प्रचण्डको क्याबिनेटमा ज्ञानेन्द्र र पारसलाई जेल हाल्ने विषयमा छलफल

काठमाण्डौ ७ पुस– पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुलाई चुनौती दिँदै वक्तव्यबाजी गर्न थालेपछि सरकारले तत्कालिन राजदबार हत्या काण्डको छानबिन गर्ने प्रक्रिया अगाडि बढाउने संकेत देखिएको छ ।
मन्त्रिपरिषलको बिहीबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने विषय प्रवेश गराएका हुन् ।

एक मन्त्रीका अनुसार निधिको प्रस्तावलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत सकारात्मक रुपमा लिएका थिए । उनले मुलुकमा संघीयताविरोधीको चलखेल बढेकै बेला ज्ञानेन्द्रबाट आएको अभिव्यक्तिलाई सामान्य रुपमा लिन नमिल्ने बताए ।
बैठकको सुरुआतमै निधिले ज्ञानेन्द्रको बुधबारको विज्ञप्तिबारे कुरा उठाएका थिए । नारायणहिटी दरबारमा २०५८ साल जेठ १९ गते भएको हत्या काण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारको वंश बिनाश भएको थियो ।
उक्त घटनाको १५ वर्षपछि पहिलोपटक मन्त्रिपरिषदमै त्यस घटनाबारे छानबिनको विषयले प्रवेश पाएको हो । घटनामा वीरेन्द्रका सबै परिवार सखाप भएको र ज्ञानेन्द्रका परिवारका कसैलाई केही नभएको विषयलाई अहिले पनि शंकाकै रुपमा हेरिन्छ ।
त्यतिबेलै तत्कालिन सभामुख एवं काँग्रेस नेता तारानाथ रानाभाट नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनामा युवराज दीपेन्द्रको हात रहेको प्रतिवेदन दिएको थियो । तर, ज्ञानेन्द्रको दबाबमा आएको भन्दै प्रतिवेदनलाई कसैले पनि विश्वास गरेका छैनन् ।
काठमाण्डु टुडे .










