प्रेम छुटाउन हिरासतको बास
काठमाडौं– ‘२०३२ सालमा मलाई प्रहरीले क्याम्पसबाट नियन्त्रणमा लियो अनि हनुमानढोका लग्यो । त्यहाँ मलाई कार्गेड सेक्सनमा राखियो, पर्वतवाट पढ्न भनेर आएको भोलिपल्ट नेपाल ल क्याम्पसमा सेकेन्ड सेमेष्टरको परीक्षा थियो । हनुमानढोकामा मलाई तत्कालिन डिएसपीले अभद्र ब्यवहार गरे, त्यतिवेला उनले बोलेका शब्द अहिले उच्चारण गर्न पनि नमिल्ने खालका थिए । तर त्यहाँ बान्तवा थरका एकजना इन्सपेक्टर थिए उनले मलाई चिया र पाउरोटी खान दिए ।’

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले बुधवार भृकुटीमण्डप स्थित पुलिस क्लवमा आयोजित कार्यक्रममा प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएपछि यातना दिने गरेको र अभद्र ब्यवहार गर्ने काम अझै नरोकेको आरोप लगाएपछि महानगरीय प्रहरी प्रमुख प्रताप थापा र एआईजी विज्ञानराज शर्मा मुखामुख गरे ।
आयोगका सदस्य पौडेलले प्रहरी हिरासत र कारागार २०३२ सालकै अवस्थामा रहेको बताए । ‘आयोगमा आएपछि हिरासत र जेल अनुगमन गर्न धेरै जिल्लामा पुगेँ, अहिले पनि अवस्था उस्तै छ’ उनले भने, ‘जेल जीवन भोगेका रामचन्द्र पौडेल, बामदेव गौतमहरु पटक–पटक मन्त्री भए तर उनिहरु जेल तथा हिरासत सुधार गर्नेतिर कहिल्यै लागेनन् ।’
प्रहरीले विगतमा प्रेम छुटाउन समेत हिरासतमा राख्ने गरेको पौडेलले आरोप लगाए । उनले भने, ‘हनुमानढोका बस्दा असनको एकजना युवालाई प्रेम छुटाउनका लागि हिरासत राखेको भेटेँ, अर्काको प्रेममा प्रहरीले किन हस्तक्षेप गरेको रु’
नेपाल प्रहरीले आफ्ना जवानको मेस र ब्यारेक अझै सुधार गर्न नसकेको पौडेलले बताए ।
राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको ‘मानव अधिकारको विषयमा प्रहरीको भुमिका’ विषयक कार्यक्रममा महानगरीय प्रहरी प्रमुख प्रताप सिंह थापाले मानव अधिकारको संरक्षणको सवालमा प्रहरी सँधै सचेत रहेको बताए ।
त्यस्तै मानव अधिकार आयोगका सचिव वेद प्रकास भट्टराईले आरोपीलाई यातना दिएबापत प्रहरी जवान वा अधिकृतलाई कुनै फाईदा नहुने बताए ।
उनले भने, ‘ बहुविवाह गरेर पक्राउ परेकालाई तावामा तताएर प्रहरीलाई के फाईदा हुन्छ रु यातना दिन छाड्नुस मुद्धा चलाउनुस् ।’











