संशोधन प्रस्ताव परिमार्जन आवश्यक : भट्टराई

, सुर्खेत
पुस ६, २०७३- नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नहुञ्जेल मुलुकले राजनीतिक स्थिरता नपाउने बताएका छन् । ‘संविधान संशोधन गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने प्रावधान राखौं’ उनले भने, विस्तारै जनमत पनि बढिरहेको छ । एमाले, कांग्रेसभित्रका नेताहरुले समेत संविधान जारी गर्दा गल्ती गरिएछ भन्ने अनुभूति गरिसकेका छन् ।’ विगतमा कांग्रेसले नमानेकै कारण प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुन नसकेको बताए । ‘कांग्रेसले लोकतन्त्र भनेकै पुरानै संसदीय व्यवस्था बुझ्यो’ उनले भने ।

बुधबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले कुनै पनि मुलुकको समृद्धि शासकीय प्रणालीमै निर्भर रहने धारणा राखे । सरकारले संविधान संशोधनको प्रस्तावमा प्रतिपक्षी एमालेको राय लिन नसक्दा समस्या बल्झिएको बताए । ‘अहिले दर्ता गरेको प्रस्तावले समस्या समाधान हँुदैन् । बरु परिमार्जन गरौं । त्यही भएर मैले १० प्रदेशमा जानु उपयुक्त हुन्छ भनेको हुँ’ भट्टराईले भने, ‘यदि १० प्रदेशमामा नजाने हो भने कैलाली कञ्चनपुरदेखि नवलपरासीसम्मको थारु बाहुल्य क्षेत्रलाई एउटै प्रदेश बनाऔं ।’ संविधान संशोधनमा छिमेकी मुलुक भारतले राखेको चासोलाई के भन्नुहुन्छ ? भन्ने जिज्ञासा उनले भने – ‘छिमेकीलाई दोष दिनुभन्दा हाम्रै कमजोरी हो । आफ्नो देशभित्रको मामिलामा हामी आफंै मिल्न र मिलाउन नसक्दा छिमेकीको चासो बढ्नु स्वभाविकै हो ।’
एक अर्को प्रश्नमा नेता भट्टराईले हरेक परिवर्तनलाई लिएर विदेशीको भूमिकासँग जोड्ने प्रचलन पुरानै भएको बताए । ‘देशभित्रका पश्चगामी शक्तिले हरेक अग्रगामी परिवर्तनलाई स्वीकार्न सक्दैनन् । उनीहरले नै यस्ता आरोप लगाउने गर्छन् । गणतन्त्र भारतले ल्याइदिएको भन्ने सुनिन्छ । यस्तै आरोप पश्चगामी शक्तिले लगाउने गर्छन् ।’ नयाँ शक्ति नेपालको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणका लागि उनी सुर्खेत आएका हुन् ।










