उपेन्द्रले यादवले भने,‘यो देशलाई विखण्डन गर्ने काम त केपी ओलीले गर्दैछन्’

काठमाडौं, २० मंसिर । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रवृत्तिले मुलुक विखण्डनतर्फ जाने हो कि भन्ने चिन्ता आफुहरुलाई लाग्न थालेको गुनासो पोखेका छन् ।

upendra-yadavआईतबार नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा गठबन्धनका संयोजक यादवले भने,‘ केपी ओली प्रवृत्तिले मुलुकलाई विखण्डन पार्ने हो कि भन्ने आंशका छ ।’ उनले एमाले अध्यक्ष ओली कुनै हालतमा राष्ट्रवादी नेता हुनै नसक्ने आरोप लगाए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादवले भने, ‘खोक्रा कुरा गरेर हुन्छ, ओलीले के विकास गरे ? सबैभन्दा बढि भ्रष्टाचारी र कालाबजारी त ओलीकै पालामा बढेको होईन र ? उहाँको पालामा आर्थिक वृद्धिदर कति थियो ?’

यादवले मुलुकमा केपी ओली प्रवृत्ति जिवितै रह्यो भने मधेशी जनताहरुले आफ्नो अन्तिम अस्त्र त्यो भनेको बह्मास्त्र, विद्यास्त्र प्रयोग गर्ने जनाए । यद्धपी उनले आफूहरुले अहिले सहमति चाहिरहेका उल्लेख गरे । उनले भने,‘सँधै हामी सहमतिको पक्षमा नै छौं तर काँग्रेस र कम्युनिष्टहरु सहमतिको तोड्ने काम गरिरहेका छन् ।’

उनले प्रमुख प्रतिपक्षी दल एमालेको सोच नै अतिवादी रहेको आरोप लगाए । यादवले अघि थपे,‘यो सोच राष्ट्र र राष्ट्रिय एकताको हितमा छैन् । यस्तो सोचले विखण्डन ल्याउँछ । संसद नै समस्याको समाधान हो भनेर उहाँहरुले भनेको हो नि ? गैरजिम्मेवार व्यक्तिले दिने अराजकतापूर्ण अभिव्यक्ति हो ।’

उनले अहिले गरिरहेको झैं एमालेले संसद अवरोध गरिरहने हो भने एमाले अब देशबाट सिधिन्ने समेत दाबी गरे । यादवले प्रश्न तेर्साए,‘संशोधन गर्न नदिने ? अधिकार नदिने ? यस्तोपनि राजनीति गर्ने ? कसले यस्तो बुद्धि दियो एमालेलाई ? कुन मति हो ? बुझ्न सकिएन ।’

उनले एमालेले अहिले के को लागि आन्दोलन, बन्द हड्ताले गरिरहेको भन्ने कुरा आफूले नबुझेको समेत स्पष्ट पारे । उनले भने,‘अहिलेको सिमांकन भनेको केपी ओलीको जागिर र विर्ता होईन । यो मुलुक सबैको साझा हो । ’

पत्रकार धमलाले ओलीजीले त यो प्रस्ताव अपारदर्शी ढंगले आएको र यो नेपालीहरुको प्रस्ताव होईन भन्नुभएको छ नि ? भनेर गरेको प्रश्नमा भने,‘उहाँहरुले मधेशी जनतामाथि गोली हानेर, फाष्ट ट्रयाकको नाममा सारा विधि र प्रक्रियालाई निलम्बन गरेर जबरजस्ती संविधान घोषणा गर्ने काम कुन चाहीँ लोकतान्त्रिक वा पारदर्शी थियो र ? १ बजे राति अन्तरिम संविधान संशोधन गरेर खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउँदा कुन पारदर्शीता थियो ?

त्यस्तै यादवले संविधान संशोधन प्रस्ताव परिमार्जन गर्नेवारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास दिलाएको उल्लेख गर्दै यदि त्यसोभएर आए आफूहरुले त्यसको पक्षमा संसदमा मतदान गर्ने समेत जानकारी दिए । उनले भने,‘यो संशोधन प्रस्ताव अनुमोदन गराउनु हाम्रोपनि दायित्व हो, तर त्यसमा केही कुराहरु संशोधन हुनुपर्छ, त्यो भयो भने हामी प्रस्ताव पारित गराउँछौं अनि चुनावमा जाने माहोल बनाउँछौं ।’





error: Content is protected !!