हातखुट्टा बाँधेर ५५ लाख डकैती

daka-750काठमाडौं, १९ मंसिर । ललितपुरमा शनिबार बिहान करिब ५५ लाख रुपैयाँबराबरको डकैती भएको छ । नकाबधारी समूहले महालक्ष्मीस्थानस्थित घरमा पुगेर परिवारका सदस्यलाई नियन्त्रणमा लिई ३४ लाख नगद र ४१ तोला सुन गरी ५५ लाख रुपैयाँबराबरको धनमाल लुटेको हो ।

आजको नयाँ पत्रिकामा खबर छ– बिहान करिब पौने ३ बजे घरको मुख्य ढोकाको चुकुल फुटाएर उनीहरू भित्र छिरेका थिए । हातमा रड लिएर छिरेका उनीहरूले परिवारका ६ जना सदस्यलाई नै मार्ने धम्की दिँदै डोरीले हातखुट्टा बाँधेका थिए । आफूहरूलाई मुखमा समेत टेपले बाँधेर लुटपाट गरेको पीडितहरूले बताएका छन् । नकाबधारी समूहले मार्ने धम्की दिई दराजको साँचो देखाउन लगाई नगद र सुनका गहना लिएर भागेका हुन् ।

साढे दुईतले घरमा पहिलो तलाबाट राई परिवारले ट्रान्सपोर्टसम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएका थिए । माथिल्लो तलामा उनीहरू बस्दै आएका थिए । एउटा ढोकामा मात्र ताला लगाएकाले डकैती गर्नेहरूलाई सजिलो भएको थियो । राजधानीमा करिब दुई वर्षपछि डकैतीको घटना भएको हो । पेसेवर आपराधिक समूहले नै राईको परिवारका बारेमा सूचना पाएर डकैती गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

चन्द्रागिरि नगरपालिकको मिलनटोल र भक्तपुरको सूर्यविनायकमा पनि शुक्रबार चोरी भएको छ । मिलनटोलमा राजमती महर्जनको घरको झ्याल फोडेर दराजमा रहेको नगद एक लाख ८० हजार रुपैयाँ र दुईवटा मोबाइल चोरी भएको हो । सूर्यविनायक नगरपालिका–१३ लाकुली बस्ने सरू खत्रीको घरमा शुक्रबार कोही नभएको अवस्थामा ढोका फुटाई विभिन्न सुनका गहना र मोबाइलसमेत गरी करिब एक लाख २४ हजार रुपैया“बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।





error: Content is protected !!