पाराग्वेको सबैभन्दा ठूलो नदी सुकेपछि‘

विश्वमा पानीको हाहाकार बढ्दै गइरहेको छ । अबको केही दशकपछि पानीकै कारण विश्वयुद्ध हुनेसमेत भविष्यवाणी पनि वेलावेलामा सुनिन्छन् । बढ्दो वनविनाश, वातावरणीय प्रभाव र नदीनालामाथिको अतिक्रमणले पानीका मुहान सुक्दै छन् ।

कतिपय देशमा त ठूलाठूला नदीसमेत सुकेका खबर आउन थालेका छन् । दक्षिण अमेरिकी देश पाराग्वेको सबैभन्दा ठूलो नदी पिक्लेमायो लगभग पूरै सुकेको छ । नदी सुकेपछि वरपरका मानिसलाई पानीको हाहाकार त हुने नै भयो, यसका साथै नदीमा रहेका गोही, माछा र अन्य जलचरको कंकाल जताततै देखिन थालेको छ । झण्डै एक हजार किमी लामो पिक्लेमायो नदी पाराग्वे र अर्जेन्टिनाको सीमा नदी पनि हो । नदीमा यतिखेर लगभग २० प्रतिशत मात्र पानी बचेको छ ।

कैयौँ स्थानमा त नदीको कुनै संकेतसम्म देखिन्न । नदी सुकेपछि नदी किनाराका दुवैतिरका बस्ती खाली भएका छन् । मानिसहरू बसाइँ सरेका छन् । विशालकाय गोहीहरूले भरिभराउ सो नदी सुकेपछि यतिखेर जताततै गोहीको कंकाल मात्र देखिन्छ । यो समाचार अहिले इन्टरनेटमा निकै भाइरल भएको छ ।





error: Content is protected !!