बाँके र बर्दियामा एकै दिन २० नयाँ कुष्ठरोगी भेटिए

बाँके र बर्दिया,   २०७३ सरकारले सन् २०२० सम्म ७५ जिल्लाबाटै कुष्ठरोग निवारण गर्ने उद्देश्यले बाँके र बर्दियामा नयाँ कुष्ठरोगी खोज्न सुरू गरेको छ ।

कुष्ठरोगी सबैभन्दा बढी भएको बाँके जिल्ला र तेस्रो नम्बरमा रहेको बर्दियाबाट उपचारमा नआएका कुष्ठरोगीको खोजी सोमवारदेखि सुरू गरेको हो । माघ १० गतेदेखि १४ गतेसम्म खोजी अभियान जारी रहने छ ।

महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र कुष्ठ प्रभावितको समूहले बाँके र बर्दियाका २५ ,२५ गाविससहित नगरपालिकाको हरेक घर गएर कुष्ठरोगी खोजी सुरू गरेका छन् । स्वास्थ्य मन्त्रालय, कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेका अनुसार अभियानको पहिलो दिनमै बाँकेमा ११ र बर्दियामा ९ गरी २० जना नयाँ कुष्ठरोगी पत्ता लागेका छन् ।
अभियान अवधिमा करिब तीन सय उपचारमा आउन नसकेका लुकेका नयाँ रोगी खोजी हुने आँकलन गरिएको छ ।

नेपालबाट २०६५ सालमा कुष्ठ निवारण भए पनि १८ जिल्लामा अझै कुष्ठ रोगी भेटिन छाडेको छैन । १० हजार जनसंख्यामा एकजना भन्दा कम कुष्ठरोगी भए त्यसलाई निवारणको अवस्था भनिन्छ । बाँके, बर्दिया लगायत १८ जिल्लामा अझै १० हजार जनसंख्यामा एकजना भन्दा बढी कुष्ठरोगी छन् ।

मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक रिता भण्डारी जोशीका अनुसार बाँकेमा १० हजार जनसंख्यामा करिब ३ जना कुष्ठरोगी छन् । यो मुलककै सबैभन्दा बढी कुष्ठरोगी भएको जिल्ला हो । बाँके पछि घनुषा र त्यसपछि बर्दियामा सबैभन्दा बढी कुष्ठरोगी छ्न्

मुलुकमा वर्षेनी करिब तीन हजार नयाँ कुष्ठरोगी उपचारमा आउने गरेका छ्न् । सामाजिक भेद्‍भावको कारण अझै रोग लुकाउने प्रवृत्ति व्याप्त रहेकोले सरकारले यो अभियान थालेको हो ।
स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, सासाकावा मेमोरियल हेल्थ फाउन्डेसन, इन्टरनेशनल नेपाल फेलोसिप र टिवी नेपालको सहकार्यमा यो अभियान सञ्चालन भएको हो ।





error: Content is protected !!