रदान गरिने सेवा सुविधामा एक्सरे, शल्यक्रिया, चौबीसै घन्टा विरामी चेक जाँच, ल्याब सेवा प्रभावकारी रुपमा सुचारु गर्नुपर्ने विषयहरुलाई कार्ययोजनामा प्राथमिकताका साथ उल्लेख गरिएको छ ।
कार्यक्रममा जिल्ला अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य कर्मचारीहरुले हाल सेवा प्रवाहका क्रममा भोग्नु परिरहेका समस्याहरुका बारेमा जानकारी दिएका थिए । मानव जनशक्ति, प्राविधिक उपकरण, भवनको अभाव, एम्बुलेन्सको अपर्याप्तता लगायतका समस्या झेलिरहेको जिल्ला अस्पताललाई १५ शैयाबाट स्तरोन्नतरी गरी ५० शैयाको अस्पताल घोषणा गरिएपनि नागरिकले हालसम्म प्राथमिक उपचार भन्दा बढीको सुविधा पाउन नसकेको सर्वसाधारणको गुनासो छ ।
तर, हालै नवनियुक्त अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र शाहले अस्पतालका विविध समस्याहरु समाधान गर्न थालेको पहलले जिल्लावासीमा आशाको संचार गराएको छ । ‘प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा जिल्लामै पाउने जिल्लावासीको चाहनालाई दिलोज्यान दिएर पूरा गर्ने प्रयास गर्नेछु ।’ अध्यक्ष शाहले उत्साहित हुदै भने– ‘स्वास्थ्य सबैको साझा सरोकारको विषय भएकोले आफ्नो प्रयासलाई साथ दिन जिल्ला स्थित सबै सरोकारवालाहरुलाई हार्दिक आग्रह गर्न चाहान्छु ।
ekhabar.com










